eNepal

अमेरिकामा श्रीमती पिटेर जेलयात्रा

त्यो दिन बिहानको सात बजेतिर मेरो फोनको घन्टी बज्यो । साधारणतयः यो समय मेरो फोनको घन्टी बज्ने समय होइन । यतिबेला मेरो मात्र होइन, अमेरिकामा अरुको पनि आ-आफ्नो काममा जाने हतार हुन्छ । कसैको पनि फोनको घन्टीतिर चासो जादैन । तर पनि मैले बोल्नकै फोन उठाए ।

‘हलो’

‘अंकल ! म जेलमा छु । मलाई भेट्न आउनुहोस् ।’

उताको आवाज चिनिहालें । बोली जति मधुरो र मलिन थियो, त्यो भन्दा भय । उ निकै तनावमा थियो । त्यतिबेला मेरो दिमागमा प्रश्नहरु ओहरो लाग्न थाले । कुन बेला, कहिले, किन उ जेल पर्‍यो । तर मैले केबल प्रश्न गरे ।

‘कुन जेलमा ? कहाँ ?’

उसले जेलको ठेगाना दियो । अनि यहीबेला फेरि थप्यो ।

‘अंकल आउँदा पाँच हजार डलर ल्याउनू है । धरौटी राखेर निस्किन पाइन्छ अरे, पहिलो पल्टलाई । मैले पुलिससँग कुरा गरिसकें ।’

‘पाँच हजार डलर ? त्यतिको पैसा कहाँबाट ल्याउनु अहिले ? मसँग छैन । बैंक पनि खुलेको छैन । अहिले भरखरै ७ बज्यो ।’

‘जसरी भए पनि ल्याउनू,’ उसले जबरजस्ती आदेश गर्‍यो ।

नगेन्द्र न्यौपाने

मैले उत्तर दिएँ, ‘हुन्छ, म कोशिस गर्छु ।’

मेरो कताको काम, कताको अफिस, कताको खानेकुरा ! सबै कार्यक्रमहरु लथालिङ्ग भए । म हतार गर्दै अफिस जान लागेको मान्छे, हतार गर्दै जेलतिर गएँ ।

हुन त उसले मलाई जेलको ठेगाना दिएको थियो । तर त्यो जेल थिएन । नेपाली समाजले बुझ्ने भाषामा भन्नु पर्दा प्रहरी थाना थियो । हिँजोको आजै त किन जेल चलान गर्थ्यो र ?

कुनै पनि व्यक्ति बरु डब्बल ब्याज तिरेर भए पनि धरौटीमा पैसा जम्मा गर्न चाहन्छ, तर जेलमा बस्न चाहँदैन । सायद उसलाई पनि त्यस्तै भयो । ऊ जसरी हुन्छ, थुनाबाट बाहिर आउन चाहन्छ । तर, मैले उसले मागेजति पैसा जम्मा गर्न सकिनँ । उसको चाहना पूरा गरिनँ । म रित्तो हात थानामा पुगें । त्यतिबेला जेल खुले पनि भेटघाटको समय भएको थिएन । खुलेपछि निकै कडाखालको सुरक्षा जाँच पार गरेर भित्र पसेँ ।

अग्ला-अग्ला कोठाहरु । कोठाहरुको बीच भागमा फराकिलो मिटिङ्ग हलमा कैदीहरुलाई भेट्नका लागि राखिएका लहरै कुर्सीहरु । सिसैसिसाका कोठाहरु, म एउटा सिसाले बन्द कोठाको प्वालबाट भित्र हेर्दै थिएँ- एकजना प्रहरी अफिसर प्वालतिर आएर मलाई सोधिहाले ।

‘कसलाई भेट्न आउनुभयो ?’

‘दीपक शर्मालाई’

‘तपाईको के नाता पर्छ ?’

‘नेफ्यु ।’

नेफ्यु ? उसले फेरि मलाई प्रश्न गर्‍यो । र, मेरो आखाँतिर हेरेर कोप्रा आँखा पार्‍यो । म केही बोलिनँ ।

टाढाको व्यक्तिलाई  केही नाता पर्ने भयो भने सबैभन्दा सजिलो शब्द हो-नेफ्यु अंग्रेजीमा । एउटै शब्दले धेरै अर्थ दिन्छ । नेफ्यु भनेपछि भानिज पनि भयो, भतिजो पनि ।

‘पाँच हजार ल्याउनुभएको छ ? ल ! पाँच हजार जम्मा गरेर आफ्नो नेफ्युलाई लैजानू ।’

