यो बर्षपनि नेपाल फेस्टिवल घाटामा, २ करोड ११ लाख खर्च हुँदा ३३ लाख घाटा

Get real time updates directly on you device, subscribe now.

विगतका बर्षहरुमा जस्तै जापानमा आयोजना गरिंदै आएको नेपाली फेस्टिवल यस बर्षपनि घाटामा गएको विवरण आयोजक एनआरएनए जापानले सार्वजनिक गरेको छ ।

गत अगष्ट २५ र २६ तारिखमा कोमाजावा पार्कमा आयोजित ११ औं नेपाल फेस्टिवलमा ३३ लाख जापानी येन घाटा भएको हिसाबकिताव आयोजक गैर आवासिय नेपाली संघ जापानले सार्वजनिक गरेको हो ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा भएको फेस्टिवल मुल आयोजक समितिका संयोजक देविलाल भण्डारीका अनुसार २ करोड ११ लाख ६ हजार ७ सय २६ येन खर्च हुँदा ३३ लाख बढी घाटा भएको छ ।

मंगलबार टोकियो स्थित नेपाली राजदूतावासको कार्यालयमा आयोजित कार्यक्रममा फेस्टिवलको आयव्यय विवरण सार्वजनिक गरिएको हो । फेस्टिवल संयोजक भण्डारीले दूतावासलाई सम्पूर्ण आयव्यय विवरण सो अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।

विवरण अनुसार एनआरएनए जापानले सबैभन्दा बढी खर्च कार्यक्रम स्थल व्यवस्थापनको लागि १ करोड ४७ लाख १६ हजार ३ सय येन गरेको छ ।

त्यस बाहेक अपेक्षा गरिएभन्दा बढी नेपाल आईडलका बिजेताहरुलाई ल्याउन मात्र २४ लाख ८६ हजार ९ सय ४० येन खर्च भएको विवरणमा देखिन्छ । जुन खर्च अन्य शिर्षकको तुलनामा धेरै हो ।

अब ८ लाख १० हजार येन मात्र प्रायोजक तथा सहयोग गर्ने प्रतिवद्धता गरेका व्यक्तिहरुबाट उठाउन बाँकी रहेको विवरणमा देखिन्छ । जस अनुसार स्टल भाडामा दिए बापत र प्रायोजकहरुबाट गरेर १ करोड ७७ लाख ३७ हजार ३ सय ९ येन आम्दानी भएको छ ।

आर्थिक विवरण सार्वजनिक कार्यक्रममा नेपाली राजदूतावास जापानका राजदूत प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक विवरण बुझ्दै राजदूतावास जापानका उपनियोग प्रमुख अर्यालले नेपालीहरुसँगै जापानीहरुको सहभागीताको लागि अझै बढी कामगर्नुपर्ने औंल्याउँदै कार्यक्रम स्थान छनौट देखी आयोजनाको बारेमा पर्याप्त समय राखेर विस्तृत योजना बनाउन सके आगामी बर्षहरुमा कार्यक्रम थप सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले फेस्टिवल केही घाटामा गएपनि यसको उदेश्यमा कार्यक्रम सफल भएको दाबी गर्नुभयो । आगामी फेस्टिवललाई थप भव्य र व्यवस्थित बनाउने देखी आर्थिक रुपमा नाफामा सञ्चालन गर्न अहिलेदेखीनै फेस्टिवल मुल आयोजक समिति बनाउन ध्यान दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल फेस्टिवल व्यवस्थापन समितिका संयोजक भण्डारीले फेस्टिवलमा सामान्य समस्या देखी केही कुरामा कमजोरी देखिएपनि समग्रमा कार्यक्रम भव्य रुपमा सफल भएको बताउँदै कार्यक्रममा उपस्थिति, प्रायोजन तथा जुनसुकै किसिमले सहयोग गर्ने सबैलाई आयोजक समितिको तर्फबाट धन्यवाद व्यक्त गर्दै कार्यक्रम आयोजक समिति मंगलबारकै दिनबाट विघटन गरिएको जानकारी गराउनुभएको थियो ।

साभारः जापान समाचार.कम

Get real time updates directly on you device, subscribe now.

Comments are closed.