eNepal

अस्ट्रेलियामा क..ख..ग..

चाँदनी दोङ कार्की स्कुल जान थालेकी धेरै भएको छैन  । अस्ट्रेलियामा जन्मिएकी उनी मेलबर्नको निजी विद्यालयमा पढ्दै छिन्  ।

बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म स्कुलमै हुन्छिन् । स्कुलमै पढ्छिन्, साथीहरूसँग खेल्छिन् । ‘स्कुलमा रमाइलो लाग्छ,’ ६ वर्षीया चाँदनीले सुनाइन् । साताको पाँच दिन स्कुल लाग्छ । शनिबार र आइतबार बिदा हुन्छ । अचेल उनलाई शनिबार कहिले आउँछ जस्तो लाग्छ । किनभने हरेक शनिबार नेपाली गीतमा नाच सिक्न र पढ्न पाउँछिन् । नेपाली गीतमा साथीहरूसँगै नाचिरहेकी उनले भनिन्, ‘मलाई क..ख..ग.. पढ्न र लेख्न पनि आउँछ ।’

चाँदनी बाआमासँग मेलबर्नमा बस्छिन् । यहाँ करिब २५ हजार नेपाली बस्छन् । तर, यहाँका स्कुलमा नेपाली भाषामा पढाइ हुँदैन । अभिभावक काममा व्यस्त हुने भएकाले अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिका पनि अंग्रेजी लवजमा बोल्ने गर्छन् । उनीहरू नेपाली कम र अंग्रेजी बढी बुझ्छन् । घण्टौंको हवाई यात्रापछि पुगिने अस्ट्रेलियामा हुर्किरहेकी चाँदनी र उनका साथीहरूले कसरी सिक्दै छन् नेपाली भाषा लेख्न र पढ्न ?

‘यहाँ फुर्सद कमै हुन्छ । छोराछोरी स्थानीय स्कुलमा अंग्रेजी भाषामा पढ्छन् । साथीहरू र घरमा पनि धेरैले अंग्रेजीमै बोल्छन्,’ युगेन्द्र रेग्मीले भने, ‘भाषा नबुझ्दा नेपालबाट आफन्त आएका बेला बच्चाहरूसँग बोलचाल नै नहुने अवस्था हुन थाल्यो । मन कटक्क दुख्यो । अनि सबै मिलेर नेपाली बालबालिकालाई आफ्नो भाषा सिकाउन थाल्यौं । यहाँ हुर्किए पनि हाम्रा बच्चाहरूले नेपाली बुझून्, बोलून्, आफ्नो संस्कृति जानून् भन्ने चाहन्छौं । त्यसैका लागि नेपाली भाषाको पढाइ सुरु गरिएको हो ।’ अस्ट्रेलियाको एउटा ठूलो सहर मेलबर्न भिक्टोरिया राज्यमा पर्छ । यस राज्यमा बस्ने नेपालीको संगठन छ, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) । यही एनएभीले सञ्चालन गरिरहेको बाल चौतारी वेस्टमा नेपाली भाषा सिक्दै छन् चाँदनी र उनका साथीहरू । यस चौतारीका संयोजक हुन्, युगेन्द्र। उनीसहित नेपाली अभिभावकहरू मिलेर सन् २०१६ डिसेम्बरदेखि मेलबर्नको पश्चिमी क्षेत्र सिन्डोममा बाल चौतारी सुरु गरिएको हो । यहाँ नेपाली पढ्ने बालबालिका ५ देखि १३ वर्षसम्मका छन् । बालबालिकाहरू हरेक शनिबार दुई घण्टा सँगै हुन्छन् । सुरुको एक घण्टा नेपाली सांस्कृतिक नृत्यमा कम्मर मर्काइरहेका हुन्छन् । उनीहरूलाई वर्षा भण्डारीले नाच सिकाउँछिन् । वर्षाअघि सुशान्त योञ्जनले नृत्य सिकाउँथे । नाच सकिएपछि एक घण्टा नेपाली भाषाको पढाइ हुन्छ ।

नेपाली पढाइ लेखाइ सुरुको एक वर्ष मनोज पौडेलले सिकाएका थिए । उनले छाडेपछि तारा भट्टराई शिक्षकका रूपमा काम गरिरहेकी छन् । ‘अब बच्चाहरू नेपाली किताब हेर्ने र पल्टाउने भएका छन्, खुसी लाग्छ,’ शिक्षिका भट्टराईले भनिन् । उनले नेपालमा छँदा दुई वर्ष स्कुलमा पढाएकी थिइन् । १२ वर्षअघि अस्ट्रेलिया पुगेकी उनले अहिले अरूका छोराछोरीसँगै आफ्नै सन्तानलाई पनि नेपाली पढाइरहेकी छन् । उनी भन्छिन्, ‘अब हाम्रा बच्चाहरू नेपाली बोल्छन्, बुझ्छन्, पढ्छन् । पहिला आउँदैन थियो ।’ नेपाली भाषा सिक्न सुरुमा बालबालिका अभिभावकको करले बाल चौतारीसम्म पुग्ने गरेका थिए । अहिले आफैं रहरले पढ्न आउने गरेका छन् । बोलाइ र लेखाइको आधारमा बाल चौतारीका कक्षालाई पाँच तह बनाइएका छन् ।

सिन्डोममा जस्तै मेलबर्नको प्रेस्टनमा पनि ६ वर्षयता नेपाली भाषाको पढाइ भइरहेको छ । नेपालीको बाक्लो बस्ती भएको अरू तीन स्थानमा पनि बच्चाहरू भेला पारेर नेपाली भाषा सिकाइन्छ । अस्ट्रेलियामा नेपालीको सबभन्दा बाक्लो बस्ती रहेको सिड्नीका विभिन्न स्थानमा पनि नेपाली भाषाको पढाइ हुन्छ । त्यस्तै अनौपचारिक शिक्षाका रूपमा ब्रिस्बेन र डार्बिनमा पनि पढाइ भइरहेको छ । नेपालभन्दा धेरै टाढा रहेर पनि बालबालिकाले नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकिरहेका छन् । आफ्नो संस्कृतिबारे जानकारी लिइरहेका छन्।

साभार: कान्तीपुर 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349