भिषा मात्र सकियो तर न पढाई सकियो न त ऋणनै

Get real time updates directly on you device, subscribe now.

दुई बर्ष बित्दै गर्दा धेरै बिधार्थी अव के गर्ने अन्यौलताको स्थितीबाट गुज्रि रहेका छन्। के के न गर्छु, ठुलै माछो हात पार्छु दिन रात नभनी काम गर्छु अनि आएको छ महिनामै सबै ऋण चुक्ता गरेर सानको जिन्दगी बिताउँछु भन्ने कल्पना गरेर आएका सैयौ भाई बहिनीहरुलाई अस्ट्रेलीयाको बसाई नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ। 

पढाई सकिन हप्ता दिन बाँकी रहँदा कलेज बन्दको खबरको केही रनभल्लमा परेका छन् भने केही अब के गर्ने कहाँ जाने अनि कलेजलाई बुझाएको पैसा कसरी लिने कसलाई भन्ने अनबिग्य जस्तो देखिएका छन्।

अस्ट्रेलीयाको भिषा लाग्दा शायद राम जस्तो खुसी कोही भएको थिएन। साथीहरुलाई ट्रिट दिने बहानामा मात्रै मज्जाले पैसा उडायो। खाईन्जेल ओहो लौ बधाई छ। अब त डलर छाप्ने भई हालिस् भनेर धाप मार्ने साथी देखी लौ है मलाई चाँही आईफोन है अनि मलाई चाही यसो सय पचास मोटरबाईकमा पेट्रोल हाल्ने खर्च पठाउन नबिर्सेलास् है भन्ने पनि नभएका होईनन्। बिदेश जान आँटेको छोरो पैसो कमाउन जान आँटेको छोरो घरमा स्वस्ती शान्ती देखी पुजा पाठ सबै भयो। खर्च ले नधानेर के भो र बिदेश जान आँटेको छोरो गएको महिना दिनबाट फुतुफुतु पैसा पठाउन थाली हाल्छ नि भन्दै साथी भाई ईस्टमित्र सबैसँग सरसापट गरेर भए पनि भाकल जतिसबै पुरा गरि दिए। 

अस्ट्रेलीया जाने भए पछि छरछिमेकीले नाई नास्ती कति पनि गरेनन्। पैसा जति पनि दिए भोली रामे राम्रो ठाउँमा पुगे पछि हाम्रा छोरा छोरीलाई हेर्छ भनेर कतिले बिश्वास गरे त कतिले सयकडा यति हो है भनेर व्याजमा पैसा दिए त केहीले लगाएका गहना बन्दकी राखेर समेत पैसा दिए। 

घरबाट बिदा हुने बेला घरभरि छिमेकी खादा र सगुन खुवाउन आएका थिए। लाग्दै थियो कि रामे पैसा टिप्न जाँदैछ पढ्न होईन। सबैले आश राखेका थिए होलान् भोली गए पछि केही न केही पठाई दिन्छ भनेर। बा आमाले भने राम्रोसँग पढ्नु घरको दुख सम्झेर काम गर्दै पढ्नु गार्हो सार्हो भयो भने हामी छौ। ज्यान मायाँ मारेर काम मात्रै नगर्नु भन्दै थिए भने। अरु लौ ठुलो ठाउँमा जाँदैछस् फलानोले गएको बर्ष दिनमै घर किन्यो तँ पनि त्यहि सम्झेर काम गरेस् भन्दै थिए। कोही चाँही त्यहाँ चलेका फोन पाईस भने यसो हामी सम्झेस नि भन्दै व्यङ्ग्य गर्दै थिए।

आमा अाँखा भरि आँशु पार्दै बोरु नगएको भए नि हुन्थ्यो लाउन खानको कमी थिएन। सबैका छोरी छोरी गए भन्दैमा जानै पर्ने त थिएन भन्दै टिका लाई दिदै बिधाई गर्दै हुनु हुन्थ्यो।

आजकालका केटा केटी झन् टाठा बाठा हुन्छन् बुझे सुनेका हुन्छन्। आफु जाने ठाउँको बारे, पढाईको बारे रिशर्च गरेका हुन्छन् भन्यो अहँ झन् हो हल्ला  र लहैलहैमा लागेर केही नबुझी आउँने धेरै छन्।जे सुकै होस् जान पाए भयो। गए पछि देखा जाएगा। यहि कुरोमा अडिग रहेर राम पनि अस्ट्रेलीयाको लागि प्रस्थान गर्यो। 

आएको महिना दिन सम्म त एकजना साथीको घरको लिभीङ् रुममा सुत्यो। काम त परै जाओस् उसलाई कलेज ट्रेन र रहनसहन बुझ्नै दुई तिन महिना लाग्यो। भनौ कसलाई भन्ने साथीहरु सबै आआफ्नै ठाउँमा व्यस्त। कसैलाई के छ कस्तो छ भनेर बोल्ने सम्म फुर्सद थिएन। तिन दिनको कलेज अनि साँझपखको काम। काममै कच्याककुचुक खायो आयो डङरङ्ग्र सुत्यो। साथीलाई लौ न कामको लागि भन्दे है भन्यो। हुन्छ भन्छन् तर के गर्ने आफ्नै कामको भर नभएका साथीहरुले के भनुन। एकदिन ढिला पग्यो भने आफैलाई स्याक हान्दिने काममा अव साथीको बिचरा के भनुन। तर पनि मनको सन्तोष हुन्छ चाहियो भने तेरो कुरा गरौला भनेर सम्झाउँथे। 

