eNepal

होलिडे प्याकेज लिएर इरान पनि जाने कि मन्त्रीज्यू !

अहिले अस्ट्रेलिया ठूलो समस्यासँग जुधिरहेको छ । भीषण डढेलोबाट केही मानिससहित करोडौं जनावर, पशुपन्छी, वनस्पति नष्ट भएका समाचारहरू आएका छन् । बाँकी जनावर र रूखलाई कसरी जोगाउने भन्ने चिन्तामा छन् अस्ट्रेलियाली ।

यस्तो अवस्थामा अस्ट्रेलियालाई सान्त्वता दिँदै उसका लागि प्रार्थना गर्नुपर्ने समयमा हाम्रा पर्यटनमन्त्री योगेश भट्टराई ’होली डे प्याकेज’ लिएर ४ जनवरीमा अस्ट्रेलियातिर लागे ।

अस्ट्रेलिया कस्तो समस्यासँग जुधिरहेको छ भन्ने कुरा थाहा हुँदाहुँदै मन्त्री भट्टराईले सिड्नीमा ७ जनवरीमा भ्रमण वर्ष उद्घाटन गर्ने र त्यसपछि र्‍याली निकाल्ने योजनामा साथ दिए । तर, अस्ट्रेलियाको सुरक्षाकर्मीले त्यस्तो र्‍यालीमा रोक लगाइदियो ।

सामाजिक सञ्जालमा भाइरल एक तस्वीरमा मन्त्रीसहितको टोलीलाई सडकमा सुरक्षाकर्मीले रोकेर राखेको देख्न सकिन्छ । कतिपय अस्ट्रेलियाली नागरिकले ‘पर्यटनमन्त्री घर फर्क, अस्ट्रेलिया अहिले आफैं पीडामा छ, यो होली डे प्याकेज लिएर आउने समय होइन’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् । अस्ट्रेलियाका केही सञ्चारमाध्यमले पनि यससम्बन्धी समाचार सम्प्रेषण गरेका छन् ।

अहो ! यो त देशकै बेइज्जत भएन र ? पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भनेका छन्, ‘अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनएलगायतका संघसंस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । एनएसडब्ल्यू स्टेटका सभामुखसहित अस्ट्रेलियाका सत्ता पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरूको तर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त भएको थियो । मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन आँच पुर्‍याउन खोजिएको हो ? नियत गम्भीर छ !’

मन्त्रीज्यू, गलत समयमा पुगिएछ भन्नुपर्नेमा उल्टै म ठीक थिएँ भन्नु मूर्खता होइन र ? उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दलका प्रतिनिधिले पनि शुभकामना दिएका थिए भन्नुको अर्थ यसरी लगाउँदा हुन्छ ?, ‘उनीहरूलाई आपत्ति छैन, नेपालीलाई वा सञ्चारमाध्यमलाई किन आपत्ति भयो ?’

सात समुद्र तरेर तपाईं त्यहाँ पुगेपछि उपस्थित भइदिनु उनीहरूको बाध्यता हुन सक्छ । बुझ्नुपर्ने त तपाईंले हो कि अस्ट्रेलिया शोकमा रहेको बेला त्यहाँ उत्सवमय कार्यक्रम गर्न हुन्छ कि हुँदैन ?

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले यसमा लज्जाबोध गर्नुपर्नेमा उनी झन् ठूल्ठूलो स्वरमा भन्दै छन्, ‘गलत प्रचार भयो ।’

तर सबैभन्दा बढी लज्जित त राजदूत दाहाल नै हुनुपर्ने हो । किनकि त्यहाँको यावत वस्तुस्थिति थाहा पाएर पनि यस्तो कार्यक्रम राख्ने गल्ती उनीबाट भएको छ । अवस्था अलि सामान्य भएपछि कार्यक्रम राख्दा के हुन्थ्यो ?

के २२ तारिखमा त्यो कार्यक्रम गरेपछि भोलिपल्टैदेखि अस्ट्रेलियनहरू नेपाल भ्रमणमा निस्किए ?

सिड्नीलाई सामान्य देख्ने नेपाली राजदूत र दूतावासका कर्मचारीले बारा र पर्सामा हुरीले जनधनको क्षति गर्दा काठमाडौं, विराटनगर र पोखरा रोएको किन बिर्सिए वा वास्ता गरेनन् ?

भूकम्पले मुलुक थिलथिलो भएको बेला अमुक धर्मको प्रचारदेखि मसलाको विज्ञापनसम्म हुँदा नेपालीको मन कति दुखेको थियो भन्ने कुराको हेक्का किन राखेनन् ?