पुलिसको कस्तो रुखो बोली ! कडा स्वर ! उसको बोली सुन्दा र आँखा खुम्चाएको देख्दा लाग्थ्यो, उसले नै मलाई अपराधी ठान्यो, मैले नै पाप कर्म गरेको छु ।

न मैले पाँच हजार डलर जम्मा गर्न सकें, न त उसलाई भेट्न नै । म फरक्क फर्किएँ पाँच हजारको जोहो गर्नलाई ।

म प्रहरी थानाको मूल गेटबाट बाहिर निस्किन लाग्दै थिएँ, एक्कासी एउटा कालो वर्णको व्यक्तिले आफ्नो मरसेडिज कारको झ्यालबाट मैले सुन्ने गरी बोलायो ।

‘हेलो सर ! के नगद भएन ? नगद लिन बैँकतिर जान लाग्नुभएको हो ?’

उसको बोलीले म झसङ्ग भएँ । मलाई डर पनि लाग्यो । मनमनै सोचेँ, कसरी थाहा पायो मेरो कुरो ? तत्काल उत्तर दिन सकिनँ । उभिरहेँ । फेरि उसैले थप्यो ।

‘कति चाहिएको हो ? म यहीँ व्यवस्था गरिदिन सक्छु । समय खेर नफाल्नुहोस् ।’

शुरुमा उसँग डर लागे पनि उसको चिल्लो अनि महङ्गो गाडी अनि उसले लगाएको भलाद्मी पोशाक देखेर मैले ठानें कि यो यहीँको कर्मचारी हुनुपर्छ । कि त सामाजिक स्वयमसेवक, जो जनताको निःस्वार्थ सेवा गरिरहेको छ ।

‘हो ! मलाई पैसाको खाँचो पर्‍यो र बैँकतिर जान लागेको । बैँकमा पनि चाहिने जति डलर मसँग छैन ।’

‘तपाईले यसको धन्दा मान्नुपर्दैन । म अहिले नै तपाईलाई चाहिए जति रकम उपलब्ध गराइदिन्छु ।  मलाई केही दिनपछि फिर्ता गरे हुन्छ । तर, हजारको एक सयको दरले ब्याज लाग्छ । तपाई क्रेडिट कार्ड मलाई नै छाडेर जानुहोस् ।’

ठ्याक्कै यस्तो नभए पनि यस्तै व्यवसाय गर्नेहरु नेपालमा धेरै छन् । जनता र सरकारको वीचमा रहेर आफ्नो हातमुख जोड्ने । उनीहरु मन्त्रालय र विभागको भित्तामा आड लागेर ग्राहक कुरिरहेका हुन्छन् । तर, नेपालमा यिनीहरुलाई हेरिने आँखा निकै तल्लो स्तरको छ । धेरैपल्ट त पुलिसले लाठी लगाएर धपाएको खबर आउने गर्छ । भागाभाग हुन्छ ।

वास्तवमा त्यो व्यक्तिको पेसा नै वीचमा बसेर नगद कमाउने रहेछ । मैले त्यो व्यक्तिबाट नगद लिँदै थिएँ । त्यहीबेला हस्याङ्ग-फस्याङ्ग गर्दै कमला देखा परिन् र मलाई देख्नासाथ आत्तिदैँ बोल्न सुरु गरिन्, ‘तपाईले भेट गर्नुभयो ? कहिले छाडिदिने अरे ? लौ न ! कसरी निकाल्ने ?’

दीपक थानाबाट बाहिर आउन त पाए, तर ६ महिना श्रीमतीसँग बस्न नपाउने । एउटै घरमा भात-भान्सा गर्न र श्रीमती एवं छोरीहरुसँग घरमा मात्र होइन, बाहिरफेर पनि भेट गर्न नपाउने बन्देज लाग्यो । छुट्टै कोठा लिएर बस्नुपर्ने । कस्तो आपत !

मलाई केही असजिलो लाग्यो । तर, उनी आफ्नो सुरमा बोलिरहेकी थिइन्, ‘के गर्ने ? भनेको मान्ने भए पो ! हातपात नगर्नुहोस् भनेको, कहिल्यै मान्ने होइन । सानो कुरामा पनि हात छाडिहाल्ने । दुइटी छोरीहरु कसरी जन्मिए थाहा छैन । तर, यस्ता राक्षससँग कसरी मेरो जिन्दगी कट्ला त अंकल ! उसले कहिल्यै पनि मलाई माया गर्न जानेन । ल ! हेर्नुहोस् ! अलिकतिले, नत्र मेरो आँखै फुट्ने ।’

