फुटबल अनि कार्ड

विश्वकप फुटबल खेलप्रेमीका लागि मात्र नभएर सारा विश्वका लागि महाकुम्भ हो । हरेक विश्वकपमा पाइने विशेषता भनेको त्यहाँ पस्किइने भव्यता र सभ्यतासँगै सुन्दर खेल हो । यसो भन्दैमा त्यो विवादरहित हुन्छ भन्ने छैन ।

हरेक विश्वकप प्रतियोगितामा एउटा न एउटा विवाद÷समस्या उत्पन्न भएकै हुन्छ । सन् १९६२ चिलीमा आयोजित फिफा विश्वकप फुटबल एउटा उदाहरण हो । यस प्रतियोगितामा फुटबल  इतिहासकै सबसे खराब खेल मध्येको भयो । खेल अवधिभर कुनै पनि कार्ड देखाइएन । कारण ? त्यो बेला कार्ड देखाउने प्रचलन÷सिस्टम नै थिएन ।

सन् १९६२ को विश्वकपमा आयोजक राष्ट्र चिली र इटाली एउटै समूहमा थिए । उनीहरुबीच समूह चरणको खेल हुनुपूर्व इटालियाली प्रेसले चिली र त्यहाँका बासिन्दाका बारेमा नकारात्मक टिप्पणी छापेको थियो ।

पत्रिकामा भनिएको थियो, ‘चिलीको राजधानी स्यान्टियागो सबैभन्दा फोहोरी ठाउँ हो । यहाँ न फोनको सुविधा छ न त चिठ्ठी भनेको समयमा आदन प्रदान गर्न सकिन्छ । चिली एक सानो, घमण्डी र गरिब राष्ट्र हो । यहाँका नागरिक पिछडिएका र पाखण्डी छन् ।

उनीहरु अशिक्षित हुनुको साथै कुपोषित पनि छन् । यहाँका ट्याक्सी भनेको विरलै पाइने इमान्दार श्रीमान्÷पुरुष जस्तै छन् । यो देशले विश्वकप आयोजना गर्न राजी हुनु भनेको मुसोलिनीले लन्डनमा बम वर्षा गर्न एअर फोर्स पठाउन राजी भए जस्तै हो ।’

यस्तो भद्दा आरोप र टीकाटिप्पणीका कारण चिलियनहरु रुष्ट भए । यो रुष्टता खेल सुरु भएको केही सेकेन्डमा नै पोखियो । खेलका रेफ्री केन एस्टन थिए । खेलको १२ औँ मिनेटमा इटालीका खेलाडी जर्जियो फेरिनीले विपक्षी टोलीका खेलाडीलाई फल हाने ।

त्यसको प्रतिक्रियास्वरुप उनलाई मैदान छाड्न भनिए पनि उनले अस्वीकार गरे । जसकारण उनलाई मैदानबाटै हटाउन पुलिसको सहयोग लिनु पर्याे । खेलकै दौरान चिलीका खेलाडी लियोनेल सान्चेजले इटालीका मारियो डेभिडलाई मुक्का हाने पनि रेफ्रीले देखेनन् ।

केही मिनेटपछि डेभिडले सान्चेजलाई टाउकोमा लात्ती हान्ने असफल प्रयास गरे । उनको दुर्भाग्य भन्नुपर्छ, रेफ्रीले यसपालि देखिहाले । त्यसकारण उनी मैदानबाट निकालिए । यसपछि त खेलले हिंसात्मक रुप लियो ।

सान्चेजले विपक्षी टोली खेलाडीको नाक भाँचे पनि कारबाहीमा परेनन् । स्वतन्त्र खेलिरहे । दुई टोली बीचको फुटबल खेलमा स्पोर्ट्सम्यानसिप भन्ने देखिएन । उनीहरु मुक्काबाजीमा पनि उत्रिए । एकले अर्कालाई थुक्नेजस्तो कामसम्म गरे । खेल अवधिभर थप तीन पटक पुलिस परिचालन गरियो ।

चिलीले २—० को गोल अन्तरमा खेल जित्यो । चिली र इटाली बीचको यस खेललाई ‘ब्याटल अफ सान्टियागो’ भनेर नाम दिइयो । बिबिसी स्पोर्ट्सका टिप्पणीकर्ता डेभिड कोलम्यानले त यस खेललाई इतिहासकै मुर्खतापूर्ण, भयानक घृणित र लज्जास्पद फुटबल खेलको प्रदर्शन भएको भनेर व्याख्या गरेका थिए ।

