छ बर्ष भयो परदेशिएको र छ बर्ष नै भयो मैले ‘भगौडा’ को उपाधी पाउन थालेको पनि। आफू देशमा रहँदा साथीभाई अमेरिका अष्ट्रेलिया जान्थे त्यो बेलामा ‘देशको माया नमारेस्’ सम्म चाहिँ भन्ने गर्थेँ। खाँडी/कोरिया गएकाहरु त यसै पनि फर्किहाल्छन्। लाहुर लागेर भए बिदेश जाने नत्र नजाने भनेर ढिपी कसेर बस्ने गरेको थिएँ। पढाईमा औसत म पढेरै केही लछारपाटो लाग्ने संकेत थिएन, लगभग बेरोजगार हुने निश्चित थियो किनकी म भन्दा तेजहरुले सर्टिफिकेट् बाकसमा हालेर ‘हान् गुक्’ घोक्न थालेका थिए।
पचास कटेका मेरा बाले पैँतिस् बर्ष शिक्षण गरेर पेन्सन् पकाएका थिए, उनको ध्याउन्न भनेको एकताल पृथ्बी मै भएको ‘स्वर्ग’ हेर्ने र मलाई टुंगो लगाउने सपनामा डि भी भरे र पर्यो पनि। बिस् बर्षको उमेरमा अमेरिका आउने अबसर जुट्यो, या भनौ केही गरिखाने बाटो भेटियो।
‘डिस् वास्’ नै गरेर भए पनि मासिक तिन हजार डलर कमाउछु, जुन मेरो देशको सम्मानित राष्ट्रपतिको भत्ता भन्दा धेरै हो। अव तँलाई स्वदेशमा दु:ख गर्न सरम भएर पलायन भईस् भन्नुहोला, कसैले मलाई ट्वाईल्ट् सफा गरेको ‘पचास हजार रुपियाँ’ नै दिने अफर गरे ढुक्कले स्वदेश फर्किने हिम्मत छ!
मेरा धेरै पुराना साथीहरु बोल्न छाडीसके, केही त फेसबुकबाट अनफ्रेन्ड सम्म गरे, म ठूलो भएँ अरे। मैले देश बिर्सियो अरे, मैले देशको बारेमा चिन्ता व्यक्त गरे ‘बिदेशमा बसेर देशको चिन्ता? मजाक छ?’ अरे यार्, चिन्ता लिनै नपाउने त कुनै अपराध त गरेको छैन होला! प्लेन् चढ्ने बखत् माटोलाई छोएर मनमा प्रण गरेको थिएँ, ‘दु:ख गर्नेछु, कमाउनेछु, जमाउनेछु तर उतैको मायामा भुल्ने छैन! मलाई यत्ती आशिष देऊ कि रित्तो हातै किन नहोस् तर मलाई तिम्रो मायाले फर्काओस्!’
पिडा हुन्छ मलाई पनि देश छोडेर बस्नु पर्दा, ग्लानी हुन्छ आफ्नै माटोमा पसिना बगाउन नपाउँदा, मन भक्कानिन्छ देशमा चाड पर्व आउँदा त्यसैले सुतेको बाहेक अरुबेला काममै हुन्छु ता की चाँडै केही कमाएर केही जमाएर मातृभूमी फर्कन सकुँ।
सामाजिक संजालमा देख्छु देशमा संभावना नै संभावना छ, हुतिहाराहरुले हो देश छोड्ने भनेर खोकेको। ए गाँठे हो र? जस्तो पनि लाग्छ! फेरि गम खान्छु, तामा फलाम फोरुवाले खनेर निस्किदैन, जडिबुटी भैँसीलाई घाँस हाले झैँ बेच्न मिलेन, पर्यटकलाई काँधमा बोकेर सगरमाथा पुर्याउन सकिन्न! अनि म एउटा बबुरोले अरू के गरौँला? छ नि पूर्खाको जग्गा, खेत् त्यहाँ के फलाउने त? मेरा दाजुले पाँच बर्षमा कोरियामा कमाएर ल्याएको पैसोले बंगुर फार्म खोले, ए क्लास् बंगुर निस्कियो, बेच्ने कँहा? कस्ले बजार दिने? आएर ठेकेदार हुँ भन्नेले दुईवटा उठाए, खाएर लापत्ता, खोज्ने कहाँ?
लाखौँ रिन गरेर टमाटर फार्म सुरु गरे, दैनिक चार कामदार लगाएक काम गराउथे, टमाटर फल्यो, पाक्यो, बिचौलियाले नउठाउने रे! टमाटर बोटमै निराश भएर सुकेर झरे, रुने कि कराउने? कृषीप्रधान देश, जम्मा किसानहरुको हितमा बिधान(नियम) सम्म छैन, अनि शहरको कुनामा बसेर तिमी मेरो ईन्बक्स्मा देशभक्ति झार्छौ? म त्यसलाई कुरी कुरी भन्छु! कर्म गर्नलाई माटोले छेक्दैन, तर साधारण जिवनपद्दतीको बारेमा बुझेको छौ भने माटोले मात्रै जिवन चल्दैन!
भैगो म हुतिहारा नै भएँ, तिमी देशभक्त! तर यो बिष्णु र गणेशको युग होईन। बिकास र प्रविधीले हामीलाई सुविधा खोज्ने वनाएको छ। सजिलो जिवन निर्वाहको बाटो सबैले खोज्छ त्यसमा तिमी पनि अछुतो नहोलाऊ। तर यती कुरा याद गर भोको पेटले भोजन खोज्छ, नांगो शरिरले लुगा! खोक्रो देशभक्तीले छाक टार्दैन र झुठो आडम्बरले जाडो छेक्दैन!
पसिना र रगत सरिबरी बगाएको छु यो परदेशमा, यहाँ मलाई पैसा थुपार्नु छैन, व्यापार बढाउनु छैन सपना यत्ती छ चाँडै केही सिकेर र बोकेर स्वदेश फर्कुँ! म पसिना बेचेर फर्किनेछु, त्यतिन्जेल तिम्रो ‘देशभक्ती’ बाँचेछ भने सँगै मिलेर अगाडी बढौँला! देशमा केही गर्न नसकेर होईन, बिदेशबाट केही सिकेर कमाएर आउन परदेशिएको हुँ म पलायन भएको छैन!