कमलाको गालामा सानो वेण्डेज टाँसिएको थियो ।

सुरुमा कमलाको रातोपिरो अनुहारले नै संकेत दिइसकेको थियो भने अहिले उनको बोली नै प्रशस्त भयो । दीपकलाई अवश्य घरभित्रकै घटनाले थुनामा लगेको हो । छोरी जन्मनु र श्रीमती हुनुमा फरक छ । स्वर्गमा पनि सुँगुरले दिसा नै सुघ्दै हिँड्छ भनेको जस्तो दीपकले कहिल्यै पनि वैभव र अवसरलाई बुझ्न सकेन । काम, माम र आरामको दिन गन्न सकेन । श्रीमती कुटेर आफ्नो पुरुषत्व कायम राख्नमा व्यस्त भयो ।

उसका हजुरबुबाले हजुरआमा कुटेको दृश्य कलिलो दिमागबाट कहिल्यै मेटिएन । उसका बुबाले आमालाई कुट्दा ऊ आफैं पनि कयौंपल्ट छुट्याउन गएको थियो । तर, त्यो कुसंस्कार र सामन्ती प्रवृत्तिचाहिँ आफैँले कायम राख्यो ।

कमला र म डलर लिएर भित्र पस्यौं । जसरी पहिला मैले झ्यालको प्वालबाट कुरा गरेको थिएँ यसपालि पनि यसै गरी कुरा गर्न मात्र के लागेको थिएँ, मलाई देख्ने अफिसर नै प्वालतिर आए र मेरो हातको नगदलाई इसारा गर्दै बोले, ‘त्यो नगद यहाँ बुझाउने होइन । लेखामा बुझाउने, अनि आउने ।’

हामी तुरुन्त लेखा शाखामा पैसा बुझाएर आउँदै थियौं, दीपक त बाहिर आइसकेछ । उसको मलिनो अनुहार, नकोरिएको कपाल, गुज्मुजिएको टिसर्ट र कट्टु ।

मैले अडकल काटें, घरमा बस्दा ऊ कट्टु लगाएर बस्ने गर्थ्यो । कठैबरा ! त्यही कट्टुमा नै समातिएको रहेछ ।

शुरुमा पाँच हजारले केस टुङ्गिगो  । अब हामी दीपकलाई ढुक्कसँग घर लैजान सक्छौं भनेको त एउटा ठूलो पहाड हाम्रो अगाडि देखा पर्‍यो ।

दीपक थानाबाट बाहिर आउन त पाए, तर ६ महिना श्रीमतीसँग बस्न नपाउने । एउटै घरमा भात-भान्सा गर्न र श्रीमती एवं छोरीहरुसँग घरमा मात्र होइन, बाहिरफेर पनि भेट गर्न नपाउने बन्देज लाग्यो । छुट्टै कोठा लिएर बस्नुपर्ने । कस्तो आपत !

‘आजैबाट ?’ मैले अफिसरतिर हेर्दै सोधेँ ।

‘आजैबाट । तपाई आज घर जान पाउनुहुन्न । यदि घर गएको प्रमाणित भयो भने थप अर्को बर्ष बाहिर बस्नुपर्छ ।’

महाभारतमा पाण्डवले भोगेको सजायँ जस्तै । गुप्तबासको कुरा थाहा भयो भने पुनः १२ बर्ष वनबास बस्नुपर्ने । अर्को महाभारत दोहोरिने संकेत पो देखियो ।

हामी बाहिर आयौँ । अचम्म त अर्को के भयो भने निस्कँनै लाग्दा अफिसरले शिष्टाचार देखाउँदै फेरि बोले – ‘आजलाई यति नै ! अब ६ महिनापछि अदालतमा भेटौंला ।’

‘६ महिना ?’

त्यतिबेला हामीलाई कुनै मेसो भएन । घर आएपछि थाहा भयो, हामीले सम्झौता पत्र अक्षर-अक्षर पढ्यौँ । ६ महिनापछि अदालतमा हाजिर हुने तारिख पो दिइएको रहेछ ।

दीपकको न्याउरो अनुहार, मधुरो बोली अनि सुकेको ओठ-तालु । ऊ निकै उदास थियो । उसले पाएको गोता र मानसिक बोझमा मैले पनि साथ दिएँ । म पनि दुःखी थिएँ  । तर, मानिसले सजायँ दिन सकेनन् भने अवश्य भगवानले दिन्छन् । ऊ साँच्चै सजायँको भागीदार नै थियो । हिराको मोल किराले जान्दैन भनेजस्तै उसले आफ्नी श्रीमतीको मूल्य जान्न सकेन ।

