eNepal

जर्मनीमा यसरी हुर्किँदा रहेछन् बालबालिका

हामी जर्मनीको एक सानो सहर कुस्कहाफेनमा बस्छौं । यहाँ बच्चा जन्मिएपछि उसलाई गाडीमा राख्ने सिटदेखि उसको सुरक्षाका लागि चाहिने सम्पूर्ण व्यवस्था अनिवार्यरुपमा गर्नैपर्ने हुन्छ । बच्चा जन्मेको करिब ३ महिना पुगेपछि अभिभावकले पौडी खेलाउन स्वीमिङ पुलमा लैजाने गर्दछन । स्वीमिङ पूल पनि बालबालिका मैत्री हुन्छन् । बालबालिकाले ३ बर्षको उमेर हुँदा सामान्यतया: पौडी खेल्न जान्ने भैसकेका हुन्छन् ।

सानो सहरमा बालबालिकाका लागि साइकल पनि अनिवार्यजस्तै गरिएको हुंदोरहेछ । प्रत्येकजसो बच्चाहरुले साइकल चलाउने गर्दछन् । बच्चाको उमेर अनुसारका विभिन्न साइजका साइकलबाट ३ बर्षको उमेरमा उनीहरु चलाउन जान्ने हुन्छन् । बच्चालाई खाना ख्वाउनका लागि आजकाल नेपालमा जस्तो ट्याबलेट र मोबाइलमा भिडियो देखाएर हैन, अभिभावकले उत्प्रेरक तथा रमाइलो खाले गीत कथाहरु सुनाउने गर्दछन् ।

बच्चाले चम्चा समाउन सक्ने भएपछि आफैं खाने बानी गर्दछन, त्यसका लागि अभिभावकले स्वतन्त्र छोडिदिन्छन् । बच्चा आफ्नै घरमा बालुवा, माटो, पीठो आदिसँग विभिन्न खेल खेल्दछन्, उनीहरुलाई स्मार्ट फोनको आवश्यकता पर्दैन । बाबुआमा पनि काममा व्यस्त हुने हुनाले खासै स्मार्ट फोनमा भुलिन भ्याउादैनन् । घरमा आएपछि बच्चासँगै रमाउन पाउँदा खुशी हुन्छन् । उनीहरुले बच्चाको अगाडि टेलिभिजन शो खासै हेरेको पनि पाइादैन ।

विभिन्न कथा, इतिहास, उत्प्रेरक विचारहरुको किताव पढेर सुनाउँदै बच्चाहरुलाई सुताउने गर्दछन् । पछिका दिनमा बच्चाहरुलाई त्यही बानी पर्दछ र पढ्ने बानीको विकास हुन्छ भन्ने जर्मनेलीहरुको विश्वास छ । तर, हाम्रो नेपाली समाजमा वच्चासँगै सुतेर घण्टौसम्म स्मार्ट फोनमा व्यस्त रहने गरेको पाइन्छ, बच्चाले जे सिक्छ त्यही गर्छ ।

जर्मनीमा विहान आठ बजे बच्चा आफैं साइकल चलाएर स्कुल जान्छ, सडक सुरक्षा अति नै उत्तम छ । तर, यो मामिलामा नेपालमा निकै गाह्रो छ । साइकलमा जानेहरु साइकल चढेर घर फर्कन्छन् । गाडीमा आउनेहरु गाडी कुरेर बस्दा पनि प्रतिक्षालयमा किताव पढेर बसेका हुन्छन्, किनकि उनीहरुमा पढ्ने बानीको विकास भएको हुंदो रहेछ ।

दिनहरु यसैगरी वित्दै जान्छन्, विद्यालयमा जे पढ्छन्, त्यही अभ्यास गर्छन् अर्थात् जे दैनिक जीवनमा प्रयोग हुन्छ, त्यही पढ्छन्, पढाउँछन् । मेरो साथीको छोराको उदाहरणले केही सिक्न मद्धत गर्छ हामी नेपालीलाई । साथीले आफ्नो छोरालाई दूध उत्पादनका लागि गाई पालन गरिन्छ भनेर पढाएका रहेछन्, भोलिपल्ट गाई दुहुनका लागि फार्म हाउस लगेछन् । गाई दुहुन सिकाएछन् । अघिल्लो दिन पढेको कुरा भोलिपल्टै व्यबहारमा देखेपछि सिकाइ परिपक्व बन्दोरहेछ ।

दैनिक जीवनमा आइपर्ने हरेक काम उनीहरुले विद्यालय उमेरमै सिकेका हुन्छन् । जस्तै सिलाई कटाई, साधारण सिकर्मी, डकर्मी, घोडचडी, साइकल मर्मत, खाना बनाउने, मेसिनरी सामानको प्रयोग आदि । यस्तै बच्चा खेल्दै गरेको अवस्थामा सामान्य लडिहालेमा अभिभावक उठाउन गइहाल्दैनन्, आफैं उठ्न सक्नुपर्छ भन्दै बच्चालाई आत्मनिर्भर बनाउने प्रयास गर्छन् ।

