आशको पोको बाडेर बर्षौ बिताई दिने देश- “अाश-ट्रेलीया”

Get real time updates directly on you device, subscribe now.

अस्ट्रेलीया आउँदा सबैले सपना ठुलो बुनेका हुन्छन्। गएर पढ्छु काम गर्छु पैसा कमाउँछु गएको खर्च पठाउँछु, ऋण चुक्ता गर्छु,  आफ्नो भविस्य सुनिस्चित पार्छु। जस्तो सम्झेको हुन्छ, सुनेको हुन्छ अनि अड्कलबाजी लगाईएको हुन्छ त्यो भन्दा फरक पाए पछि पिडा र छटपटीका बिच मरेतुल्य अवस्थामा मेसीन जसरी काम गरेर जिवनसँग हैरान भएका हुन्छन्।

आजकाल सबै युवाको चाहाना अनि सपनाको देश अस्ट्रेलीयानै हो। के नेपालबाट सोचिने अस्ट्रेलीया र आएपछि भोगीने अस्ट्रेलीया एउटै छ त। यो प्रश्न एकदम गम्भिर भएर आफैले आफैलाई सोध्न पर्ने अबस्था आएको छ जो ठुलै सपना बुनेर हाम फाल्दै गरेका आवाकाँचा भाईबहिनीहरुले। भिषा लाग्दैमा सँसार जिते भन्ने लाग्छ भने तपाई धेरै ठुलो भ्रममा हुनु हुन्छ। मेरो फलानो छ, चिलानो छ, गाउँका काका छन् अङ्कल हुनु हुन्छ, साथीको दाई छ, बहिनीको साथीकी दिदी छ। के भयो र सबै ब्यबस्था गर्दि हाल्छ्न नि। उहाँहरूको आशामा आउँदै हुनु हुन्छ भने पनि अर्को ठुलै भ्रममा आउँदै हुनुहुन्छ। 

सजिलै भन्छन् नि ट्वाईलेट सफा गर्ने काम त कति कति। तर त्यहि काम पनि नपाएर पैसाको अभाबमा छट्पटिएर धेरै युवा बराली रहेका छन् अस्ट्रेलीयामा। काम पाईन्छ तर वर्क पर्मिट भएकाहरुलाई मात्र। हप्ताको बिश घण्टा काम गर्न पर्छ बैधानिक तबरले त्यो पनि कलेजको समय तालिका यस्तो हुन्छ कि न बिहानको काम गर्न मिल्ने न बेलुकाको। फेरी हामी नेपाली अलि बढि चखुवा हुन्छौ। बिस्वास गरेर साहुले ल भोली पनि आईज है काममा भन्छ तर कसैले भोली दुई डलर बढि दिने काममा बोलाएको छ भने त्यो पुरानो कामलाई खल्लीबल्ली गर्छौ। फेरी बुझ्न पर्ने मुख्य कुरा त ह्या त्यस्ता काम पनि भन्या बेला नपाएर अर्को तनाब छ आझकाल।

नेपालमा आफ्नै व्यबसाय गरेर दुई चारजनालाई काम लगाएर बसेकाहरु पनि कामको खोजीमा भौतारी रहेका हुन्छन्। शुरु शुरुमा छ्या त्यस्तो कामपनि गर्ने भन्नेहरु पछि घुँडा टेक्न बाध्य भएर जस्तो परे पनि काम गर्छु भन्दै लौन बुझ्नु पर्यो भन्दै हार घुहार गर्न बाध्य देखिन छन्। टिक्ने यस्ता मात्र हुन् जसले परेको खण्डमा ट्वाईलेट त के जे पनि सफा गर्छु, लगातार नौ दश घण्टा मज्जाले उभिन सक्छु, जस्तो एटिच्युड भएका व्यक्तिसँगको मेलमिलापलाई सहज रुपमा स्विकार्छु भन्ने मानसिकता भएका मज्जाले टिक्छन्। त्यस्ताले डिप्रेशनको शिकार बन्नु पर्दैन।

अस्ट्रेलीया आउने भुत चडेको छ जसरी पनि आउँछु भन्ने मनमा छ भने बोरु शिप सिकेरै आउनु होस् कपाल काट्नेनै किन नहोस्, कफी बनाउन जानेर आउनु होस्, हाउसकिपीङ्को ट्रेनीङ हैन केही महिना नेपालका होटेलमा हाउसकिपीङनै गरेर आउनु होस्। अङ्ग्रेजी स्तर सुधार गरेर आउनु होस्, भाषामा कमाण्डिङ छैन भने आफु खुम्चिएर सिमीत काममात्र सधै बस्न बाध्य भईन्छ।यदि शिप र भाषामा कमाण्डीङ छ भने एकदिन राम्रै अबसर पनि पाईन सकिन्छ। ठुला ठुला कम्पनीमा पनि काम गर्ने अबसर मिल्छ तर समय भने कुर्नै पर्छ।

