eNepal

अमेरिका जान खोज्दा बन्धक, मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

काठमाडौँ — दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन् । 

चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरूलाई ब्युरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।

गिरोहले उनीहरूलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याएको थियो । प्रारम्भिक बयानमा उनीहरूले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

चारै जनालाई मलावीको राजधानीबाट ३ सय किमि टाढा ब्लान्टायर सहरमा बन्धक बनाइएको थियो । सोही क्षेत्रबाट अमेरिका जाने नाममा अलपत्र परेका अन्य दुई नेपालीको समेत उद्धार गरिएको छ । ती दुई जना टिकट खर्च नजुटेकाले फर्कन पाएका थिएनन् । चार जनालाई भने परिवारले नै टिकट व्यवस्था गरिदिएका थिए । मलावी प्रहरीले मानव तस्करलाई आश्रय दिने घरधनी नाजिर अहमदलाई पक्राउ गरेको छ । उद्धार भएकाहरूले मलावीमै अन्य पाँच नेपाली पनि मानव तस्कर गिरोहको फन्दामा परेको तर उनीहरू प्रहरीको सम्पर्कमा आइनसकेको सूचना ब्युरोलाई दिएका छन् ।

उद्धार भएकामध्ये तीन जना २६ वर्षमुनिका र एक ३६ वर्षका  छन् । काठमाडौंबाट भियतनामका लागि उडेका उनीहरूलाई सुरुमा भारतीय एजेन्टले सजिलै बोलिभिया पुर्‍याइदिने वाचा गरेको थियो । २० दिनसम्म भियतनामको होटलमा राखेपछि इथियोपियाको राजधानी अदिस अबाबा लगियो । एजेन्टले छिट्टै बोलिभिया पुर्‍याइदिने भन्दै त्यहाँ ४ महिनासम्म होटलमा राखेको थियो । त्यसपछि दक्षिणपूर्वी अफ्रिकाको मादागास्करस्थित होटलमा २५ दिन राखेर तीन जनालाई सोझै र एक जनालाई दुबई हुँदै जोर्डन पुर्‍याइयो ।

झन्डै एक साता जोर्डन बसेका उनीहरू एजेन्टकै सहयोगमा फेरि दुबई पुगेर दुई महिना बसे । त्यहाँको भिसा अवधि सकिएपछि एजेन्टले अजरबैजान पुर्‍यायो । १८ दिन अजरबैजान बसेर मलावी उडेका उनीहरूलाई त्यहाँ पुगेको केही दिनपछि नै गिरोहले थप रकम माग्दै बन्धक बनाएको हो ।

‘भारतीय नागरिक एजेन्टले हामीलाई धम्क्याउँदै कुटपिट गर्थे,’ एक पीडितले प्रहरीसँग भनेका छन्, ‘एकाध दिनको अन्तरमा स्थानीय केटाहरू आउँथे र पैसा माग्दै कुटपिट गर्थे ।’ गिरोहले उनीहरूको राहदानी र अन्य परिचय खुल्ने कागजात कब्जामा लिएको थियो । एजेन्टले नेपाल फर्कने भए ३ लाख भारु र २५ डलर खाना खर्च तथा बोलिभिया उड्ने भए ७ लाख भारु मागेको थियो ।

रकम नदिए मिर्गौला निकालेर बेचिदिने धम्की दिइएको पीडितको भनाइ छ । बोलिभिया पुग्न सके अमेरिका नै जाने, नसके चिली वा ब्राजिल जाने उनीहरूको योजना थियो । तर १५ लाखभन्दा धेरै रकम खर्चंदा पनि काम नभएपछि उनीहरूका सपना चकनाचुर भयो ।

एजेन्टले निरन्तर धम्की र कुटपिट गर्न थालेपछि पीडितहरू परिवारको सम्पर्कमा आएका थिए । परिवारले दिएको सूचनाका आधारमा ब्युरोले उद्धारकार्य अघि बढाएको हो । ब्युरोका डीएसपी नरहरि रेग्मी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा मलावी पुगेका बेला स्थानीय प्रहरीका उच्च अधिकारीसँग चिनजान भएको थियो । त्यही अनौपचारिक स्रोत प्रयोग गरेर रेग्मीले बन्धक बनाइएकाहरूको सूचना र ठेगाना त्यहाँको प्रहरीलाई दिएपछि उद्धार सुरु भएको थियो । गत असोजमा पनि अवैध रूपमा मलावीको डान्सबार पुर्‍याइएका तीन नेपाली महिलाको उद्धार गरिएको थियो ।