हाम्रोमा विडम्बना के छ भने छोराछोरीलाई बढी माया गर्ने अभिभावकहरुका कारण विशेषत शहर बजारतिर उनीहरुले माटो–धुलो चलाउनै नहुने ठान्दछौं । बालबालिकालाई घरमै पकाएको खुवाउनुको साटो बजारको खाना–खाजा खुवाउँछौं । मनोरञ्जनका लागि चौर, खोला किनारमा पठाउनुको साटो मोबाइल र ल्यापटपमा भुलाउने गर्दा बालबालिकाको शारीरिक र बौद्धिक क्षमता ह्रास भैरहेको छ ।

यहाँ जर्मनीमा विद्यालयमा प्रत्येक विद्यार्थीले एक न एक खेल क्षेत्र रोज्नुपर्ने हुन्छ । उसको क्षमताअनुसार ऊ त्यही क्षेत्रमा प्रतिभावान भएर जानसक्छ । एउटा बच्चाले आफ्नो हरेक काम आफैं गर्न खोज्छ । गल्ती गरेर केही सामान तलमाथि भएमा मैले यो सामान विगारें, मेरो गल्ती भयो भन्दै आफैं रुन थाल्छ । अभिभावकहरुले यस्तो अवस्थामा कहिलेकाहीं यस्तो हुनु सामान्य भन्दै सम्झाउने गर्छन् ।

तर, हाम्रोमा कस्तो छ, तपाई हामी आफैं मुल्याकंन गर्न सक्नु हुन्छ । जर्मनीमा बच्चाहरुलाई सानैदेखि कृपया, धन्यवाद र माफ गर्नुहोस भन्ने शब्दको बारेका बुझाइएको हुन्छ र आवश्यक ठाउँमा प्रयोग गर्छन् । उनीहरु अरुसँग बोल्दा धेरै नम्र तरिकाले प्रस्तुत हुने गर्दछन् ।

यहाँ बच्चाहरुसँग सपिङ सेन्टरमा भन्दा किताव पसलमा जानको लागि अभिभावकको भीड हुन्छ । मैले यो महिना यो किताव पढ्नुपर्छ भन्ने धारणाको विकास गराइएको हुन्छ । त्यही भएर अभिभावकहरु बच्चाका लागि किताव किन्न किताव पसलमा जाने गर्छन् । अलि ठुला भएपछि उनीहरुले निशुल्करुपमा पुस्तकालयबाट आवश्यक पुस्तक ल्याएर पनि पढ्न पाउँछन् । जन्मदिन, क्रिसमसलगायतमा किताव उपहार दिने चलन छ ।

यसरी १२ कक्षा पास भएसँगै आफू कुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रको व्यवसायिक र व्यवहारिक शिक्षातर्फ लाग्ने गर्दछन् । काम गर्न चाहनेले जुन काम गर्ने हो त्यसको लागि तालिम लिन शुरु गर्छन्, तालिम पश्चात काममा लाग्छन् । जुन कामको लागि पनि यहाँ अनिवार्यरुपमा पूर्वतालिम लिनुपर्ने हुन्छ । तालिम अवधिमा पनि काम गरेबापत उनीहरुले तालिम सकेपछि पाउने तलवको करिब आधा रकम पाउने गर्दछन् ।

कुनै काम सानो र ठुलो भन्ने सोच देखिंदैन जर्मनीमा । सबै काम समान हुन् र काम गर्ने सबै उस्तै हुन् भन्ने उनीहरुको बुझाइ छ । उदाहरणका लागि म काम गर्ने रेष्टुरेण्टमा एकजना विश्वविद्यालयका प्रोफेसर पनि मसँगै पार्टटाइम काम गर्दछन् । त्यही भएर कुनै खालको भेदभाव रहँदैन, बालबालिकाले यो भेदभाव भन्ने विषयको कहिल्यै अनुभव गर्न पाउंदैनन् । जिम्मेवारी नागरिक तयार गर्ने जर्मनीको यो तरिका साच्चै नि अनुकरण गर्न योग्य छ ।

बच्चाहरुलाई व्यवहारिक शिक्षा दिनु नै असल नागरिक उत्पादन गर्नु हो । कम्तिमा आफ्नो काम आफैं गर्नसक्ने र गर्ने बानी बसाल्नमात्र सकियो भने प्रत्येक विद्यार्थी भविष्यमा सजिलै गरिखाने हुन्छन् । नेपालमा पनि जर्मनीको यो सिकाइको प्रक्रियालाई अलिकति पनि पछ्याउन सकिए कम्तिमा सबै गरिखाने नागरिक बनाउन सकिन्छ

Related posts

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

Manoj Poudyal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

Manoj Poudyal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

Manoj Poudyal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

Manoj Poudyal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

Manoj Poudyal

गैर आवासीय नेपाली संघ, बेल्जियम निर्वाचन घटनाको नालीबेली, भएको रहेछ यस्तो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349