ममी किन हाम्रा सबै आफन्त नेपालमा छन् र हामी मात्रै यता अमेरिकामा छौ?

Get real time updates directly on you device, subscribe now.

मेरो आठ वर्षे छोरो मलाई प्रायजसो सोध्छ, “ममी किन हाम्रा सबै आफन्त नेपालमा छन् र हामी मात्रै यता अमेरिकामा छौ? मलाई किन स्कूलमा ह्वेयर आर यु ओरिजिनल्ली फ्रोम भनेर सोध्छन्, किन हाम्रो छाला ब्राउन छ ? यस्तै यस्तै के के हो के के ?’

म धेरै पटक त प्रसंग मोड्छु तर बाध्य भएपछि उसलाई बताउने गर्छु, अधिकांश आप्रवासी परिवार झैँ, हामी अवसरको खोजीमा तिमी सानो हुँदा यहाँ आयौँ। हाम्रो छालाको रंग नै यस्तै हो आदि आदि।

जब ऊ ४-५ बर्षको थियो, ऊ सधै परिवारको बारे भ्रमित हुन्थ्यो। आमा तिरको परिवार अनि बुवा तिरको परिवारमा जहिले पनि कन्फ्युज हुने?

हजुर आमा, हजुर बुवा चैँ बुझ्थ्यो तर काका काकी, फुपू, फुपाजू ऊ बुझ्दैनथ्यो। म उसलाई यौटा रुख बनाएर एक एक गरी बुझाउँथेँ ।

नेपालमा हामी सानो हुँदा कसैले मलाई यस्तो बुझाउनु परेको मलाई याद छैन। हामी स्वत: बुझ्थ्यौ यो मेरो काका,यो मेरो काकी,मामा,माइजु, भान्जा भान्जी।

हामी धेरै प्रवासमा बस्नेहरुको भोगाइमा, विदेश बसिसकेपछि धेरै चीजमा परिवर्तन आउँछ र हामीले सोच्ने तरिका, कुनै चिजलाई हेर्ने तरिकामा उलेख्य परिवर्तन आउने रहेछ। म आफै पनि भ्रमित हुन्छु बेला बेला।

मैले थुप्रै विदेश बसेकाहरुको नेपाल सम्बन्धि लेख र साहित्य पढेको छु र मैले यहाँ आफ्नो छोटो कथा मात्र राखेकी हूँ,कुनै फरक मत भने होइन।

केहि हप्ता अघि मैले विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रज्यूको नेपाल फर्कौँ महाअभियान बारे लेख पढेको थिएँ र त्यो पढेर मलाई पनि केही मनन गर्न बाध्य भएको महशुस गरेर यो लेख लेखेकी हूँ।

प्रवासमा यसरी घर परिवार, नाता गोता, इस्ट मित्रहरु बाट टाढा,यसरी हरेक दिन, न दिन न रात भनि काम गरी गरी यी सब के का लागि? अलिकति धन र अलिकति वैभवका लागि ? सोच्न बाध्य बनायो।

आफन्तका खुशीका क्षण होऊन् या पीडाका क्षण…. सँगै नहुनुको पीड़ा जब सम्झेँ तब आफैलाई अपराधी जस्तो लाग्ने?

नेपाल मै केही गर्ने सोँच पहिले नबनाएको त होइन तर यस्तो लाग्यो कि हाम्रो सानो योगदान देशको लागि ठूलो प्रभाव हुन सक्थ्यो?

जब मैले धेरै जनासित नेपाल फर्किने कुरा राखेँ, तब मैले बुझेँ म एक्लै भने छैन।

एकजना साथीले मलाई भन्नुभयो,’यो नितान्त तिम्रो व्यक्तिगत निर्णय हो।’

आँखा झिमिक्क गर्दै समय यति छिटो बित्यो कि पत्तै भएन र हामी बूढा-बूढी नेपाल फर्किने भनेर धेरै छलफल गर्थ्यौ।

एक्लो छोरा भएर होला शायद उहाँलाई बुवा आमा आफूले हेर्नुपर्छ भन्ने जिम्मेवारी भएको होला भनि म सोच्थेँ।

तर साँच्चै भन्ने हो भने नेपालमा संयुक्त परिवारमा यौटी साधारण बुहारी भएर बस्नु पर्ने कुराले भने म झस्किन्थेँ अनि म सोच्थेँ ठिकै छ टाढै बसेर पनि आफ्नो जिम्मेवारी बहन गर्न सकिन्छ।तर म आफै भ्रममा रहेछु।

जति जति मेरो छोरो ठूलो भइरहेको छ, त्यति त्यति मलाई बुबा आमाको महत्व बढेको अनुभव भएको छ। अचेल म मेरै आठ बर्षे छोरासँग डराउन थालेकी छु।

जब छोरोले जब एक दिन मलाई सोध्यो, ‘ममी म कति बर्ष भए पछि एक्लै बस्न सक्छु?’

