eNepal

नमरी स्वर्ग देखिंदैन, एकदिन जोतेर ३ दिन हल्लिए जस्तो हुँदै होइन अस्ट्रेलीया

मलाई जस्तो को’लाई पो भा’होला, दिनमा हिड्ने सूर्यलाई थाहा होला ।’ सायद तपाई हामी प्रायले सुन्ने गरेकै लोक गीतको एक अंश हो यो । हुन पनि कसलाई कुन खालको र कति पीरताप परेको छ भनेर व्यक्त नगरेसम्म थाहा हुँदैन । आफूमाथि आईपरेको पीडा, व्यथा र समस्याहरु हामी बोलेर, लेखेर अनि गीतको माध्यमबाट गाएर व्यक्त गर्ने गर्दछौं । सायद माथि उल्लेखित गीतको रचनाकारले पनि केही न केही पीर तापमा पिल्सिएर नै यो गीतको सृजना गरेको हुनुपर्दछ । भलै अहिलेसम्म मानिसको वास्तविक पीर, ताप र मनका पीडा व्याथाहरु मापन गर्ने कुनै उपकरण भने बनेको पाईंदैन । मनमा अनेकौं पीडा र व्यथाको पोको बोकेर हिंडिरहेको भए पनि कसैले ‘के छ हालखबर ?’ भनेर सोधनी हुँदा सबै ठीक छ, राम्रै छ भनेर हामी उत्तर दिन्छौं । जतिसुकै समस्याको भूमरीमा जेलिएको भएपनि वास्तविकता लुकाउँछौं हामी ।

थोरै प्रसंग बदल्नु पर्दा अहिलेको जमानामा भौगोलिक रुपमा जतिसुकै टाढा भए तापनि सूचना जगतले छलाङ मारेको कारण इन्टरनेटको पहुँच भएमा संसारको कुनै पनि कुनामा रहेको जो कोहीसँग सजिलै कुराकानी र आफ्नो भावना साटासाट गर्न सक्दछौं । त्यस्तै रातीको २ बजेको हुँदो हो फेसबुकमा नेपालबाट साथीले अभिवादन टकारे ‘नमस्ते’ । मैले सहर्षस्वीकार्दै उत्तर बुझाएँ ‘नमस्ते, नमस्ते’ सञ्चै ? दुवैतर्फबाट सञ्चो विसञ्चोको औपचारिकता पुरा भयो । मैले आत्मीयता साँधेर आफ्नो अस्ट्रेलीया बसाईको वास्तविक यथार्थता बताएँ-‘ठीकै छ, व्यस्त छु, यस्तै-यस्तै छ जिन्दगीको यात्रा ।’ कुराकानीको क्रम चल्दै जान्छ । उसले कमाई धमाईका पाटो कोट्याउँछ । उत्सुकताका साथ धेरै कुराको सोधनी हुन्छ ।

मैले वास्तविकताको धरातल टेकेरै वास्तविकता नै बताउने कोशिस गर्दछु । तर उसले पत्याए पो – न त मेरो कुरा नै पत्याउँछ न त आफ्नो अस्ट्रेलीयाप्रतिको धारणा नै परिवर्तन गर्दछ । जति नै सुकै वास्तविकता बताए पनि उसले पत्याउने जमर्कोसम्म गर्दैन । उल्टै उसले मलाई अस्ट्रेलीया गएर सेटल भएर आफूलाई वास्ता नगरेको गुनासो पोख्छ । भनिन्छ ‘नमरी स्वर्ग देखिंदैन’ । उसले सोच्दो हो वाह ! क्या छ फलानोको जिन्दगी, अस्ट्रेलीया गएको छ । २/४ सालै भयो, पैसा पनि कमाएको होला । जग्गा जमीन किनिसक्यो होला – घर पनि बनायो कि ? काठमाण्डौ या त अन्तै कतै ? यस्तै यस्तै उसको सोचाई । मैले कल्पनामा पनि नबनाएको महल वास्तविकतामा बनाइदिन्छ उसले । तर उसलाई के थाहा जापानमा कति गाह्रो छ भनेर ! म जहाँ यही बसेर भोगेको छु, देखेको छु अनि अनुभव गरेको छु त्यो वास्तविकता उसलाई भनेर पनि कुनै हालतमा पत्याउन मञ्जुर छैन उ । हो त रेहछ आखिर ‘नमरी स्वर्ग देखिन्न ।’

