eNepal

हतारमा बिहे, फुर्सदमा पछतो

कैलाली टीकापुर–१ एकतानगरकी रुपा विक अहिले २१ वर्षको पुग्नुभयो । २१ वर्षमा उनको तीन सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाले १६ वर्षमा पहिलो सन्तान जन्माइन्, त्यसपछि १८ वर्षमा दोस्रो र २० वर्षमा तेस्रो सन्तान जन्माइन् । हाल रुपाको कान्छो छोरा पनि एक वर्षको पुगिसकेको छ ।

बालविवाहका कारण रुपाले सन्तान राम्ररी स्याहार्न नसकेको बताउनुभयो । “सानै उमेरमा विवाह गरेँ, विवाहको अर्थ थाहा थिएन, विवाहलगत्तै १६ वर्षमै पहिलो सन्तान जन्माएँ, त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो”, रुपा भन्छिन्, “बालविवाह कसैले गर्नु हुँदैन, सानैमा विवाह गर्दा पढ्न पाइएन, जसको पछुतो सधैँ रहन्छ ।”

रुपाजस्तै १७ वर्षीया उर्मिला परियारले पनि १५ वर्षमा भागी विवाह गरिन् । उर्मिलाको घरको अवस्था दयनीय थियो, खान लाउनकै समस्या भएपछि विवाह गरेको उनको भनाइ छ । “बुवाआमालाई जिम्मेवारी बढी भयो, विवाह गरेमा सहज होला ठानेर विवाह गराैँ, सानैमा आमा पो बनियो रु” उर्मिला भन्छिन्, ‘‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो । सानै उमेरमा विवाह गरेर जीवन सहज कहिल्यै बन्दैन ।”

रुपाजस्तै एकतानगर शिविरमा १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनिषा सुनारजस्ता किशोरी पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छन् । उनीहरु हतारमा गरिएको बिहेले जीवन कष्टकर भएको बताउँछन् । “सानै उमेरमा गरिने विवाहले यी किशोरीको स्वास्थ्य कमजोर छ । साथै यिनका बालबालिका पनि स्वस्थ छैनन् ।” शिविरका अध्यक्ष रणबहादुर विकले भन्छन्, “युवावस्थामा गरिने गल्तीले जीवनभरि पछुताउनु पर्छ ।”

अधिकांश युवतीले आर्थिक अवस्था कमजोर भएकै कारण विवाह गरेको बताएका छन् । एकतानगरकी भगवती जोशीले आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय जान नसकेको बताउँदै भन्नुभयो, “जवान छोरी विद्यालय नगए विवाह गर्नुपर्छ भन्ने हुन्छ, जसले गर्दा बालविवाह भइरहेको छ ।”

एकता नगरकै ललिता परियार अहिले २१ वर्षको हुनुभयो । उहाँका पनि सन्तान छन् । अन्जानमै सानै उमेरमा वालविवाह गरेकी ललिता भन्नुहुन्छ, “अहिलेका किशोर किशोरी बालविवाह नगर्नुहोला ।”

त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत आफ्नो विद्यालयमा चार÷पाँच बालिकाले हरेक वर्ष बालविवाह गरेकै कारण विद्यालय छाड्ने गरेको बताउनुहुन्छ ‘‘यसवर्ष पनि चार किशोरीले भागेर विवाह गरेछन्, विवाहपछि विद्यालय आउन कठिन छ । उनीहरुको पढाइ बिग्रिएको छ ।” प्रधानाध्यापक कठायत भन्नुहुन्छ, “अभिभावक सचेत नबनेसम्म बालविवाह रोक्न सकिँदैन ।”

महिला अधिकारकर्मी नन्दा विक गरीबीका कारण पनि बालविवाह भइरहेको बताउनुहुन्छ । उहाँको भनाइमा यदि रोजगारीका अवसर पाएको भए आर्थिक अवस्था मजबुत हुन्थ्यो, बालबालिका विद्यालय जान पाउँथे र बालविवाहको दर घट्ने थियो ।

दिगो विकास महिला सञ्जाल टीकापुरका अध्यक्ष चन्द्रावती शर्मा २० वर्षमुनिको विवाहलाई कानूनले स्वीकृति नदिएको बताउँदै यदि कसैले विवाह गरेको खण्डमा कानूनी कठघरामा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले नगरपालिकाले बालविवाह गर्ने र गराउने दुवैलाई कारवाही गर्ने कानूनी व्यवस्था रहेको बताउनुभयो । उहाँले बालविवाह न्यूनीकरणका लागि अभिभावक, समाज सचेत हुनुपर्ने बताउँदै उमेर पुगेपछि मात्रै विवाह गर्न सबैमा आग्रह गर्नुभयो ।रासस

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349