त्यो बेला देखि मलाई यस्तो लाग्छ छोराको फ्युचर बनाउने नाममा म अमेरिका आएर नराम्ररी फँसेँ।

मेरी आफ्नै बहिनी पहिले नै यहाँ भएकीले हामीलाई बसाई सर्न निकै नै सजिलो भयो शुरुमा, मात्र एउटा घरबाट अर्को घरमा आए जस्तो।

तर असली संघर्ष तब शुरु भयो जब सबै घर व्यवहार आफ्नै काँधमा आइलाग्यो। शुन्य देखि शुरु गर्नु पक्कै पनि सजिलो चाहि थिएन । छोटकरीमा भन्नु पर्दा हामीले सबै बाधा अड्चन पार गर्यौँ र यहाँ सम्म आयौँ ।

तर जे जस्तो भए पनि नेपालमा घर परिवार,साथी भाइबाट भने हामी टाढा भने थिएनौ, र म सधै बच्चाहरुलाई हामी कहाँबाट आएका हौँ र अहिले हामी कहाँ छौ भनेर बताउँदा बताउँदै पनि छोरामा अमेरिकन सँस्कृतिको प्रभाव बढिरहेको थियो।

मेरा धेरै साथीहरु भने मलाई ‘तिमी नेपाल फर्क, तिमीसंग नेपाललाई चाहिने सिप छ, नेपालमै राम्रो हुन्छ, यहाँ त्यसको अर्कै महत्व छ’ भनेर भन्थे।

मेरी आमा छोटो समयको लागि यहाँ आउनु भएको थियो, अनि हिउँ छिचोलेर, गाडी सफा गरेर, चिप्लो सडकमा, जब मेरा श्रीमान काममा हिड्नुभयो, वहाँ झन्डै रोएर, हामीलाई नेपाल फर्किन बिन्ती गर्नु भयो, औषत नेपालीहरुले गर्ने काम देखेर पनि वहाँ चिन्तित हुनु भयो।

त्यतिखेर मेरो श्रीमान दिनको अठार घण्टा सम्म काम गर्नु हुन्थ्यो।आमा अक्सर भन्नुहुन्थ्यो,’यहाँ जति सुबिधा देखिए पनि तिमी आफ्नै देशमा जति खुशी हुन सक्दैनौ। यी गगनचुम्बी घरहरु भन्दा ती बरु उराठ लाग्दा डाँडाहरु रमाईला लाग्छन् मलाई।’

सायद उहाँ ध्यान साधनामा सधै लीन हुने भएर पनि, बुद्धले सिकाउनु भएको ज्ञानको अनुशरण गर्न पनि नेपाल जाम भन्नु हुन्थ्यो र जति पटक अमेरिका आए पनि उहाँ कहिलै रमाउनु भएन, आमालाई जहिले फर्किन हतार ।

पक्कै पनि अमेरिकामा हुने सुबिधा अनि पूर्वाधार र बिकास को हामी नेपालमा अहिले नै आश गर्न सक्दैनौ ।तर पनि नेपाल फेरि पनि जन्मे हुर्केको ठाउँ हो, छि! छि! दुर दुर गर्न मनले मान्दैन।

म सधै एक मनले फर्किन नै चाहन्थेँ, चाहे आमा बुवाको लागि होस्, जो बुढेसकालको सहारा खोजिरहेछन, चाहे बच्चाहरुको लागि होस्, जो यहिँ बसे भने नेपालको नाता गोता कोही चिन्ने छैनन् र हाम्रो समाजको लागि जसलाई अलिकति आवाजको खाँचो छ र जुन परिवर्तन खोजिरहेछ।

संमग्रमा भन्नुपर्दा, म चाहिँ अब मानसिक रुपमा बच्चाहरुलाई नेपालमा उनीहरुको दिनचर्या कस्तो हुनेछ भनेर तयार गर्दैछु।घाँस अर्कोतिर धेरै हरियो छ भन्ने कथ्यलाई मैले घाँस त्यतातिर हरियो हुन्छ जहाँ तिमी पानी बढि हाल्छौ भन्ने तथ्यतिर बढि झुक्न थालेकी छु।

आफ्नो क्षमता र सीपलाई आफ्नै देशमा प्रयोग गर्न पाए जिन्दगीको सार्थकता बल्ल पाइन्छ भन्ने लाग्दैछ मलाई।

त्यसैले पनि म मेरो देश फर्कनैपर्छ। बूढेसकालमा वृद्धाश्रममा बस्न या शरीर विसर्जन गर्न हैन, केही गर्न सक्ने उमेरमा नै देश फर्कनुपर्छ भन्ने मेरो विश्वाश बढ्दै गएको छ।

फेरि मैले यहाँ यस्तो मात्र भन्न खोजेकी होइन कि म अमेरिकामा बसेर दु:ख पाएकी छु, कमाइमा सन्तुष्ट छैन,अथवा परिवारसंग निरन्तर सम्पर्कमा छैन। तर मलाई डिजिटल सामिप्यता भ्रम लाग्न थालेको छ, नदीमा हाम्फाल्नु अघि लाईफ ज्याकेट लगाए जस्तै।

परदेशमा बसुन्जेल जीवन उपयोगी सिप र संकलित अर्थलाई अर्थपूर्ण तरीकाले प्रयोग गर्न एउटा संजाल कृयाशिल हुनु आवश्यक छ।

त्यसैको निर्माणमा म तल्लिन छु।मेरो माटो, मेरो गौरव हो, मेरो सगरमाथा बोकेर म हिड्न सक्दिन, त्यस्तै मेरा सबै आफन्त र मेरो जन्मभूमि काखमा बोकेर म हिड्न सक्दिन। जननि र जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भनेर त्यसै भनिएको हैन।

त्यसैले म फर्कन्छु, मेरो प्यारो देश। देश प्रतिको अभिभारा पूरा गर्न म फर्कनै पर्छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.