यो विदेश हो, जे भए पनि आखिर यो विदेशै हो । आफ्नो भन्ने कोही हुँदैन । आफ्नो लागि सबथोक आफैले गर्नुपर्छ । अस्ट्रेलीया आएर केही वर्ष विताउनु भएकाहरुले भोग्नु भएकै होला, कतिले भोग्दै हुनुहुन्छ र कतिले भोग्दै जानुहोला । तर एक दिन जोतेर तीन दिन हल्लिन पाइने आफ्नै गाउँघर अर्थात नेपालजस्तो त हुँदै होइन अस्ट्रेलीया । न त विरामी पर्दा सजिलै मनतातो पानी र आँटो पाइने ठाउँ हो अस्ट्रेलीया । हो, अहिले यति कुरा भन्दै गर्दा हिजोको दिनतिर फर्कने हो भने मैले पनि नेपालमा त्यस्तै खाले दिनहरु विताएको छु । अल्छी लाग्यो भनेर जोत्दा जोत्दैको गोरु फुकाएर घर फिरेको पनि छु । मध्य साउनमा घरको काम वाल मतलव गरेर साथीहरुसँग फिल्म हेर्न गएको पनि छु । तर सप्रिन चाहनेहरुको लागि विग्रेर हिड्नेहरुलाई ठेगान लगाउने ठाउँ हो अस्ट्रेलीया ।

यस अर्थमा विग्रेर हिड्नेहरु मात्रै अस्ट्रेलीया आउँछन् भन्ने मनसाय भने पटक्कै होइन तर नेपाल जस्तो र नेपालमा बसेर सोचेजस्तो सजिलो छँदैछैन अस्ट्रेलीया । आ-आफ्नो विगततिर घोत्लिने हो भने सबैले एक पटक दुःख पाएकै हुन्छ अस्ट्रेलीयामा । मैले पनि के चाहिं गरिन अस्ट्रेलीयामा ? भाँडा माझें, टोईलेट सफा गरे, होटेलका ओच्छयान कति बनाए कति रातको ३ बजे उठेर काममा गए। एकैछिन मिलिक्क निदाए झैं गरे अनि झोला बोकेर फेरि स्कुल जाउ, स्कुल सकिएपछि खानावानाको व्यवस्था गर्नु त छँदैछ फेरि काममा जाने बेला भैहाल्छ । कति व्यस्त र गाह्रो छ अस्ट्रेलीया ? त्यही हो ‘व्याको गाईलाई मात्र थाहा हुन्छ’ भने झैं भोग्नेलाई मात्र थाहा छ वास्तविकता ।

नेपालमा आमाले पकाएर दिनुभएको खाना खाँदा तरकारीमा नून चर्को भयो भनेर खाना बसेको भागै छाडेर हिंडेजस्तो होइन अस्ट्रेलीया । ‘वावा तपाईलाई फोन गरिरहेछु, निद लागिरहेको छ, पाउरोटी खाइरहेको छु । आँखाबाट आँसु झरिरहेछ । सरी वावा ! मेरो कलेजलाई यसपटक फि तिर्दा पैसा सबै सकियो व्याज तिर्ने पैसा अर्को महिना पठाउँला, साहु वालाई यही कुरा भनिदिनुस्’ भनेर नेपाल फोन गर्ने मजस्ता साथीहरु अझै जापानमा सुनौलो भविष्यको गोरेटोमा लम्किरहनुभएको छ । हो सुनौलो सपना देखेर  अस्ट्रेलीया आएको त्यही सुनौलो सपनाका लागि नै हाडछाला घोटिरहेका छन् । अस्ट्रेलीया आएर संघर्षका उकाली चढ्न खोज्नेहरु यो उकाली उक्लेर भञ्ज्याङ्गमा पुगेपछि उतापट्टकिो संसार छुट्टै र रमाइलो हुन्छ भन्ने कुरा कहिल्यै विर्सन हुँदैन भन्ने लाग्दछ र यही कुरा अस्ट्रेलीयामा सफलता हात पारेका अग्रजहरु बताउनुहुन्छ ।