दिन हप्ता गर्दै महिनौ बित्यो। कामका लागि खोलिएका फेशबुकका पेजहरुमा कामको जानकारी आए पछि आफ्नो डिटेल्स नदिएको दिन थिएन। फोन नम्बर दियो। न फोन आउँथ्यो न कसैले लौ आईज भनेर भन्थे। कलेज शुरु भयो। बिदेश पढ्न आएको पढ्ने साथीहरु बिदेशीहरु हुन्छन् होला। पढाउने शिक्षकहरु पनि त्यस्तै हुन्छन् होला भनेको आरआर क्याम्पसमा पढेको जस्तै भान भयो ।सबै नेपाली र छिमेकी रास्ट्रका साथीहरु थिए। पढाउने शिक्षक पनि छिमेकी रास्ट्रका मात्र बढि थिए। 

पढ्न आएको हो कि के हो राम आफै ट्वाँ पर्थ्यो। तर पनि सस्तो कलेज ठिकै छ भनेर आफ्नै मनलाई सान्त्वाना दिन थाल्यो। मरेर दुई दिन किचन ह्याण्डको काम पायो। थोरै राहतको महसुस गर्न थाल्यो। आँखा झिमीक्क दिन गायब भने झै हप्ता बितेर महिना बित्न बेरै लाग्दै थियो। अस्ति बुझाएको घरको भाडा जस्तो लाग्थ्यो फेरी घरको भाडा तिर्ने दिन आउँथ्यो। साथीभाईसँग ऐचोपैचो गरेर आफु बस्ने र खाने खर्च त जेनतेन पुर्याउँथ्यो तर कलेजको फि तिर्न भने असम्भव जस्तै भयो। घरबाट खै त पैसा पठा न फलानो दिदी आएर पैसा मागेर हैरान बनाएकि छ। छ महिना भयो तिन महिनाको लागि भनेर मागेको भनेर बसी खान दिएकी छैन भनेर फोन गर्थे। यता रामको हबिगत यस्तो थियो। कलेज जाँदै थियो एकाएक कलेज बन्धको खबर आयो। अव व्याच्लरको लागि भिषाको आबेदन दिन पर्ला भन्ने सोच्दै थियो। भिषा सकिन महिना दिन मात्रै रहँदा कलेज बन्ध भएको खबर सुन्यो। उ रनभुल्लमा पर्यो। उसले पढ्को कलेजनै रजिस्टर छैन भनेर खबर सुने पछि उ ससङ्कित भयो। एकाएक अत्तालिन थाल्यो। अव के गर्ने कहाँ जाने कसलाई भन्ने। सबैले सान्तावना दिदै केही हुँदैन भन्दै थिए तर आखिरी उसको त समय गयो, मेहिनेत गयो अनि ठुला सपना सब क्षण भरमै तुहिए। 

राम त एक पात्र मात्र हो। कमसेकम अाजको जेनरेसनको हातमा सँसार हुन्छ। आफुले चाहेको जानकारी लिन मज्जाले सकिन्छ। कसैले केही भन्दै छ भने कमसेकम जायज हो या होईन, कति सम्म ठिक रहेछ या बेठीक बुझ्न सक्ने खुबी भएका हुन पर्छ। जानु फोटो हाल्नु मात्र जिवनको समाप्ती होईन गए पछि आई पर्ने सङ्घर्षको बारेमा सामान्य जानकारीको हेक्का भएन भने मिठा सपना तिथो यथार्थमा परिणत हुन्छ। भई सके पछि फलानो र चिलानोले गर्दा यस्तो भयो र उस्तो भयो भन्नु भन्दा बोरु आफैले केही गहिरीएर बुझ्दा सतर्क हुन सकिन्छ पो कि। अर्को कुरा सबैले गर्ने व्यापार हो। व्यापारमा सबैले मिठो मसिनो र सरलतानै भन्छन्।कसैले तँ नजा बिदेश नेपालनै बस् भनेर भन्दैनन्। यो बिषयमा गईस भने यस्तो हु्न्छ यसमा गयौ भने बेकार हुन्छ भनेर पनि भन्दैनन्। किनकी उसको काम भनेको व्यापार हो।अन्तिममा गएर बिचल्लीमा परेर फलानक र चिलानोलाई दोष थोपार्न भनिदा कम्सेकम अहिलेका भाईबहिनीहरु आफै स्मार्ट छन् देखे सुनेका छन्। आफैले बुझेर हामफाल्ने पो हो कि। 

आज राम यस्तो स्थितीमा उभिएको छ न त उसको हातमा भिषानै छ न त आउँदाको ऋणनै तिरी भ्याएको छ न त आफले पढाईको टुङगो लागेको छ। अन्यौलका बिच गुज्रि रहेको छ उसको दिन। अब राम बन्ने कि नबन्ने सबै तपाईहरुकै हातमा छ। बाँकी तपाईको मर्जी।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.