eNepal

माइक्रोबसमा भेटिएकी आमाले भन्नुभयो: नानी, बाआमा छोडेर विदेश नजाऊ है

केही दिनअघिको कुरा हो, माइक्रोबस चढ्दा महिला सिटमा एकजना ६० वर्षकी आमासँग भेट भयो । माइक्रो चढ्ने बित्तिकै उहाँले बोलाउनुभयो, ‘यहीँ बस बा’ भनेर उता सर्र्नुभयो । कहिल्यै नदेखेको नचिनेको मान्छेले आफ्नै जसरी बोलाएपछि खुशी हुँदै खाली सिटमा बसें । मेरो बोल्ने बानी छ, नबोली बस्नै सदिक्नँ । त्यसमाथि उहाँले नै बोलाउनुभयो । 

उहाँले नै कुराकानी सुरु गर्नुभयो, ‘नानी तिमी त मेरो छोरो जस्तै लाग्यो कहाँ हो घर ?’ 

मैले सिधै गोरखा भनें ।

त्यसपछि उहाँले झनै खुशी हुँदै भन्नुभयो, ‘मेरो माइती पनि गोरखा हो नि ।’ 

मैले पनि उत्सुक हुँदै सोधेँ, ‘गोरखा कुन ठाउँ ?’

उहाँले भन्नुभयो, ‘गोरखा बजार हिलेपानी हो ।’ 

‘त्यसो भए पालुङटार थाहा छ होला, मेरो त्यहीँ हो नि’, मैले भनें ।  

त्यसपछि उहाँ झन खुशी हुँदै भन्नुभयो, ‘म बसेको ठाउँ हो मामाघर । म हुर्किएको मामाघरमा नै हो ।’

सबै सोध्दै जाँदा यति नजिकको लाग्यो कि मैले आफ्नै घरको सदस्य भेटे झैँ भयो । 

उहाँले सबै कुरा सोध्नुभयो । मैले उत्तर दिंदै गएँ । गाडी चलाउने चालक तथा सहचालक पनि दंग परेर हाम्रो कुराकानी सुनिरहेका थिए । सहचालकलाई सोध्न मन लागेछ, ‘तपाइँहरु यहीँ आएर चिनजान भएको हो त ?’ 

उहाँले हाँस्दै भन्नुभयो, ‘किन बाबु डाह लाग्यो र ?’

सहचालकले हतारहतार भने, ‘होइन होइन, यो काठमाण्डौमा एउटै सिटमा बसेर पनि कसैलाई कसैको वास्ता नै हुँदैन, तर तपाईहरुको बोलचालले त अचम्म लाग्यो । त्यही भएर सोधेको मात्रै  ।’

आमाको अरु कुरामा त उत्तर मात्रै दिँदै गएँ । तर उहाँको ‘नानी तिमीलाई विदेश जान मन लाग्दैन?’ भन्ने प्रश्नले भने झस्कायो ।  

कुनै दिन मलाई पनि विदेश जाने भन्ने भूतले निकै सताएको थियो । त्यतिबेला म अञ्जान नै थिएँ, विदेशको परिवेशको बारेमा । अरुले उचालेर जान खोजेको, तर मेरो घरबाट जान दिनु भएन  । त्यसपछि नेपालमा नै बसेर पढ्न थालें । 

हिजो आज त अरुको देशमा गएर पसिना बगाउन भन्दा आफ्नै देशमा बगाउँछु भन्ने लाग्छ । तर कतिपय गतिविधिले मन टोलाउँछ   

ममी बाबालाई छोडेर जान पनि सक्दिनँ भनेर के भनेको थिएँ, उहाँको आँखामा आँसु देखें । ‘किन आन्टी, के भयो र ?’ मैले सोधें । उहाँको एउटा छोरा र एउटी छोरी रहेछन् । छोरा लण्डन गएको पनि १० वर्ष भैसकेको रहेछ, उतैको केटी बिहे गरेर बसेका रे । 

‘आफ्नो कत्रो धोको थियो बा धुमधामले यहीँको केटी बिहे गर्ने, आफूसँगै राख्ने । तर त्यो पनि मनको लड्डुजस्तै भयो । कहिलेकाहीँ फोन गर्छ, भिडियो हेरेर मन बुझाउनु परेको छ । त्यो नि ‘बिजी’ छु भन्छ धेरै कुरै हुँदैन’, उहाँले भन्नुभयो ।  

उहाँले थप्नुभयो, ‘बावु पनि रोगी छन् । मेरो पनि उमेर घर्किंदैछ । के गर्नु बा, औषधि लिन आफैँ आएको छु, उहाँले पे्रसरको औषधि खानु पर्छ । 

मैले फेरि सोधें, ‘अनि छोरी ?’ 