यो भुत मलाई मात्र होईन हजारौ युवालाई आई परेको भुत हो। भुतले छोए पछि छोड्न मान्दैन रे त्यस्तै भयो जिन्दगी पनि। प्लास्टीकका फाईलमा सर्टीफिकेट लिएर गोल्डस्टार पड्काउँदै नगरका गल्ली गल्ली नधाउने पक्कै म एउटा मनुवा भईन। म जस्ता हजारौ युवा बिहानको भात खाएर कतै जागीर पाईन्छ कि भन्दै एनजियो र आएनजियो देखी मन्त्रालय र लोकसेवा नधाएका कमै होलान्। काम होला होला जस्तो हुन्छ सानो आसको पालुवामा टुसा मात्रै के लागेको हुन्छ कताबाट धमिरा रुपी सोर्ष र फोर्ष अनि टाङ्मुनीको कारोबारले बन्नै आँटेको काममा तुसारापात लगाईन्छ।

होईन ग्रहनै बिग्रेको पो छ कि भनेर माता र बाबालाई देखाउन गयो। तेरो त साढेसातको ठुलै खड्को छ , हिड्दा समेत बिचार पुरा है भनेर डर देखाई दिन्छन्। अनि बिदेशको यात्रा कतिको छ त भनेर के सोधेको हुन्छ माताले अवको छ महिना भित्र बिदेश उड्ने योग छ है भन्दिन्छीन। किनकी माताले बुझेकी छन् कि अक्सर नेपाली युवाको अन्तिम बिकल्प बिदेशनै हो र त्यहि हजारौ युवा मध्यको एक हुँ म पनि।

केही होलान रहरले बिदेशीने तर हजारौ त कहरले बिदेशीएका छन्। देश अनुसारको बिदेश छिर्ने शैली फरक। देश अनुसारको लगानी फरक। कोही थोरै पैसामा खाडी तिर भासिन्छन् त कोही पढ्ने बहानामा अमेरीका, अस्ट्रेलीया र युरोप तिर। लक्ष्य प्रायको एउटै छ पैसा कमाउने अनि घर परिवारको मुखमा मिठो हाँसो र आनन्दको निन्द्रा लगाउने। कोही खाडीका ताता घाममा आफ्नो ज्यानलाई दाउमा राखेर अहोरात्र दु:ख गर्छन् केबल आफ्नो र आफ्नो परिवारको सुखको निम्ती। कोही पढ्ने बहानामा युरोप, अमेरीका जान्छन् मज्बुरीमा पर्छन्, पढ्ने बहानामा काम गर्छन्, पढे जस्तो गर्छन् अनि हुन्डीबाट पैसा पठाउँछन् र परिवारमा मिठो हाँसो बाड्छन्।

आउने बेला प्राएले कसमनै खाएका हुन्छन् पढाई सकेर केही पैसा कमाएर आफ्नै देश फर्किन्छु। ठुलो व्यापार गर्छु, कामदार लगाउँछु अनि व्यापारलाई अझ बढाउँछु अनि पैसा पैसा कमाउँछु। नेपालमा नम्बर वान कम्पनी बनाउँछु। म पनि त्यहि सोज्थे दुई चार बर्षमा पढाई सक्छु, पैसा जोहो गर्छु अनि नेपाल फर्केर सानदारको जिन्दगी बिताउँछु।

