साताभरको निद्रा एकदिन सुतेर पूरा गर्न सकिन्छ ?

एजेन्सी । विश्लेषकहरुले यसअघि नै सबैलाई साताभर गुमाएको निद्रा बिदाको बेला सुतेर पूरा गर्न नसकिने स्पष्ट बताइसकेका छन् ।  तर २०१८ मा प्रकाशित ‘जर्नल अफ स्लिप रिसर्च’ ले सो निष्कर्षमाथि प्रश्न गर्दै बिदाका बेला सुत्नुले निद्रा नपुग्दा उत्पन्न हुने केही जोखिमहरुलाई कम गराउन सक्ने दाबी गरेको छ । 

अपूरो निद्राका कारण स्वास्थ्यमा पर्ने असरदेखि चाँडै मृत्यु हुने सम्मका खतरा कम हुन सक्ने जर्नलमा उल्लेख छ । 

तर यता ‘करेन्ट बायोलोजी’ मा प्रकाशित अध्ययनले भने हप्ताभर गुमाएको निद्रा छुट्टीको समयमा आराम गरेर पूरा गर्नु पर्याप्त नहुने र यो दिर्गकालीन समयका लागि फाइदाजनक हुन नसक्ने बताएको छ ।  

वास्तवमा अहिलेका मानिसहरु निद्रालाई बैंक अकाउन्ट जस्तै सम्झिन्छन् र सोमबार एक घण्टा कम सुत्ने व्यक्तिले शनिबार एक घण्टा बढी सुतेर तालमेल मिलाउन खोज्छन् । तर यो विषय यति सहज नभइ धेरै जटिल रहेको युनिभर्सिटी अफ मिचिगेनकी न्युरोलोजी प्रोफेसर डाक्टर क्याथी गोल्डस्टिन बताउँछिन् । 

उनका अनुसार यसरी अगाडिको निद्रा अर्कैदिन सुतेर पूरा गर्दा यसका केही तत्कालीन फाइदा हुन सक्छन् तर यसलाई वास्तवमै घण्टाका हिसाबले मापन गरि पूरा गर्न सकिँदैन । 

यसअघिका अनुसन्धानहरुमा एक घण्टाको अपूरो निद्रा पूरा गर्न कम्तीमा पनि चार दिन पर्याप्त आराम आवश्यक रहेको बताइएको छ । त्यसैले पनि गणितीय हिसाबले अपुग निद्राको भरपाइ गर्न असम्भव रहेको क्याथी बताउँछिन् । उनका अनुसार समयसँगै अधुरो निद्राका रातहरु पनि बढ्दै जाने हुँदा कहिल्यै शरीरलाई पूर्ण रुपमा निद्राको भरपाइ गर्न सकिँदैन । 

उनी भन्छिन्, “कहिलेकाहिँ रातभर जागेर बस्नु वा बिहान धेरै छिटो उठ्नु हामीलाई ठूलो कुरा लाग्दैन । तर वास्तवमा निद्रा पूरा नहुनुले हाम्रो शरीरको थकान मात्र नबढाएर शारीरिक घडीमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।”

शारीरिक घडी एक आन्तरिक प्रणाली हो जसले रातिको समयमा सुत्ने र दिनमा सक्रिय रहने हर्मोन रिलिज गरिरहेको हुन्छ ।  

‘नेस्नल स्लिप फाउन्डेसन’ का अनुसार हाम्रो शारीरिक घडीले प्राकृतिक रुपमा रातको करिब ९ बजेदेखि नै निद्रा लगाउने मेलाटोनिन हर्मोनको उत्पादन बढाउन थाल्छ भने बिहान हुँदै जाँदा त्यसको मात्रा घट्दै जान्छ । यसरी यो प्रणालीलाई उज्यालोले धेरै प्रभाव पार्ने हुनाले नै राति मोबाइल लगायत स्क्रिनसँग सम्पर्कमा आएपछि हामीलाई सुत्नमा कठिनाइ हुने गर्दछ । 

तर यदि हामीले स्थिर रुपमा निद्रा पूरा गरि सुत्ने र उठ्ने एउटा निश्चित तालिका बनायौँ भयो चाहिँ हाम्रो आन्तरिक घडी यसैमा निर्भर हुन थाल्छ र हामीलाई आफूले निर्धारण गरेकै समयमा सुत्न र उठ्न समस्या हुँदैन ।  तर सुत्ने समयमा आफ्नो दैनिकी भन्दा थोरै पनि तलमाथि भएमा चाहिँ हामीले त्यसका विभिन्न प्रभावहरु आफैँ महसुस गर्न सक्ने क्याथी बताउँछिन् । 

जस्तै केही दिन लगातार ढिला सुत्नुले पनि हाम्रो शारीरिक घडीलाई पछि सारिदिनेछ जसपछि हाम्रो शरीर रातिसम्म जागिरहन चाहान्छ । यसैले नै शुक्रबार अबेरसम्म नसुतेको मान्छेलाई शनिबार राति सुत्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।  यसरी शरीरिक घडीमा बाधा पुग्नुका आफ्नै जोखिम छन् । जस्तै यसबाट सबैभन्दा बढी रातिको सिफ्टमा काम गर्ने व्यक्तिहरु प्रभावित हुँदै आएका छन् । 

यसैसँग सम्बन्धित कारणहरुले उनीहरुमा क्यान्सर, मस्तिष्कको क्षमता कम हुने र चाँडै मृत्यु गरेको पत्ता लागेको छ ।  तर शारीरिक घडीले रातिको तालिका भएका व्यक्ति मात्र नभइ अनिश्चित ढङ्गमा सुत्ने साधारण मानिसको स्वास्थ्यमा पनि उत्तिकै नकारात्मक असर पार्ने गरेको अनुसन्धानले देखाएको छ । 

यसरी दिनको एक घण्टा निद्रा गुमाउनु २०० अतिरिक्त क्यालोरी सेवन गरे बराबर हुने बताइएको छ ।  त्यसैले थकानका साथै अपूरो निद्राले उत्पादकत्व पनि घटाउने हुँदा केबल एक शनिबार आराम गरेर कहिल्यै भरपाइ गर्न नसकिने बताइएको हो । 

त्यसैले गुमाएको निद्रा पूरा गर्न दिनदिनै लामो समय सुत्नु भन्दा दिउँसोपख छोटो समय निदाउनु धेरै प्रभावकारी हुन सक्ने क्याथी बताउँछिन् । यस्तोमा शारीरिक घडीलाई सन्तुलनमा राख्न रातिको समय स्क्रिनको कम प्रयोग गर्न र अत्यन्तै व्यस्त भएपनि सुत्नका लागि थोरै समय निकाल्न क्याथीको सुझाव छ । टाइम