eNepal

राष्ट्रिय कविता महोत्सबमा प्रथम भएको कविता “झोलामा देश”

रोल्पामा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा खोटाङका मोहन सङ्ग्रामको कविता ‘झोलामा देश’ले प्रथम स्थान हासिल गरेको छ ।यस्तो छ कविता –

झोलामा देश

अत्यन्तै सजग भएर

बर्षाैँदेखी

हिडिरहेको छ एउटा मान्छे

झोलामा देश बोकेर

उसलाई डर छ

अलिकती हल्लियो भने

रारा छचल्किन्छ

अलिकती निहुरियो भने

सरगरमाथाले बिझाउँछ

दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायो?

देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ?

उ हरेक पटक फरक फरक जवाफ दिन्छ

घडीले दिने जवाफजस्तो

झोलाबाट निकालेर एक खिल्ली युवाहरु

देशको नक्साजस्तै कागजमा बेर्छ

हात तन्काएर खाडीको आगोमा झोस्छ

हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ

धुवाँ आफु लिन्छ खरानी झोलामा राख्छ

कहिलेकाँही

जब उसलाई थकाइ लाग्छ

झोलालाई अगाडी राखेर

बिश्राम लिन्छ मुलायम चौरमा

र झोलामा भगवानको चारो हालिदिन्छ

झोलाभित्र झगडा हुन्छ

आ–आफ्नो भगवानकोलागी

जव झोलाभित्र

भगवानको रुची घट्छ

उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ

र झोलाभित्र हुर्याउछ

फेरी घम्साघम्सी हुन्छ झोलाभित्र

आ–आफ्ना पुर्खाहरुको लागी

बेला बेला झोलाभित्र

नाकको उचाई

आँखाको आयतन

जिब्रोको गती

यस्तै विषयहरुमा झगडा हुन्छ

यो सब देखेर

उसलाई आनन्द महशुस हुन्छ

जस्तो कि

भर्खरै ठुलो युद्ध जितेर

उ पिपलको फेदमुनी स्वास लिईरहेको छ

जस्तो कि

बर्षौँपछि भेटिएकी

आफ्नी प्रेमिकाको काखमा

उ निदाएको छ

झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनी

उसलाई गितजस्तो लाग्छ

झोला भित्र खेलिने रगतको होली

नाटक सम्झेर हेर्छ

झोलाभित्र सारंगी बज्यो भने

उसको कान पाक्छ

झोलाभित्र सेतो परेवा देख्यो भने

उसको सातो जान्छ

कुकुरलाई हड्डी देखाएझैँ

कुनै सुन्दर बस्तु देखाउँछ बाहिरैबाट

झोलाभित्र एकछिन ताली बज्छ

त्यो ध्वनीमा उ नाच्न थाल्छ

कहिले झोलाभित्र सानो प्वाल पारिदिन्छ

झोलाको एउटा कुना उज्यालो हुन्छ

अँध्यारोमा परेकाहरुले आन्दोलन गर्छन्

त्यो संगीतमा उ निदाउछ

दक्षिणतिर उत्सव हुँदा

झोला उत्तर तिर फर्काउँछ

उत्तरतिर उत्सव हुँदा

झोला दक्षिणतिर कोल्टाउछ

दुवैतिर शान्त भयो भने

गोजीबाट कालो चस्मा झिकेर

आँखामा लगाउछ

शिर ठाडो बनाउँछ

हात माथी उठाउँछ

र मन्द हाँसो हाँस्छ

यसरी

छुट्टाछुट्टै अनुहारमा

फरक फरक हुलियामा

बर्षौँदेखी हिडिरहेछ एउटा मान्छे

झोलामा देश बोकेर ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349