अहिलेका कतिपय युवापिंढी अस्ट्रेलीया आएर अस्ट्रेलीयालाइ नै सक्दो सत्येसराप गर्ने अनि अस्ट्रेलीया छाडेर नेपाल फर्कन पनि नसक्ने धेरै देखिन्छन । हरेक समय उनीहरु एउटै कुरा भन्छन् ‘तनाब छ जिन्दगी’ । त्यही तनाबले नै त मान्छेलाई संघर्ष गर्न सिकाउँछ, तिखार्छ, मस्काउँछ, चम्काउँछ अनि पूर्ण परिपक्क मान्छे बनाउँछ । यो कुरा कदापी विर्सन हुँदैन-संघर्ष गर्नेहरु बाँच्छन् नसक्नेहरु लापत्ता भएर जान्छन्-डार्विनको सिद्धान्तजस्तो ।

अघिल्लो हप्ता एकजना नेपाली भाईसँग भेट भयो । उनका अनुसार ४ महिना अगाडि बिधार्थी भिसामा अस्ट्रेलीया छिरेका । १२ लाख रुपैयाँ ठाउँको ठाउँ तिरेर अस्ट्रेलीया आएका रहेछन्। चर्को ब्याजमा ऋण जोहो गरेर आएका रहेछन्। कामको लागि धाउँदा धाउँदा हैरान भएछन्। एक नेपालीले काम लगाई दिएका थिए। तर गार्हो भो भनेर छोडेछन्। तर पछि नगरी धर नपाए पछि चार दिन किचन हैण्ड गर्ने रहेछन्। त्यो पैसाले जसोतसो खानर बस्न पुगेको छ।

उनले कुराकानीकै क्रममा मलाई सोधे दाई तपाइको तलव कति हुन्छ ? मैले भनें भाई केटी मान्छेको उमेर र केटामान्छेको तलव सोध्नु हुँदैन नि ! उनले आफूले सुनेको कुराहरु सुनाउँदै गए । हाम्रो तिरको एकजना दाइ हुनुहुन्छ । उहाँकी श्रीमती पनि अस्ट्रेलीयामा नै हुनुहुन्छ । दाइले भन्नुभएको भाउजुको कमाई एक महिनामा ४ लाख रे । मैले मनमनै हिसाव गरें । राम्रो दक्ष काम गर्नेले कमाई हाल्छन् नि। कमाउनेहरुले कमाएका पनि होलान तर कमाएर जोगाएका चै कति रहेछ त्यो बुझ्न मन लाग्यो। तर पनि त्यो अन्जान भाइलाइ सम्भव छैन भन्ने कुरा नै भएन । कुराको प्रसंग टुङ्ग्याउँदै मैले भनें कमाउन पनि सक्छन् ।

वास्तवमै सोच पनि त्यही हुन्छ नेपालमा ।  अस्ट्रेलीया आउनु भन्दा पहिले कागजपत्र बनाउन शिक्षा मन्त्रालय जाँदा एकजना हाकिमले हामीलाई नियाल्दै भनेका थिए-अवको दुइचार वर्षमा घर बनाउँछौ । मनमनै सोचें तिम्रो मुखमा दूधभात जाओस् । तर  अस्ट्रेलीया आएपछि ६ महिनासम्म काम नपाएर हामीले फेडरेसन स्कायरमा चरा लखेट्दै विताइयो । यो कुरा नेपालकालाई भनेर पत्याउँदैनन् । हरेक तह र तप्काका मान्छेहरु यही सोच्छन् अस्ट्रेलीया छिरेपछि त कमाइ भैहाल्छ । एक कार्यालयको हाकिमदेखि अस्ट्रेलीया आउन काठमाण्डौको गल्लीगल्लीका कन्सल्ट्यान्सी अनि छोरालाई विदेश पठाउन साहुको घर चाहर्ने बाउको सोचाइ उस्तै उस्तै हो-अस्ट्रेलीया छिरेपछि त कमाइ भैहाल्छ । केही दिन अगाडि एक जना चिनजानका साथीले भने-नेपालमा भएका साथीहरु सबै अस्ट्रेलीया आउँछु भन्छन्, यहाँ यस्तो छ भन्यो पत्याउँदै पत्याउँदैनन् । मैले भने-वास्तविक कुरा भन्दा त पत्याउँदैनन् भने हप्तामा वल्ल वल्ल एक दिन मिलेको विदामा अग्ला भवन अगाडि कालो चस्मा लगाएर फोटो खिच्यो अनि फेसवुकमा हालेपछि सबैले भन्छन् नि मोज छ जापानमा । तर विचरा उनीहरूलाइ के थाहा ‘नमरी स्वर्ग देखिंदैन’ । 

यो लेखका केही अंश ऋतुकुमार दुराको लेखबाट साभार गरिएको हो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal