उदयपुर र चितवनमा कोरोना भाइरसका १४ जना संक्रमित भेटिएका छन् । यो सहित नेपालमा शुक्रबार साँझसम्म संक्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केथित एक मस्जिदमा बस्दै आएका १२ जना भारतीय नागरिकमा कोरोना भाइरसका संक्रमण भएको पुष्टि भएको छ । स्थानीय बासिन्दाले भारतीय नागरिक आएर बसिरहेको खबर गरेपछि उदयपुर जिल्ला प्रशासनले उनीहरुको स्वाब नमुना परीक्षणका लागि पठाएको थियो ।
प्रारम्भिक चरणमा विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गर्दा संक्रमण पाइएको थियो । कोशीमा पिसिआर विधिबाट परीक्षण गरिएको थियो । त्यसपछि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला थप परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुलाई विराटनगरमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा पुर्याएर उपचार गर्ने तयारी भइरहेको छ । उनीहरुलाई राति नै एम्बुलेन्स वा अरु कुनै साधनमा ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । विराटनगर ल्याएर कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर विज्ञ चिकित्सकको निगरानीमा उपचार र रेखदेख गरिने प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
वीरगन्जको मस्जिदमा बसेका तीनजना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि सुनसरी, उदयपुरलगायत स्थानमा रहेका मस्जिदमा पनि स्थानीय प्रशासनले अनुगमन गरेको थियो । त्यसक्रममा भारतीय परिचयपत्र भएका १२ जना र अरु ४ जना नेपाली भेटिएका थिए ।
संक्रमितको संख्या ३० पुग्यो
यसैगरी शुक्रबारै चितवनमा अरु दुईजना संक्रमित भेटिएका छन् । यीसहित गरी नेपालमा कोरोना भाइरसको संक्रमण भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि १६ जनामा संक्रमण भएको पुष्टि भइसकेको थियो । संक्रमितमध्ये एकजना उपचारपछि निको भएर घर फर्केका छन् । अरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चितवनमा २७ र ६३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उदयपुरमा भेटिएका २० देखि ४० वर्ष उमेर समूहका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।