
११ फागुन, आज आफ्नो ६९ औं जन्मदिन मनाईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आजै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियारमा उजुरी परेको हो।
प्रेमबहादुर शाही र आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भुउपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अख्तियारमा उजुरी दिएका हुन् । अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन् । उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बाँस्कोटाको अडीयो टेप सार्वजनिक भएपछि गत विहीबार उनले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । सार्वजनिक अडियोमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ।
प्रधानमन्त्री ओलीले उक्त अडियो डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ।


