विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । विश्व कीर्तिमानी खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको स्वास्थ्यमा अकस्मात् समस्या आएपछि बिहीबार मणिपाल शिक्षण अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । थापामगरलाई शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको ‘खगेन्द्र थापा मगर प्रतिष्ठान’ का अध्यक्ष मीनबहादुर रानामगरले जानकारी दिए ।
थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् । बाग्लुङ धुल्लुवासकोट–६ का थापामगरले २८ असोज, २०६७ मा विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च अग्ला थापामगरलाई वर्ल्ड रेकर्ड टोलीले परीक्षणपश्चात् विश्वकै होचो व्यक्तिको उपाधि दिएको थियो ।
धुल्लुवासकोट स्थायी घर भएका थापामगर पोखराको सृजनाचोकमा बस्दै आएका थिए । बाबु रूपबहादुर थापामगर र आमा धनमाया थापामगरका सन्ताका रूपमा १८ असोज २०४९ मा उनको जन्म भएको थियो ।