कहिलेकाहीँ हामी उसको घरमा गएका बेला हात छाडौंला जस्तो गरेर नझम्टेको कहाँ हो र ? कमलालाई तथानाम गाली नगरेको हो र ? माइती समेतलाई ऊ अपशब्द बोल्न पछि पर्दैन थियो । कमला हाम्रो घरमा कयांैपटक रोएकी थिइन् । सहयोग मागेकी थिइन् । नीलडाम देखाइन् । तर, प्रहरी थानासम्म जाने सोच कहिल्यै गरिन । लोग्नेधर्म र इज्जतले अडयाइरह्यो ।

विवेक नपुगेर गरेको गल्ती र हेलचेक्र्याइँले गरेको गल्ती फरक पर्छ । विवेक नपुगेर गरेको गरेको गल्तीमा क्षमा पाउनुपर्छ र गल्तीमा सुधार आउनुपर्छ । तर, हेलचेक्र्याइँमा मौका दिन हुँदैन । ऊ सजायँको भागिदार नै हुनुपर्छ । त्यो सामाजिक अपराध थियो ।

कुनै देशमा पहिला हतकडी त्यसपछि अनुसन्धान त कुनै देशमा पहिला अनुसन्धान त्यसपछि हतकडी । तर, दीपक पहिला हतकडी त्यसपछि अनुसन्धानमा पर्न गयो । अमेरिकाको कानुन अनुसार

त्यही रात उसको बस्ने कोठाको बन्दोवस्त भयो । घर-कोठा भाडामा लिने-दिने एजेन्सीमार्फत नै मैले उसलाई कोठा खोजिदिएँ ।

कमला घर आइन् । तर, मचाहिँ साँझसम्म दीपकलाई साथ दिएर उसैको कोठामा बसेँ । अरुबेला ठसठस गर्दै प्रचण्ड आवेग देखाउने व्यक्ति आफू कमजोर भएका बेला ओइलिएको सागजस्तै बन्दो रहेछ । कमलो ।

ठूलो-ठूलो स्वर गर्दै आफूलाई के-के ठान्ने व्यक्ति घोसेमुन्टो भुइँतिर हेरिरहँदा साह्रै नसुहाउने । आज मैले दीपकलाई त्यति रुपमा देख्न पाएँ । त्यही मौकामा सोधेँ, ‘दीपक तिमीलाई पुलिसले के कारणले लगेको रहेछ ? कसरी लग्यो ?’

हुन त अघिपछि भएको भए त्यस्तो प्रश्नको उत्तर किन दिन्थ्यो र ? गमक्क परेर बस्थ्यो होला । तर, आज दियो । निकै सानो स्वरमा रोकिई रोकिई बोल्यो, म सुन्दै गएँ-

हिजो साँझ सात बजे कामबाट आएर घरभित्र पसेको मात्र थिएँ । दुईजना पुलिसहरु ढोकैमा देखा परे । म घरभित्र पस्नु र उनीहरुले ढोका ढक्ढक्याउनु सँगसँगै भयो । म डराई डराई केही भन्न खोज्दै थिएँ, उनीहरुले प्रश्न गरे-

‘दीपक भनेको तिमी हौ ?’

‘हो’ भन्न मात्र खोजेको थिएँ, मेरा दुवै हात च्याप्प समातेर पछाडि लगेर हतकडी  लगाइहाले । मेरो जिउ थर-थर काँप्न थाल्यो । जिउबाट रगत चुहिएलाजस्तो रातो भयो ।

ल ! डराउनुपर्दैन । तिमी टीभी हेरेर सोफमा बस । हामी तिम्री श्रीमती र छोरीहरुसँग छलफल गर्छौं ।’ भनेर उनीहरुले टीभी खोलिदिए र पल्लो कोठामा गए । मैले मन लागी नलागी टीभीमा टाउको लगाइरहेँ । श्रीमती र छोरीहरुसँग के छलफल भयो, थाहा भएन, तर उनीहरु मेरा पाखुरा समाउँदै बाहिर ल्याए ।

‘ल ! तिमी  प्रहरी थानामा हिँड ।  त्यहीँ नै केसको छिनोफानो हुन्छ ।’ मलाई उनीहरुले एउटा पुलिसको गाडीको पछाडिको सिटमा बसाए । अर्को पुलिसको गाडी हाम्रै पछिपछि आयो । उनीहरुले मलाई प्रहरी थानामा हुलिदिए ।

बोल्दा बोल्दै दीपक रोकियो र आफ्ना दुवै हात कर्‍याक कुरुक पार्दै आकाशतिर तन्कायो । अनि मतिर हेरेर बोल्यो, ‘ल ! हेर्नुहोस् पुलिसले हतकडी लगाएका पाखुरा अझै दुखेका छन् । तेल लगाएर मालिस गर्ने होला ?’

