एकाएक गाउँमा हल्ला मच्चिन्छ मधुकर बाकी छोरीको बिहे रे नि त। केटो अस्ट्रेलिया बस्छ अरे। उतै गएर बसेको पनि गोढा पाँचेक बर्ष भएको छ रे। एककान दुईकान हुँदै सुमिराको बिहेको हल्ला अर्को गाउँ सम्म पुग्छ। होईन सुमिराले त भर्खर बार्ह सकेर बसेकी होईन र। सानै छ जस्तो लाग्छ त। किन हतार गरेछन् मधुकर बाले छोरीको कन्यादान दिन। भाउजु प्वाक्क बोल्छिन अनि केटो अस्ट्रेलीयन हो रे नि त। उतैको पिआर लिएर बसेको र नि त। बिहे गरेर उतै लैजान्छ रे।
गाउँ भरि हल्ला फैलिन्छ सुमिराको बिहेको। बिहेको तयारी तदारुक्ताका साथ हुन्छ। सुमिरा पनि मख्ख पर्छे अस्ट्रेलीयन एनआरएनसँग बिहे हुने भएकोमा।
बिहेको तिथी मिती सबै जुर्छ। केटो आउने टिकट बुक हुन्छ। केटोको आनिबानी केही बुझिदैन किन कि उसको अगाडी पिआरको ट्याग भिरीएको हुन्छ। लाग्छकि पिआरले सबै सुखभोग दिन्छ। सुमिरा पनि फुरुङ्ग पर्दै साथीले सोधेमा ठुलो स्वरले भन्छिन् अव बिहे गरेर कागज पत्र मिलाएर उतै जाने हो। साथीहरुले ठट्यौली पारामा भन्छन् आहा क्या भाग्यमानी रहिछस् बार्ह सकिदै पिआरवालाकी हुने भईस्। हेर्दा हेर्दै त पनि एनआरएन पो हुने भईस्। खप्परमा लिएर आएकी रहिछेस् नि त मोरी।
धुमधामले बिहे हुन्छ।माईती तिरबाट केही कुराको कमीको महसुस हुन दिदैनन्।बिहे हुन्छ। केही दिनको अन्तराल पछि केटो अस्ट्रेलीया हानिन्छ र छिट्टै सुमिरालाई लैजाने आश्वासन दिन्छ। केटोले पनि कागजपत्र सबै बनाएर अस्ट्रेलीयाबाट सुमिराको लागि भिषाको आबेदन दिन्छ। केही महिनाको अन्तरालमा सुमिराको पनि भिषा लाग्छ। खुसी हुँदै धेरै सपना बुन्दै बिदा भएर सुमिरा अस्ट्रेलीया जान्छिन्।
सामान्य तरिकाले बसेको एनआरएन श्रीमानको नेपालको धमास र अस्ट्रेलीयाको उसको बस्ने शैलीले सुमिरा छाँगाबाट खसेझै हुन्छिन्। एउटा सामान्य घरमा अरु साथीहरुसँग मिलेर बसेको रहेछ। कोठामा भएको दराज खोलेर हेर्दा बगरेल्ती चिट्ठीहरु रहेछन्। बैंकका क्रेडीट कार्डका पैसा तिर्न पर्ने सुचना भएका चिट्ठी मात्र भेटीछिन्। दुई बैकबाट लिएको क्रेडिट कार्डका सबै पैसा चलाएर ब्याज नतिरेको भएर छिटो तिर्ने सुचना भएका चिट्ठीहरु मात्र भेटिछिन्। हुँदा हुँदा पर्सोनल लोन पनि लिएर चलाएको तर नतिरेको रहेछ। बैकको हिस्ट्रीनै बिगारेको रहेछ। घरमा खाना कहिले नपकाउने भएर केही पनि खानाको सामान रहेन रहेछ। साथी भाईसँग एकदुई सय सापट लिएर आफ्नो जिविका चलाई रहेको रहेछ। साथीहरु पनि कति दिन ऋण पत्याउँथे र।
आखिरी किन यस्तो भएको रहेछ बिस्तारै बुझ्दै गईन्। बुझ्दै जाँदा उसमा क्यासिनो जाने अनि अनलाईन बेट गर्ने लत लागेको रहेछ। हप्ता भरि काम गरेको पैसा एकदिन क्यासिनो गएर सक्ने बानी परेको रहेछ। यस्तो लत भई सकेछ कि पैसा आएको दिन उसको बास क्यासिनोमा हुने रहेछ। एक दिन झ्याप्पै कमाउछु भन्दा भन्दै आफु नाङ्गीएको पत्तै पाएनछ।
बिस्तारै यहि कुराले उनीहरुको बिच खटपट पर्न थाल्यो। के गर्ने पिआरले खान दिने रहेन छ। पिआरवाला भनेर के के न पाईन्छ भनेर केही नबुझी हाम फाले तर अहिले आएर सम्बन्धमै प्रश्न उठेछ। उसको लत केही गरे पनि हट्ने सङ्केत रहेन छ। बिचरा सुमिरा अहिले जिन्दगीलाई कसरि अघि लैजाने दोधारमा छिन्।