eNepal

कन्टेनर भित्रबाट भियतनामी युवतीको अन्तिम सन्देश ‘म मरिरहेछु, सास फेर्न सकिरहेको छैन’

भियतनामको एउटा सानो सहर हा तिन्ह।

निकै खुकुला भइसकेका इँटाले अड्याएको एउटा सानो घर, पुरानो टीनको त्यो छानोमुनि बाआमासँगै बस्थिन् ‘फाम थी ट्रे माय।’ 

त्यही सानो झुपडीको बाहिर भियतनामको एउटा झन्डा फहराइरहेको हुन्थ्यो।

यो एउटा औसत परिवार हो, जसका सदस्यले मासिक ४ सय डलर आम्दानी गरिरहेका थिए। छोरीका लागि भनेर बाआमाले निकै मेहनतका साथ त्यो पैसा बचाइरहेका थिए।

किनकि फामको बेलायत यात्रा तय भइसकेको थियो। छोरी बेलायत गएपछि ‘जीवन बदलिनेछ’ भन्ने आशा अनि सपना थियो। 

तर, गन्तव्यमा पुग्न नपाउँदै उनको त्यो यात्राको दुःखान्त भयो।

केही दिनअघि बेलायतको लण्डन सहरनजिकै एउटा ठूलो कन्टेनरमा ३९ जनाको शव भेटिएको थियो। ती शवमध्ये एक फामकै थियो। उनीसहित त्यहाँ ४ जना भियतनामी थिए।

दलाललाई पैसा तिरेर लण्डन छिर्न लागेका उनीहरूलाई एउटा कन्टेनरमा राखिएको थियो। रेफ्रीजेरेटर जडित यो कन्टेनरलाई एउटा ट्रकले तानेर त्यहाँसम्म ल्याएको थियो।

कन्टेनरभित्र माइनस २५ डिग्री तापक्रम थियो। जहाँ फामसहित ३९ जनाको जिन्दगी नै ‘फ्रिज’ भयो।

तीमध्ये धेरैजसो चिनिया नागरिकका शव हुन्।

अलिअलि सास चल्दै गर्दा उनले आफ्नी आमालाई मोबाइलमा केही म्यासेज पठाएकी थिइन्। त्यहाँ उनले आफू मृत्युको निकै नजिक पुगिसकेको बताएकी छिन्।

‘मलाई माफ गरिदिनु बुवा आमा, मेरो यो विदेशको बाटो सफल हुन सकेन। आमा म तपाईं र बुवालाई धेरै माया गर्छु’ २६ वर्षीया फामले लेखेकी छिन्, ‘म मरिरहेछु, किनकि मैले सास नै फेर्न सकिरहेको छैन। मलाई माफ गरिदिनुस् आमा।’

बेलायत प्रहरी प्रशासनले अझैं शव पहिचान भइनसकेको बताएको छ। तर, फामका परिवार भने अब फेरि छोरी फर्किनेछैनिन् भन्नेमा ढुक्क छन्।

सिएनएनले उल्लेख गरेअनुसार फामका बुवा फाम वान थीनले त्यो म्यासेज आफ्नी छोरी फामले नै पठाएको बताएका छन्। 

‘उनले पठाएका मोबाइलका ती म्यासेज पढ्दाका पल निकै पीडादायी रहे’ उनले भनेका छन् ‘मैले मेरी माया गर्ने सन्तान र पैसा सँगसँगै गुमाएको छु।’

उनले छोरीलाई बेलायत पठाउनका लागि दलाललाई ४० हजार डलर दिएका थिए।

जब उनले तस्करलाई पैसा बुझाएका थिए, उनीहरुले कसरी लण्डन पुर्‍याउँछन् भन्नेसमेत परिवारलाई भनिएको थिएन। तर, चीन र फ्रान्सका कतिपय ठाउँबाट फामले सम्पर्क गरेकी थिइन्। त्यसपछि एकाएक छोरीका मृत्यु सन्देश प्राप्त भए।

उनले आफ्नी छोरी हराएको रिपोर्ट पनि गरेका थिए। तर, त्यो बेलासम्म निकै ढिला भइसकेको थियो। अक्सिजन नपाएर, सास बन्द भएपछि बेलायती सहर इसेक्समा एउटा कन्टेनरभित्र फामसहित ३९ जनाको ज्यान ‘फ्रिज’ भइसकेको थियो।

उनले मंगलबार राति आफ्नी आमालाई म्यासेज गरेकी थिइन्।

‘दलालले भनेका थिए कि त्यो बाटो निकै सुरक्षित हुनेछ। मलाई थाहा भएको भए सायद मेरी छोरीलाई त्यो बाटो जान दिने थिइनँ’ उनले भने।

उनका आमा बुवालाई अब एउटामात्रै झिनो आशा के छ भने बेलायती र भियतनाम सरकारले छोरीको शब ल्याउन मद्धत गर्नेछन्। तर, छोरीको बर्वादीको यात्राका लागि गुमाएको त्यो पैसा फिर्ता हुनेछैन, उनीहरूलाई त्यो आशा पनि छैन।

यो दुःखान्त घटनाले अहिले विश्वभरि तंरग फैलिएको छ। अझैं घटनाका बारेमा एकीन कुरा आइसकेको छैन। प्रहरीले ट्रक ड्राइभरसहित ४ जनालाई पक्राउ गरेको छ।

तर, सञ्चारमाध्यमले मानव तस्करले अवैध बाटो भएर लण्डन छिराउने क्रममा उनीहरूको मृत्यु भएको हुनसक्ने बताएका छन्। ३१ जना पुरुष र ८ महिला त्यो कन्टेनरभित्र मृत फेला परेका थिए।

एजेन्सीको सहयोगमा 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349