eNepal

फेसबुक विज्ञापन : युरोप जान ८ लाख, १ महिने विशेष अफर

पोर्चुगल,माल्टा,चेक रिपब्लिक : केवल ८ लाख मात्रै। १ महिने विशेष अफर। सम्पर्क गर्नुहोला।

केही हप्ता अगाडि मैले यो पङ्क्ति फेसबुक र ट्विटरमा राख्दा नसोचेको नतिजा पाएँ। नचिनेका व्यक्तिहरूले समेत मलाई जिज्ञासा राख्दै मेसेज गरे। केही सम्मान गर्न योग्य व्यक्तिहरू पनि यो लाइनमा थिए। युरोप छिरेर यतै सेटल हुन नेपालीहरु कति लालायित छन् भन्ने यसले प्रष्ट पार्‍यो।

नेपालदेखि माल्टा आउने र त्यहाँदेखि पोर्चुगल हानिने कारण पनि अहिले माल्टा ट्रान्जिट प्वाइन्ट बन्ने गरेको छ। त्यस्तै गरेर पोल्याण्ड कामदार भिसामा आउनेहरू पनि केही समय त्यहीँ बिताएर पोर्चुगल पुग्ने गरेका छन्। नेपालदेखि चेक रिपब्लिक कामदार भिसामा आएकाहरु मध्य धेरैको गन्तब्य पोर्चुगल नै हुने गरेका छन्। यी बाहेक विद्यार्थी भिसामा सेन्जेन देशहरू आएर पोर्चुगल नै जाने परम्परा सामान्य भइसकेको छ।

हो, यसैको नतिजा हो ८ लाख खर्च गरेर युरोप उनीहरूको रोजाइमा पर्नु। सामान्यता पोर्चुगल, माल्टा लगायतका देशहरूमा आउन ८ लाख खर्च पनि लाग्दैन। तर काठमाडौँमा रहेका म्यानपावर जानुभयो भने ठ्याक्कै दुई गुणा अर्थात् १६ लाखसम्म रकम असुलिरहेका हुन्छन्। अब उनीहरूलाई १२/१३/१६ लाख दिनु भन्दा ८ लाखको फेसबुके विज्ञापन देखेपछि लालायित हुनु स्वाभाविक नै हो।

नेपालदेखि १२/१३ लाख खर्च गरेर आएका मध्ये केही डिप्रेसनमा परेको मैले आफैं देखेको छु। धेरै डिप्रेसनमा पर्ने, सडकमै सुत्नु पर्ने बाध्यता हुने लगायतका समस्या भोगेका नेपाली युवाले मसँग दुखेसो पोखेको हिजो जस्तै लाग्छ। उनीहरूलाई केही समय दुःख गरेर कागज बनाऊ भन्नु बाहेक अरु उपाय छैन।

नेपालमा ऋण खोजेर युरोप आउँदा सपना ठूलै हुन्छ। तर जब यहाँ आएर परिस्थितिसँग जुध्न सक्दैनन्, तब सपना चकनाचुर हुन्छ। उता ब्याज बढेको बढ्यै हुन्छ, यता न काम हुन्छ न पेपर।भइहाल्यो भने पनि खानपान मै ठिक्क हुन्छ। ऋण तिर्ने रकम कहिले कमाउने हो पत्तो हुँदैन। नेपालमा आर्थिक रूपले सबलहरुलाई त्यति समस्या हुँदैन। तर जसको स्थिति मध्यम हुन्छ उनीहरूलाई युरोपको सपना फलामको चिउरा चबाउनु सरह नै हुने गर्दछ।

अर्कोतर्फ युरोपमा नेपालीलाई समस्यामा पार्ने भनेकै नेपाली नै हुन्। प्रत्येक देशमा जहाँ नेपाली छन्, त्यहाँ नेपाली दलाल उत्तिनै भेटिन्छन्। तिनै दलालहरुबाट नेपाली पीडित देखिन्छन्। हिजो तिनै दलालहरुबाट युरोप छिरेका नेपालीहरु आज आफैं दलाल बनेर काम गरिरहेका हुन्छन् र तिनीहरूबाटै नेपाली युवा शोषित देखिन्छन्। यसमा यहाँस्थित सामाजिक संस्थाका पदाधिकारी मात्रै होइन, आफूलाई एनआरएनको नेता ठान्नेहरु अग्रपंक्तिमा देखिन्छन्, जुन निकै लज्जास्पद देखिन्छ।

केही समय अगाडि बेल्जियममा फिल्म सुटिङ गर्ने निहुँमा एक दर्जन युवालाई बेल्जियम हुँदै पोर्चुगल पठाइएको घटना ताजै छ। पीडित युवाका आफन्तको कुराहरुलाई आधार मान्ने हो भने उनीहरूलाई नेपालमा रकम भुक्तानी नगरेको भनेर केही समय बन्धक बनाइएको थियो। उनीहरुले प्रति व्यक्ति १४ लाख तिरेका थिए।