सन् १९६२ को फुटबल त येनकेन सकियो तर त्यसले छाडेको प्रभाव गहिरोगरी टाँसिएकै थियो । त्यसैले सन् १९६६ को विश्वकपमा एस्टन पुनः विश्वकप रेफ्रीहरुको प्रमुख नियुक्त हुँदा त्यस्तै अभद्रता नदोहोयाउने पक्षमा थिए ।

त्यसका लागि उनले यस प्रतियोगितामा खेलाडीहरुले खराब एवं प्राणघातक ट्याकल गरेको अवलोकन गरी खेललाई केही सभ्य बनाउन चाहन्थे । यस पटक अघिल्लोजस्तो ‘अश्लील’ खेल त भएन तर खेलाडी घाइते हुने क्रम भने कम भएन ।

उनी भविष्यमा खेल सुरक्षित, सुन्दर र सभ्य होस् भन्ने चाहन्थेँ । उनी उपयुक्त समाधानको खोजीमा थिए । एक दिन उनी आफ्नो कारमा वेम्ब्ली रङ्गशालाबाट लान्सेस्टर गेट जाँदै थिए ।

यात्राको क्रममा केंसिङ्टन हाई स्ट्रिटकोे ट्राफिक लाइटमा केहीबेर अडकिए । त्यसै क्षण उनको दिमागमा अनौठो जुक्ति फुर्याे । त्यो उनका लागि ‘यूरेका’ पल थियो । ट्राफिक लाइटमा प्रयोग हुने रङ र सिद्धान्त कसरी फुटबल खेलमा सदुपयोग गर्ने भन्ने कुरामा धेरैबेर घोत्लिए । घर आएलगत्तै श्रीमती हिल्डालाई आफूमा रहेको अस्पष्टता र उल्झनसमेत बताए ।

हिल्डा आफ्नो कोठामा गइन् । केही क्षणपछि सर्टको गोजीमा राख्न मिल्ने दुई वटा कागजको कार्ड बोकेर आइन् । एउटा पहेँलो र अर्को रातो कार्ड थियो । पहेँलो कार्ड खेलाडीलाई सावधान गराउन र रातो मैदानबाट बाहिर गराउन प्रयोग गर्न सकिने उनले सुझाव दिइन् ।

यसपछि सन् १९७० मेक्सिकोमा आयोजित विश्वकपमा केन एस्टनकै प्रयत्नका कारण कार्डको सफल प्रयोग गरियो । त्यसपछिका हरेक फुटबल खेलमा कार्डको सिस्टमले निरन्तरता पाउन थाल्यो । अहिले खेलाडीलाई खेलमा नियन्त्रण गर्न हातको इसारा प्रयोग गर्नुपर्ने अवस्था छैन, न त खेलाडीलाई मैदानबाहिर निकाल्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था छ । खेलाडीको उदण्डतालाई नियन्त्रण गर्न मात्र होइन, मैदानबाहिर निकाल्न कार्ड नै काफी छ ।

रेफ्रीले खेल मैदानमा यस्तो शक्ति पाएका छन्, जसका कारण खेल अनुशासित र सन्तुलित रुपमा सम्पन्न हुन थालेका छन् । र, आउँदा दिनमा पनि खेल उत्तिकै अनुशासित र सन्तुलित हुनेमा कुनै शंका छैन । चुनौतीले नै नयाँ आविष्कार गर्छ भन्ने कुरा यही रेड र येल्लो कार्डको आविष्कारले पनि देखाउँछ ।

यति मात्र होइन, सन् २०१० विश्वकपमा फ्रयाङ्क लाम्पार्डले जर्मनीविरुद्ध गोल गरे पनि त्यसलाई मन्यता दिइएन । बलले गोल लाइन पार गरे पनि रेफ्रीले देखेनन् । अन्ततः बेलायतले ४—१ को गोल अन्तरमा जर्मनीसँग हार्नुपर्याे ।

फुटबल जगतमा यो ठूलो विवादको विषय बन्न पुग्यो । यही कारण सन् २०१४ को विश्वकपमा गोल लाइन टेक्नोलोजी प्रयोग गरियो । यस पटकको विश्वकप अर्थात् रुसमा हुने विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्रीसमेत प्रयोग गरिने भएको छ ।

यी दुवै उदाहरणले देखाउँछ– समस्या आउँछन् । ती समस्यालाई मानिसले सिर्जनात्मक समाधानको अवसरका रुपमा लिनुपर्छ । तपाईंको जीवनमा पनि यस्ता कैयौँ समस्या आएका होलान्, यस्तै सिर्जनात्मक समाधान पनि त खोज्नु भएको होला !