ब्युरोका अनुसार अमेरिका छिर्न तस्करको पछि लागेर विभिन्न देशमा अलपत्र परेकाहरूको संख्या सयभन्दा धेरै हुन सक्छ । इन्डोनेसियामा झन्डै ६ महिनादेखि अलपत्र रहेका ६ जनालाई बुधबार नेपाल फर्काइँदै छ । गिरोहले जनही २८ देखि ३० लाखसम्म खाइसकेको उनीहरूले प्रहरीलाई बताएका छन् । अफ्रिकी देश इथोपियामा अलपत्र अन्य ८ नेपालीको पनि उद्धार प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू ७ महिनादेखि त्यहाँ छन् । समूहका केही व्यक्ति अझै पनि अमेरिका छिर्ने आसमा एजेन्टको सम्पर्कमा बसिरहेका छन् । केही भने नेपाल फर्कने बाटो खोजिरहेका छन् ।

तस्करका अनेक रुट

पहिले नेपालबाट भारत अनि त्यहाँबाट रुस, ब्राजिल वा स्पेन हुँदै बोलिभिया, पेरु, कोलम्बिया, इक्वेडर, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको लगिन्थ्यो । अहिले ल्याटिन अमेरिकी देश बोलिभिया, ब्राजिल, सुरिनाम, गुयना वा कोलम्बिया हुँदै मेक्सिको छिराउने विभिन्न रुट चल्तीमा देखिएको ब्युरोले जनाएको छ । विभिन्न देशमा सक्रिय रहने तस्करहरूले अनुकूलता हेरेर रुट बदल्ने गरेका छन् ।

२०७५ वैशाखमा अमेरिका हिँडेका युवतीलाई गिरोहले भारतबाट रुस, कोलम्बिया हुँदै हैटी पुर्‍याएको थियो । हैटीबाट क्यारेबियन समुद्र तरेर बहामास टापु जाँदै गर्दा बाटो बिराएपछि १८ दिनसम्म जहाज समुद्रमै हरायो । पर्याप्त खाद्यान्न र पानी नभएपछि भक्तपुरकी सुमित्रा कुँवरको जहाजमै ज्यान गुमाइन् । मलावीबाट उद्धार गरिएकाहरूलाई पनि गिरोहले मेक्सिकोबाट अमेरिका छिराउने प्रयत्न गरेको थियो । तर, सेटिङ नमिलेर वा पीडितबाट थप पैसा असुल्न तस्करहरूले महिनौं विभिन्न देशमा झुलाएर बन्धक बनाउने गरेको देखिन्छ ।

अनअराइभल भिसा पाइने भएकाले पहिले बोलिभिया पुर्‍याउने र त्यहाँबाट ठाउँठाउँका एजेन्टलाई पैसा खुवाएर विभिन्न रुट हुँदै मेक्सिको लगिन्छ । कतिपय एजेन्टले सुरिनाम, गुयना, बेलिजजस्ता टापु राष्ट्र हुँदै मेक्सिको लैजाने गरेको देखिन्छ । पछिल्लो समय प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल र अमेरिकी सुरक्षा निकायहरूको चासोसमेत बोलिभियाको अध्यागमनमा केन्द्रित हुन थालेको छ ।

डीएसपी रेग्मीको अनुभवमा तस्करहरूले अनेक देशको भिसा लिने र त्यहाँबाट सेटिङ मिलाएर मेक्सिको जाने रुट प्रयोग गर्छन् । ‘ती देशमा सक्रिय तस्करहरूले सुरुमा जसरी हुन्छ लैजाने, पछि विभिन्न बहानामा झुलाउँदै आर्थिक शोषण गर्ने र उपाय नलागेपछि धम्क्याउँदै बन्धक बनाउने गरेको देखिन्छ,’ उनले भने ।

? जनकराज सापकोटा

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349