पहिलो कुरो यो बुझ्न पर्यो म बिरानो देश जाँदैछु कुनै मामाघर वा ससुराली गाउँ होईन। भिषा लगाउन अनि उढ्नु मात्रै जिन्दगीको अन्तिम बिन्धु पक्कै होईन। भिषा लाग्दैमा अब आउने जिवन कायापलट हुन्छ, पैसा त अब टिप्ने हो, लाखलाख रुपयाँ कमाई हाल्छु, सम्झेर सोचेर अनि दबिएका ईच्छाहरु सबै एकै चोटी पुरा गर्छु भनेर सोच्नु पनि निरर्थक हुन्छ।
फलानोले यस्तो गर्यो रे, चिलानोले गएको छ महिनामा गाडी किन्यो रे, ढिस्कानोले गएको महिना दिनमै आईफोन पठायो रे। हो यो रे को पछि लागेर धेरै युवा यता आएर सोचे अनुरुपको केही पनि पुरा नहुँदा तनाबबाट गुज्री रहेका छन्।
बढो देखासिकी गर्ने होडबाजी चलेको छ हाम्रो समाजमा। त्यसले त यत्ति कमायो तँ पनि गएको भए यत्ति कमाउँथिस्। त्यसले त गएर यस्तो गरि सकेछ मैले पनि गर्थे नि गएको भए। त्यसले त महिनाको लाख नबिराई पठाएको छ, तँ चाही के गर्छस्। हो यस्तै अरुसँग तुलना गरेरनै आजकाल कैयौ युवा घरको करकापमा परेर होस् या फलानो जस्तै बन्छु, समाजलाई देखाउँछु भन्दै अन्धाधुन्ध बिदेशिएका छन्।
बिसौलाख खर्च गरेर पठाउँदैमा आफ्ना छोरा छोरीको भविस्य सुनिस्चित भयो, अस्ट्रेलीया पठाएको छु अब महिना दिन देखी फुतुफुतु पैसा पठाउन थाल्छन् भनेर गर्धन पसार्नु बेकार छ अभिभावकले।
हाल आएर अस्ट्रेलीयाका मुख्य शहरहरु सिड्नी अनि मेल्बोर्नमा नयाँ आउने भाई बहिनीहरुलाई कोठा नपाउने समस्या बढो जटील बन्दै गएको छ। गएपछि जसरीनि मिली हाल्छ, साथी छ, फलानो छ, चिलानो छ भन्ने बानीले आजकाल धेरैलाई बस्ने ठाउँको समस्या बढ्ने गरेको छ। कोठा नपाईन्जेल होटेलमा बस्छु या अपार्टमेन्टमा बस्छु भनेर आउने अनि ल्याएको पैसा सबै होटेलमा बुझाएर बिचल्लीमा पर्ने गरेको समाचार पनि सुन्नमा आउँछ यदाकदा।
आफन्त हुनेलाई बस्नेको समस्या नहोला। केही दिन वा हप्ता आफन्तकोमा बस्ने ब्यबस्था होला तर कोही पनि नहुनेले नेपालबाट बस्ने ठाउँको व्यबस्था मिलाउन नितान्त जरुरी रहन्छ। हाम्रो बानी के हुन्छ भने ह्या गएपछि पाई हाल्छ, मिली हाल्छ। जे पनि सरल तरिकाबाट लिन्छौ अनि आफुलाई समस्या परे पछि थुक्क बोरु पहिलानै मिलाउन पर्ने रहेछ भनेर पछुताउँछौ।
अर्को कुरा मेरो काका छ, मामा छ, यो छ फलानो छ भनेर ढुक्क भनेर आउनु पनि खासै उचित हुँदैन्। यो ठाउँ भनेको सबै व्यस्त रहने ठाउँ हो। सबैको काम हुन्छ। फुर्सदिलो कमै हुन्छन्। अनि आएर किचकिच गर्यो। कामले गर्दा केही गर्न पाउँदैनन् अनि फेरी तिनै अङ्कल, काका, मामा अनि साथीलाई दोष थोपर्यो। खुब व्यस्त रहेछन् बालै दिएनन् भन्दै। यो कसैको दोष होईन ठाउँको दोष हो। त्यसैले कसैको भर परेर आउनुनै हुन्न। आफैले हरेक कुराको व्यबस्था गर्नु पर्छ आउनु अगाबै। बोरु एक दुई दिनको ढिलाले कुनै पहाड खस्दैन।
त्यसैले अभिभावकले पनि बिस लाख हाल्दि हाले। अब यसको भविस्य आफै बनाउँछ भनेर ढुक्क भएर पठाउनु भन्दा पनि गएर कहाँ बस्ने हो, घर खर्च के कति लाग्दो रहेछ, कलेज कहाँ कस्तो रहेछ, साथी भाई कस्ता रहेछन्, कोही चिनेजानेको छ कि छैन्, त्यहाँका नेपाली अगुवाहरु को रहेछन्, कामको गार्हो सार्हो के कस्तो रहेछ, कतिको काम ढिलो चाँडो पाईने रहेछ। आफ्ना छोरा छोरी कतिको बाठा छन् किनकी बाठाले चाढै काम पाउने हुन्छ्न्। कोही त कोठाबाट बाहिर ननिस्कने स्वभाबका पनि हुन्छ्न् जसलाई काम पाउन देखी अन्य कुरामा पनि गार्होनै हुन्छ। अन्त्यमा छोरा छोरीलाई पढ्न बिदेश पठाए अर्को महिनाबाट पैसा पठाई हाल्छन् भनेर नसोच्दा पनि हुन्छ। अझ म भन्छु पढाई नसकुन्जेल छोरा छोरीले पैसा कमाएर पठाउलान भन्ने शोच राखेर पठाउँदै नपठाउनु होस्। फोकटमा यता हुनेलाई पनि तनाब र अभिवाबकलाई पनि तनाब।