अहिले एनआरएनका उपाध्यक्ष बनेका अर्जुनकुमार श्रेष्ठ सन् २०१३ मा बेल्जियममा सम्पन्न एसेन्ता काण्डमा मुछिएका थिए। नेपाल र बेल्जियमको ५०औं दौत्य सम्बन्धको अवसरमा एसेन्ता मेला कार्यक्रममार्फत् सयौ युवा बेल्जियम हुँदै पोर्चुगल भित्रिएका थिए। यसमा बेल्जियम र नेपाल तर्फबाटका आयोजकहरुले मनग्य धन आर्जन गरे। बेल्जियम तर्फबाट संयोजक उनै श्रेष्ठ थिए भने नेपालबाट कुशकुमार जोशी। यो काण्डलाई न एनआरएनले नै छानबिन गर्‍यो, न यहाँको नेपाली समाजले प्रशासनको ढोका ढक्ढक्याउन गयो।

अब केही प्रसंग बदलौं। माथिका केही लज्जास्पद उदारहण मात्रै हुन्। मैले राखेको ८ लाखे युरोपको विज्ञापन पछाडि नाम चलेको एउटा एनजिओकी सञ्चालिकाले आफ्नो एकजना भाइ पठाउनु छ भन्दै गरेको मेसेज मलाई झसङ्ग बनाइदियो। तीन जना पत्रकार मित्रहरुको मेसेजले थप अचम्मित बनायो। आखिर किन उहाँहरू विदेश जान प्रोत्साहन गर्दै हुनुहुन्छ? कमसेकम उहाँहरूले यत्तिकै युरोप छिर्न खोज्नेहरूलाई नआउन वा देशमै केही गर्नु पर्दछ भनेर सम्झाउन सक्ने वा बाटो देखाउन सकेको भए क्या गज्जब हुने थियो।

हो,अहिले देशमै केही गर्नुको साटो विदेश गएर आफ्नो भविष्य बन्नेमा नेपाली युवाहरु लालायित देखिन्छन्। १२ पास गर्न पाएका छैनन्, उनीहरूको गन्तब्य कि अस्ट्रेलिया हुन्छ कि त युरोप। देशमा बसेर केही गर्नु पर्दछ भन्ने सोच उनीहरुमा त छैन नै, अभिभावकहरु पनि विदेश नै टार्गेट गरिरहेका हुन्छन्। देशमै केही गर्छु भन्दा ऋण नपाएको पनि केहीले दुखेसो सुनाएका थिए। देशमा रोजगारीको अवसर पर्याप्त मात्रामा छैन,भएपनि युवा देशमै दुःख गर्नुपर्दछ भन्नेमा कमै छन्।

हुन् त यति पढिसकेपछि प्रश्न मलाई नै तेर्सिन सक्छ। आफू गयो अरूलाई नजा भन्छ भन्नेहरु थुप्रै होलान्। उपदेश दिन्छ भनेर गाली गर्नेहरू पनि निस्केलान्। तर युरोपको वास्तविकता एकदमै फरक छ। दलालको मीठा कुरा र यहाँको दुःख फरक छ।

बेल्जियम बसेर नेपाली पत्रकारिता गरेको झण्डै एक दशक पुगेको छ। यो समयमा सयौँ पीडितहरुका समस्या सुनेको छु। सयौँका आँसु पुछ्ने प्रयास गरेको छु। यो कर्ममा दलालको थ्रेट भोगेको तीतो अनुभव आफैसँग छ। यिनै अनुभव कै कारण यो ब्लगमार्फत् युवालाई युरोपमा सास्ती भोग्न नआउन म आग्रह गर्दछु। कामदार भिसामा आउने हो भने काम गर्नुहोस्। विद्यार्थी भिसामा आउने हो भने अध्ययन गर्नुहोस्। तर काम छोडेर,पढ्न छोडेर भविष्य खोज्न थाल्दा आफैं थला परिन्छ। यसरी थला पर्दा साथ दिने कमै हुन्छन्। अभिभावकहरू पनि आफ्ना सन्तानको भविष्य स्वदेशमै देख्ने प्रयास गर्नुस्। कमसेकम आफ्ना सन्तान आफैसँग त हुन्छन्। सन्तान चाहिने भनेको दुःख बीमार हुँदा,चाडपर्व आउँदा बढी हो। जब यो समयमा तपाईंको सन्तान साथमा हुदैन तब उसले कमाएको पैसाको के काम लाग्यो हैन र?

सन्तोष न्यौपाने/बेल्जियम 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349