अठार बिस लाख खर्चेर डन जाबो बन्न त के आउनु हौ अस्ट्रेलीया

अरे यार डननै बन्नु छ भने किन आईएलटिएस, पिटीई, दश थरीको झमेला, कागज पत्र, पैसा त्यो पनि चर्को ब्याजमा , आफन्तजनमा आँशु झारेर आउनु के अस्ट्रेलीया। खुरुक्क नेपालनै बसेर लडाई झगडा गरे भई गयो नि।

पहिलो कुरो नामले मात्र केही हुँदैन। अस्ट्रेलीया भन्ने बित्तीकै कुनै तातोभुत्लो रातारात केही हुँदैन। खप्परमा लोट्री परे छुट्टै कुरो कि त क्यासिनोमा भगवानको दाईना पर्यो भने मात्र हो नत्र भने सजिलो पक्कै छैन अस्ट्रेलीयाको जिवन। 

राम्रोसँग सिगान पुछ्न नजानेकाहरु आएर के गर्छु भन्ने लागेको छ कोनी। 

दुई चार दिनको रमझमले जिवन चलाउन गार्हो हुन्छ। एकचोटी लगानी गर्दैमा जिवन बन्छ भन्ने सोच राख्नु पनि सरासर गलत हो। आउनु ठुलो कुरो भएन अव यहाँ आएर पढाई, काम अनि नेपालबाट आउँदाको पैसो तिरेर जिवन चलाउन ठुलो कुरो हो। 

छोरा छोरीलाई बिधाई गर्दैमा अभिभावकले जिम्मेवारी पुरा भएको नसोचौ अव। पहिले र अहिलेमा आकाश जमिनको फरक भई सक्यो अस्ट्रेलीया। अव छोरा छोरीले कलेजको फि आफै तिरेर पढ्ने अवस्था ज्यादै न्युन छ। यदि पढाई नसकिन्जेल पैसा ठेल्न सकिदैन भने एकदम गार्हो छ काम गरेर कलेज फी तिर्न। कमाउने त परै छोड्दिनु होस्। 

बिधार्थीहरुको सङ्ख्या गएको बर्षमा ह्वात्तै बढ्यो। जता गएनि नेपाली ठोकिनु कुनै आश्चर्य पक्कै भएन। एउटा कामको पोस्ट कतै आयो भने त्यहाँ कमेन्ट यति धेरै आउँछ जसले अनुमान गर्न सकिन्छ कि कति बेरोजगार छन् भनेर। एकदिनको किचनह्याण्डको कामको पोस्टको लागी त्यहाँ  सैयौ जनाको कमेन्ट हुन्छ जसबाट सजिलै अन्दाज लगाउन सकिन्छ कति अत्तालिएका छन् भाई बहिनीहरु काम नपाएर। 

अझ हप्तामा बिस घण्टा काम गर्न पर्ने नियम बिपरीत काम गर्नेलाई ईमिग्रेसनले भिषा खारेज गरेको समाचारले झन् आतङ्क बढाएको छ।  

यति हुँदा हुँदै पनि दादागिरी गर्न छोडीदैन। ग्याङ फाईट हुन थाल्यो, फुटबल खेल्न छोडेर कुटाकुट यतै हुन थाल्यो। आत्महत्याका समाचार असरल्लै आउन थाले। दुर्घटनाका समाचारले मन कटक्क खानु स्वभाविकै हो। सुन्थ्यौ साउदी, कतार, मलेसियामा मान्छे सुतेको ठाउँमा मरे रे, कामबाट निकालेर बाटोको बास छ रे, धेरै माधकपदार्थ खाएर मरे भनेर। हरेक दिन लाश नेपाल गएका समाचार। अव अस्ट्रेलीयाबाट पनि यस्ता अनिस्ट समाचार हरेक दिन नसुनिएला भन्न सकिन्न। आउने, पठाउने र सरोकारवाला सबैले बुझौ। पछि पुर्पुरामा हात राखेर पछुताउनु भन्दा बेलैमा सजग भएको राम्रो।