ठूलाठूला वन, लाखौंलाख जनावर आगोले खरानी पारिरहेको दृश्य हेरिरहेका सिड्नीवासी चाहिँ ‘रिल्याक्स’ गर्ने मूडमा छन् होला ? राजदूत र दूतावासका कर्मचारीले यस्तो कुराको हेक्का राख्नुपर्छ कि पर्दैन ?

अस्ट्रेलियामा डढेलो हालसालै लागेको होइन, महिनौं भइसक्यो । तर डढेलोले पुर्‍याएको क्षतिको भयानक विवरणचाहिँ हालसालै आएको हो । यस्तोमा अस्ट्रेलियाली निकै आत्तिएका छन् ।

डढेलो नियन्त्रणमा नआएसम्म धेरै अस्ट्रेलियाली भ्रमणमा ननिस्केलान् पनि । यही बेला नेपालका पर्यटनमन्त्रीसहितको टोली नेपाल घुम्न आऊ, रमाइलो हुन्छ भनेर प्रचार गर्दै अस्ट्रेलियाको सडकमा निस्कनु कुन अर्थमा जायज हुन्छ ?

हामी पीडामा भएको बेला कुनै अर्को देशका मन्त्री आएर त्यसो गरे भने हामीलाई कस्तो लाग्छ ?

मन्त्रीज्यू, तपाईंलाई अस्ट्रेलियामा जे भयो, त्यो ठीक थियो भन्ने लाग्छ भने अब भ्रमण वर्षको उद्घाटन इरानमा पनि गरौं । इरान पनि अहिले शोकमै छ । कुनै कोठामा कार्यक्रम गरियो भने इरानमा पनि पक्ष र प्रतिपक्षका नेता आएर भ्रमण वर्ष सफलताको शुभकामना देलान् । त्यहाँ पनि र्‍याली निकालौंला ।

अहिले त धेरैजसो इरानी सडकमै छन्, त्यही बीचमा पसेर भ्रमण वर्षको प्रचार गरौंला । तर, त्यहाँ अस्ट्रेलियामा जस्तो नहुन पनि सक्छ । इरान शोकमा मात्रै नभएर आक्रोशमा पनि छ ।

यस्तो बेला घुम्न जाऊँ भन्दा लखेट्न सक्ने कुरा पनि नजरअन्दाज चाहिँ गर्न हुन्न । धन्य, अस्ट्रेलियामा त्यस्तो गरेनन् । खैर, यस्तो कुराको चिन्ता भए मन्त्रीज्यू अस्ट्रेलिया किन जानहुन्थ्यो होला र ? त्यसैले एक पटक इरान जाऔं भन्ने मेरो प्रस्तावमा विचार गरिदिनुहोला ।

यसो होइन भने अस्ट्रेलियामा नेपालको बदनाम गर्ने राजदूत र जोडिएका कर्मचारीलाई नेपाल सरकारले कारबाही किन नगर्ने ?

हुन त विदेशीका दुःखमा ‘कन्डोलेन्स’को ठाउँमा ‘कंग्राचुलेसन्स’ लेखेर पठाउने उच्च कार्यालयहरू पनि छन् नेपालमा । राजदूत र दूतावासको त्यो ‘सानो गल्ती’लाई के गम्भीर रूपमा लेलान् र !

तैपनि मित्रराष्ट्रसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय समुदायमा इज्जत जोगाउने भए ती राजदूत र दूतावासका कर्मचारी जो यो कार्यक्रममा जोडिएका छन्, उनीहरूलाई कारबाही गरिनुपर्छ ।

अस्ट्रेलियाको वस्तुस्थिति थाहा पाएर पनि त्यस्तो कार्यक्रममा जाने पर्यटनमन्त्रीले आत्मआलोचना गर्नुपर्छ । उनको नियतचाहिँ खराब थिएन होला । पर्यटकलाई नेपाल बोलाउनु विल्कुल राम्रो कुरा हो, तर पर्यटकहरू आफ्नै देशमा कुन अवस्थामा छन् भन्ने कुराको ख्यालै नगरी हतारिएर बोलाउन जानुचाहिँ पर्यटनमन्त्रीको गल्ती हो । त्यसैले उनले यसमा आत्मआलोचना गर्नैपर्छ । र, फेरि यस्तो खालको गल्ती नदोहोरिने गरी निर्णय पनि गर्नुपर्छ ।

साभारः शिलापत्र.कम

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349