देश र क्षेत्रअनुसार अपराधी समात्ने र सजायँ दिने आफ्नो आफ्नो परम्परा र नियम हुन्छ । कुनै देशमा पहिला हतकडी त्यसपछि अनुसन्धान त कुनै देशमा पहिला अनुसन्धान त्यसपछि हतकडी । तर, दीपक पहिला हतकडी त्यसपछि अनुसन्धानमा पर्न गयो । अमेरिकाको कानुन अनुसार ।

त्यसकारण उसका हातहरुमा हतकडीको साँचो कसियो । ऊ कानुनअनुसार पक्रिइएको  थियो ।

‘तिमीले पनि रगतै आउने गरी हात हाल्न नहुने’ मैले सोधेँ ।

‘प्याटपुट्ट थप्पड हान्ने काम त भइरहन्थ्यो, तर त्यतिबेला रगतै आउला भन्ने के थाहा ?’ कमलाले निकै मुख छोडी । मैले सहन सकिनँ । मैले एक थप्पड हानेको मात्र थिएँ, चिच्याउँदै बाहिर गई । भित्तामा ठोकिएर रगत आएछ । छिमेकीले देखिहाले । हत्तपत्त उनीहरुले कोठामा लगेर ब्याण्डिज लगाइदिए । मलाई घरमा बस्न मन लागेन, बाहिर गएँ । अनि उनीहरुले पुलिस बोलाएछन् । पुलिसले घरमा आएर मलाई खोजेछ, तर कमलाको घाउ त्यति ठूलो नभएको र रात पनि परिसकेको हुनाले त्यो दिन मेरो खोजी भएन छ । भोलिपल्ट त आइहाले ।

‘ए ! त्यसोभए कमलाले फोन गरेकी होइन र ?’

‘त्यसको के आँट र ?’

सर्पलाई विष खुवाए पनि विष नै निकाल्छ भनेको जस्तो उनकी श्रीमतीले आफूले चुटाई खाएर पनि स्त्रीधर्म छाडेकी छैन । यतिका वर्षसम्म आफूले आँसु पिएर पनि श्रीमान्प्रति निष्ठावान् छ  । तर, त्यही श्रीमतीप्रति दीपकको त्यस्तो नीच सोचाइ ।

रात छिप्पिदैँ गयो । म बिदावारी भएर उसको कोठाबाट निस्कन लाग्दै थिएँ । उसले न्याउरो अनुहार बनाउँदै मतिर हेरेर बोल्यो, ‘मामा ! यो कुरा कसैलाई पनि नभन्नु होला है । मेरो साह्रै बेइज्जत हुन्छ । अरु कसैले पनि थाहा पाएका छैनन् । तपाईले पनि कसैलाई भन्नुभएन भने थाहा हुँदैन । जेल, पुलिस त साह्रै बेइज्जतका कुरा हुन् । नेपालतिर थाहा भयो भने के भन्लान् मलाई ?’

‘दीपक तिमी ढुक्क बन । मलाई विश्वास गर । यो कुरा मबाट बाहिर जादैँन । चिन्ता नगर’ भन्दै म घर आएँ ।

तर घरमा आएको मात्र थिएँ, घरका सबै परिवारले मैलेभन्दा पहिल्यै थाहा पाइसकेका रहेछन् । केहीबेरपछि अष्ट्रेलियाबाट उसैको भाइको फोन आयो । गुगलले ‘मगसट’ को फोटो कम्प्युटरमा आइसकेको रहेछ । स्थानीय पत्रिकामा उसको फोटोसमेत राखेर समाचार प्रशारण गरिसकेको रहेछ । दीपक शर्मा आफ्नी श्रीमती कुटेर विश्वभरि प्रख्यात भइसकेका थिए । इतिहास रचिसकेका थिए ।

दीपक जेलबाट फर्केपछि न त्यो घरमा चर्को स्वर सुनियो, न भाँडा फालाफाल । बातले नमानेपछि लात लगाउनैपर्ने । कमलाले धेरै सहिन् । साथीभाइका अगाडि श्रीमानको इज्जत राखिन् । तर, दीपकले त्यसलाई निर्वलतामा उडायो । सुन्ने चेष्ठा गरेन । कुनै औषधिले पनि नछोएको रोग हतकडीको एउटै डोजले साम्य बनाइदियो ।

(घटना सत्य भए पनि लेखमा उल्लेखित पात्र र नाताहरु भने व्यक्तिगत गोपनीयताका लागि काल्पनिक राखिएका हुन् -लेखक)

साभारः अन्नपुर्ण पोस्ट

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349