eNepal

अस्ट्रेलीयामा चलेको ट्रेन्ड

हामी देखासिकी पनि यति गर्छौ कि भोलीलाई सोच्दै सोच्दैनौ। गर्न पाए हुन्छ अनि देखाउन पाए हुन्छ। आफ्नो गुदी कति छ मेसो हुँदैन तर आँट भने आफुले थेग्नै नसक्ने गर्न हतार गर्छौ। कसैले उक्साई दिए, उक्सि हाल्छौ। कसैले फुर्क्याई दिए फुर्कि हाल्छौ अनि कसैले लिस्नो लाईदिए चड्न खोजी हाल्छौ। फुर्काईमा के लुकेको छ थाहा छैन, किन कसैले उक्साउँदै छ मेसो छैन अनि कतिको पक्का छ लिस्नो अड्कल केही छैन।फुर्क्यो, उक्स्यो अनि चडी गयो कतिखेर भड्खालोमा परिन्छ भेउ छैन, कहाँ गएर जाकिने हो अतोपत्तो छैन र पनि हौसीन भने छोड्दैनौ। हौसिनु, केही नयाँ सोच राख्नु, उक्सिनु राम्रो हो तर भोली कहाँ पुगीन्छ सोच् बिचार नपुर्याउनु भने आफैमा दुर्भाग्य हो। 

फलानोले यस्तो गर्यो म किन नगर्ने, फलानोले यति कमायो म किन नकमाउने, फलानोले दुईवटा घर किन्यो म किन नकिन्ने, फलानोले बबाल गाडी किन्यो म किन नकिन्ने, फलानो होलीडे मनाउन त्यहाँ गयो म किन नजाने, फलानोले कन्सल्ट्यान्सी खोल्यो म किन नखोल्ने, फलानोले रेस्टुरेण्ट खोल्यो म किन नखोल्ने, फलानोले डिभोर्ष दियो म किन नदिने, फलानोले समाज गठन गर्यो म किन नगर्ने, फलानोले ईभेन्ट गर्यो म किन नगर्ने, फलानो दलाली (ब्रोकर) बन्यो म किन नबन्ने।

बढो चलेको छ यो लर्को। देखासिकीमा जे पनि गरि टोपल्ने यानिकी ट्रायल मार्ने। ओ हो पैसो त कन्सल्ट्यान्सीबाट कमिने रहेछ भन्यो दुईजना बसेर कफी खायो, जानेको बुझेको केही हुँदैन, आग्राको कुरा गर्दा गाग्राको अर्थ लगायो। हौसीयो दुईचार दिनमै खोल्दी  हाल्यो। पैसो कमाउने ट्रेण्ड रे।

एउटा भाईले यता कन्सल्ट्यान्सी खोले।किन खोले छन् यति छिट्टै भनेर बुझेको टिकटकमा फलोअर्स मिलीएन पुगेरे। अर्का भाईले कन्सल्ट्यान्सी खोले। होईन आफै भिषाको लागि दौडी रहेका थिए त हिजो सम्म भनेको। पछि बुझेको शाखा बिस्तार रे।छिट्टै पैसो कमाउने बाटो पो भन्दा रहेछन्। 

आफै बिरामी अनि पछि आफै धामी हुने पनि बढो लर्को चलेको छ। कनेर १७ चोटी दिएर आईएलटिएसमा स्कोर ल्यायो अनी आफै गुरु। 

मरेर जसोतसो एउटा घर किन्यो त्यस पछि आफै ब्रोकर। जाँड खायो गफ गर्यो कुरा मिल्यो खोल्दी हाल्यो समाज। भोली समाचार आउँछ फलानो समाजको गठन, पदको बाँडफाँट। 

फलानोले डिभोर्ष गर्यो किन नगर्ने म। घरमा ठ्याकठ्याक ठुक्ठुक पर्यो सिधै डिभोर्स। बिहे गर्या हुन् कि भाँडाकुटी खेल्या हुन् मेसै नहुने। 

नर्स बिहे गरे पिआर पाईन्छ रे। कोही छ त नर्स पढेकी। कसले भन्यो नर्स पढ्दैमा पिआर पाईन्छ भनेर। पुरै युवा दौडीएका छन् नर्स खोज्न। पढ्न गार्हो भो। के गर्ने त अव नर्स खोजेर बिहे गर्ने। नर्सको पछि लाग्ने छुट्टै स्वाग छ आजकाल। 

बिहे गर्नु पर्यो छोरो। नर्स पढेकी खोज्दिने हो। आजकाल चलेको चलन।डाक्टर पढेकी हुन्न। नाई नाई मलाई त नर्सनीनै चाहिन्छ। अस्ट्रेलीयन ट्रेन्ड।

भाई घर किन्यौ। अँ दाई किने नी। अनि काम के गर्दै छौ नि। त्यहि सेक्युरिटीमै छौ कि। छोड्यौ। छोडे हौ दाई। अहिले एउटा एजेन्टसँग मिलेर ब्रोकरको काम गर्न थाले। चलेको ट्रेन्ड।

भाई पढाई सक्यौ। सकियो भन्ने कि के। मार्नु गार्हो बनायो हौ यो पिआरको चक्करले। नब्बे पुर्याउँदा नि आएको छैन। अनि अहिले के गरिरा छौ त। दुई जना मिलेर कन्सल्ट्यान्सी खोल्यौ हो। नेपालमा पहिलै थियो। त्यसको शाखा बिस्तार गरेको हौ दाजु। बोरु यसो बिधार्थी पाए भने पठाई दिनु है। म मिलाएर गर्दिन्छु। लाग्छ कि भाईको भाषामा बिधार्थीहरु खसी बाख्रा हुन् मिलाएर जोख्छन् धार्नी कि बिसौनी भनेर।

एकजना दाई समाजसेवी रे। जहाँ पनि देख्छु। जुन कार्यक्रममा पुगेको भेट्छु। फेरी त्यस्ता मान्छेको अगाडी पछाडी दुईचार जना भरौटोले कहिलै छोड्दैनन्। गफ लाउँछन् दाई, हाँसो थप्छन् भरौटेहरु। हैट यीदाई खत्रै रहेछन् भनेको दुईचारवटा फेसबुके ग्रुपका एड्मिन रहेछन्। सकिएन त कुरो।

एकताका अस्ट्रेलीया जान के पढ्ने आईटी र एकाउन्टीङ, अहिले के पढ्ने नर्सीङ। अनि पिआर हुन्छ। खै थाहा छैन। के थाहा छ। अस्ट्रेलीया जाने काम गर्ने, पैसा कमाउने। अनि भोलीको फ्युचर। भोली कस्ले देख्या छ। घाममा सुकाई देउ त्यो कुरा। अनि केही महिना पछि डिप्रेसन, फ्रस्टेसन, आत्माहत्या, लागु औषध दुर्व्यसनी। चलेको ट्रेन्ड हो यो।

ट्रेन्डकै कुरा गर्दा समुन्द्रमा डुवेर मर्ने पनि ट्रेन्डनै चलेको छ आजकाल। पौडीन जानिदैन भने नजाम्। अलि अलि आउँछले हुँदैन, एकछिनमै ज्यान जान्छ। तर पनि मै जान्ने बन्यो झ्वाम्म हाम फाल्यो। त्यतिका बिधी समाचार आउँछ, बिभीन्न सँघ सँस्थाले पानी सुरक्षा सम्बन्धी तालीम दिएका हुन्छन्। आफैले पनि युट्युव हेरेर थाहा पाईन्छ। अहँ रोकिएन मृत्युको खबर जो बर्षेनी ट्रेन्डीङमा पर्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349