eNepal

अब भन्नुस म मूर्ख छु कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?

नजर राम महर्जन , कृतिपुर

पहिले मैले मेरो छोरालाई विदेश नपठाउँदा मेरा कतिपय साथीहरुले मलाई मूर्ख भन्थे । मेरो छोराको भविष्य बिगार्यो भन्थें । आज मसँग छोरा छ, बुहारी छ, नाती छ, मेरो श्रीमती हामी सबै सँगै छौं । बिहान आ–आफ्नो समयमा खाना खाएर काममा जान्छन् । तर बेलुका हामी संधै संगै बसेर खाना खान्छौं । अफिसको कामले छोरा आउन ढिला हुने भयो भने खबर पठाउँछ । कहिं अचानक पार्टी खान जानुपर्यो भने खाना नपकाउनु भनेर खबर गर्छ । कहिले छोरालाई मन परेको तरकारी छोराले ल्याउँछ । कहिले मलाई मन परेको तरकारी म ल्याउँछु । जसलाई मन परेको भए पनि सबैले मन पराउँछन ।

त्यतिबेला मलाई छोराको भविष्य बिगा¥यो भनेर मूर्ख भन्ने साथीहरु अहिले मसँग मेरो परिवार साथमा देख्दा मलाई भाग्यमानी भन्छन । किनकी मेरा साथीहरुका छोराहरुको भविष्य सुध्रयो कि सुधरेन मलाई थाहा छैन । विदेश गएकाहरु घर फर्केन । आमा बुबालाई यहाँका सम्पत्ति बेचेर विदेशमा बस्न आऊ भन्छ रे । पहिले ६ महिनाको लागि भनेर छोरा बुहारी भेट्न विदेश गएकाहरु कैद खानामा बस्नु जस्तो भयो भनेर ३ महिनामा फर्केर आए । ३ महिनामै विदेशदेखि वाक्क दिक्क भएर फर्के । कुन बेला छोरा बुहारी घर आउँछन, कुन बेला बाहिर जान्छन् थाहा हुँदैन । उनीहरु सुतिसकेपछि आउँछ रे, उठ्नु भन्दा अगाडी गैसक्छ । खाना त हटकेश, ओभन र फ्रिजबाट झिकेर खानुपर्छ रे । यहाँजस्तो भात पाक्नासाथ कहिल्यै खान पाएन रे ।

छोराको भविष्यको लागि आनाको ४ लाखमा एक रोपनी जग्गा बेचेर विदेश पठाएको । अहिले त्यही जग्गाको मोल आनाको २५ लाख पुगिसकेछ । के उसको छोराले ४ करोड रुपैयाँ कमायो होला त ? यदि कमाएको भए पुर्खौली सम्पत्ति बेच्न किन भन्थें । यो सोच्नु पर्ने कुरा हो । मेरो बुबा बाजेले जगेर्ना गरेको घर जग्गा अहिलेसम्म सुरक्षित छ । त्यतिबेला मैले पनि मेरो छोरालाई खेत बेचेर पठाएको भए ! आज त्यो एक रोपनी जग्गाको ३ करोड पुगीसक्यो । त्यस्तो जग्गा त मसँग अहिले पनि ४ रोपनी छ । मेरो छोरा विदेश नगएर के भयो ? अहिले नै ऊ करोडपति भैसक्यो ।

मेरो साथीहरु बिरामी हुँदा अस्पताल लैजाने कोही छैन । टोल छिमेक आफन्तको सहारा लिनुपर्छ । मानसिक तनावले झन झन सुक्दै गैरहेका छन । मैले अलिकति मात्र ठूलो स्वरले खोक्दा छोरा उठेर आउँछ । अस्पताल जाउँ कि भनेर सोध्छ । बुहारीले तातो पानी तताएर ल्याईदिन्छ । म ननिदाएसम्म उनीहरु सुत्न जाँदैन । म चिनी रोगको रोगी डाक्टरको सल्लाह अनुसार खाना खानु अघि मैले औषधी खानुपर्छ । खाना पस्कनु अघि बुहारीले औषधी खानुस भन्न आउँछिन । मैले औषधी नखाएसम्म भात पस्किंदैन यसरी मेरो औषधी खान कहिल्यै टुटदैन ।

यस्तो गर्मीको समयमा पनि बुहारी र श्रीमतीले दिउँसो रोटी पकाएर ख्वाउँछन । संधै रोटी खान मन लाग्दैन होला भनेर कहिले दूध पाउरोटी, कहिले चिउरा तरकारी ख्वाउँछ । अहिले म काममा निरन्तर खट्न सक्नुमा मेरो परिवारको मायाले गर्दा हो । हिंडिरहनु पर्ने मेरो काम हो । एकदिन म १६ हजार पाईला चलेर थाकेर घरमा आराम गरिरहेको बेला मेरो छोराले कोठामा आएर सोधेछ, “बालाई सञ्चो छैन कि के हो ?”

“होइन, मलाई केही भएको छैन । आज धेरै हिंडेर थाकेर आराम गरिरहेको ।” मैले भनें ।

छोराले मेरो मोबाईल लिएर पेशर भन्ने एप्स खोलेर हेरेछ । जुन उसले नै मेरो मोबाईलमा डाउनलोड गरेर राखीदिएको थियो । पेशरमा १६ हजार पाईला देखेपछि, “बा, हिंडन सक्छु भनेर यति धेरै हिंडनु हुँदैन । अब उमेरको पनि ख्याल गर्नुस ।” छोराले भन्यो ।

“नगएर के गर्ने, समाचार संकलन गर्न बोलाएको ठाउँमा जानै पर्यो ।” मैले भनें ।

“मोटरसाईकल चलाउने गर्नुस ।”

“अब म मोटरसाईकल चलाउन सक्दिन । मोटरसाईकल थाम्न गाह्रो छ ।” मैले भनें ।

“उसो भए एउटा स्कुटी लिनुपर्यो । हलुका पनि छ, साईकल चलाउनु भन्दा पनि सजिलो छ ।” छोराले भन्यो ।

म चुप लागें । एक हप्तापछि मलाई टिभिएस स्कुटी किनेर ल्याईदियो । हो रहेछ । गियर चेन्ज गर्नु नपर्ने, अहिले म अतिआवश्यक परेमा त्यही स्कुटी चढ्ने गरेको छु ।

मेरो नाती अस्ति म्यानेजमेन्ट संकायबाट १२ कक्षा पास भयो । उसलाई पनि अब विदेश पढ्न पठाउने कि भनेर सोध्यो । ऊ मेरो नाती हो । उसलाई जे गर्नुपर्छ उसको बाबुले निर्णय गर्छ भनें । तर मेरो नाती पनि विदेश जाने पक्षमा छैन । यहिं कलेजमा पढने । सरकारी जागिर खान नपाए आफनै ब्यापार गर्ने भनेका छन । मातृभूमिलाई माया गर्न मैले सिकाएको संस्कारको पालना गर्दैछ । म खुसी छु ।

अहिले म स्वस्थ छु । मलाई चिनी रोग बाहेक अरु केही रोग छैन । प्रेशर छैन, ग्यास्टिक छैन, कोल्डस्टोर भन्छ कि के भन्छ त्यो पनि छैन । मेरो दुईटै आँखाको अपरेशन गरिसकेको छु । राम्ररी हेर्न सक्छु । कानले सुन्छु । बुढेशकालमा लाग्ने बिर्सने रोग अहिलेसम्म मलाई लागेको छैन ।

अब भन्नुस म मूर्ख छु कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349