उहाँले भन्नुभयो, ‘छोरीको त झन बिहे पनि भएको छैन । खै के हो गरेर अष्ट्रेलिया गएकी पढ्नलाई । दुई वर्ष भयो घर आइज भन्दा पैसा कमाउन सकेको छैन, अब कलेज सकेर पैसा कमाएर आउँछु भन्छे । के गर्नु नानी तिमीले त ममीबाबाको ख्याल राख है । तिमी मेरी छोरी जस्तै लागेर यतिका कुरा गरें ।’

उहाँले थप्नुभयो, ‘मेरो घर यहीँ नजिक हो, आउँदै गर बा, म नि तिम्रो आमाजस्तै हूँ । मलाई नि छोरीको न्यास्रो मेटिन्छ  कि ।’ 

उहाँको यो शब्दले मन गह्र्रौं भयो । त्यो ठाउँमा आफूलाई राखेर सोचें, एकदिन फोनमा कुरा नहँुदा त आत्तिने मेरो घर झन अरुको देशमा गएको भए के हुन्थ्यो होला भन्ने लाग्यो । उहाँको कुराले मेरो घरबाट किन जान नदिनु भएको रहेनछ भन्ने महसुस भयो ।  

आमाले फेरि भन्नुभयो, ‘छोराछोरीलाई नेपालमा बस्न मन त पर्दैन । तर हामी जाने अवस्था छैन । बुढाबुढी मात्रै छौं, गाह्रो छ । दुवैजना बिरामी भयौं भने के गर्ने ? त्यही चिन्ता छ । छोरालाई फोन गर्यो पैसा यति पठाउँछु  र उति पठाउँछु भन्छ । तर त्यो पैसा आफैं घरमा आउँदैन, लिन जानुपर्याे । अस्पताल घरमा हँुदैन, गाडी बोलाएर लैजानु पर्छ । पैसाले केही गर्दैन रहेछ । उबेला यिनीहरुको लागि कसरी पैसा कमाउने भनेर यत्ति दुःख गर्यौं, जुन म भन्नै सक्दिनँ । तर अहिले पैसा जति चाहिए पनि छ । तर तिनै छोराछोरी साथमा छैनन् । अब त्यो पैसो के काम ? त्यसैले तिमीले ममीबाबाको साथ नछोड है नानी ।’

उहाँको यो शब्दले म निकै टोलाएँ । एकोहोरो हुँदा सुन्धारामा गाडीबाट ओर्लनै भुलेछु । गाडीमा उहाँले नै झरेर बोलाउनुभयो   

आमा त एक पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै धेरै आमाबाबु छोराछोरी परदेशिएपछि एक्लो भएका छन् । वैशाख महिनाकै तथ्याँक हेर्दा पनि झण्डै आधा लाख नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् ।

बाहिर गएर फर्किंदा कतिले  जसोतसो पैसा बोकेर आउँछन् भने कति बाकसमा बन्द भएर आउनु पर्छ । कतिको काख रित्तो भएको छ । विदेशको मोहले कतिको सिउँदो पुछिएको छ । अनि कत्तिको घरबार उजाडिएको छ ।  आफ्नै देशमा काम गर्ने वातावरण बनाउन सकिंदैन ? के नागरिकलाई विदेशी मोहबाट छुटकारा दिनै नसकिने हो र ? यस्ता प्रश्न त धेरै छन्, तर उत्तर पाउन गाह्रो छ ।

यो लेख विना न्यौपानेद्वारा लेखिएको उज्यालो अनलाईनबाट साभार गरिएको हो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349