तर धेरैले चाहेर पनि फर्किन नसक्ने रहेछन्। एउटा पासोमा परेको जनावरको जस्तो हालतमा फसाउने रहेछ यो भयानक परदेशले जहाँबाट चाहेर पनि उम्कन हम्मे हम्मे पर्ने रहेछ। यसरी लोभमा फसिने रहेछ कि त्यो दलदलबाट उम्कन ठुलै आँट र साहस चाहिने रहेछ जुन कमैमा हुने रहेछ। सित्तैमा दिए जसरी पासपोर्टको भरमा आईफोनका नयाँ नयाँ मोडेलहरु भिराउँदै फसाउन सुरु गरेको यि देशहरुले बिस्तारै पैसामोह बनाउन सिकाउने रहेछ। पैसा खेलाउन बानी पर्दै जाँदा आफ्नो कमाईमा आफुले पुरा गर्न नसकेका रहरहरु परिपुर्ती गर्न उत्प्रेरित गर्ने रहेछ। आफ्नै कमाईमा फेरी खासै लोभ नहुने रहेछ। मैले त कमाएको हुँ नी भन्ने दम्भले क्रमैसँग आफ्ना असिमीत ईच्छा र आकाङ्क्षाहरु बढ्दै जाने रहेछ। ति ईच्छालाई मनबाटै मार्न पनि नसकि पुर्ती गर्दै जाँदा कैयौ दिन महिना र बर्ष बितेको पत्तै पाईदैन रहेछ।

अव यसो गर्छु भन्दा भन्दै बर्षौ बित्छ अनि हरेक बर्षको जन्म दिनले बल्ल झस्काई दिन्छ कि हैट कतै रमाईलो गर्न चालिसेनै कुर्न पर्ने पो हो की भन्दै। लोभनै सबै भन्दा ठुलो शत्रु हो। यहि लोभमा फसेर जिन्दगीको महत्वपुर्ण कालखण्ड लोभले स्रिजीत खण्डहरहरुलाई टाल्दा टाल्दै कैयौ रात अनिदोमै बित्छ भने कैयो दिन भोकै पेटमा टर्छन् यहाँ। एकैचोटी अरबौका पती बन्ने लोभमा स्टेसन अगाडी राखिएको लोट्टोको पसल नछिरी घर फर्किदा खटपट खटपट हुन्छ। तर कैयौ हजार त्यहि लोभमा बुझाईन्छ अहँ न लोट्टो पर्छ न भोकनै टर्छ। बैकले मिठो सपना दिएर क्रेडीट कार्ड लिन भनेर चिट्टी पठाउँछ।

आहा कति रमाईलो झ्याम्मै दश हजारको कार्ड देख्दा मन त्यसै कुडीन्छ। पर्समा बोकेर यसो सपिङ् गर्न गयो। हात सकसक गरेर आउँछ झुन्डाईएको राम्रा लुगा देखेर घोटौ घोटौ लाग्छ। आज घोट्यो भोली घोट्यो। अनि बिस्तारै पैसा सकिदै जान्छ बैङ्कले ढ्याक्क व्याज लिन थाल्छ। अनि कमाएको पैसा व्याज तिर्दै ठिक्क हुन्छ।

बस्दै गए पछि बानी बस्छ, हावा पानी मन पर्छ। कार्ड घोटेर सोचेको र सम्झेको कुरा पाईएको देखेर यतै बसौ बसौ लाग्छ। अनि फेरी कसरी र कहाँबाट हुन्छ यतैको पिआर लिन पर्यो भनेर फेरी पिआरको लोभले ढाडको हड्डी घोटेर काम गरिन्छ। काम कामले उमेर पनि ढल्किदै जान्छ। बिहे गर्ने बेला ढिला भएको हुन्छ। घरमा बाउ आमाको बिहेको कुराले हैरान बनाउँछ। फलानो र चिलानोबाट कुटुम्ब आएका छन् । उमेरले पनि बिहे गरौ गरौ हुन्छ अनि गएर बिहे गर्यो। फेरी केटीको भिषा लगायो। अनि भिषा आउँछ। केही दिन अतो पत्तो हुँदैन डुल्दै घुम्दै खाँदै रमाईलोसँग बित्छ। काममा जान थाले पछि कुरा हुन्छ। साथीको प्रगती सुने पछि घरमा फलानो र चिलानोले यस्तो गरेछन्। अव हामीले नि गर्नु पर्यो। हुँदा हुँदा भर्खर आएकी स्वास्नी पनि लोभमा फस्दै जान्छिन्। सँगैका साथीले यस्तो गरे र उस्तो गरे। फेरी घरमा पनि लोभको खेती हुन्छ। अनि चालिसेले टक्नै लाग्दा घर किनीन्छ। त्यस पछि त झन् सधैको लागि फसिनै रहिन्छ। काम र बैकको घनिस्ठ नातालाई केबल पुल बनेर जोती रहिन्छ बस् जोती रहिन्छ। अनि यसै गरि हजारौ युवा लोभ र देखासिकीको जङ्घुलमा फसि रहिन्छ बर्षौ बर्ष फसि रहिन्छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.