स्कटल्यान्डको एडिनबरा घर भएका ह्युग मिलले आफ्नो जीवनको महत्वपूर्ण समय भगवान् ओशो (रजनीश) सँग बिताए।
यो यात्रामा ओशाेले उनलाई प्रेरित गरे। उनीकी प्रेमिकासँग सुते र उनलाई चाहिँ कठिन श्रमका लागि अन्तै पठाइदिए। वर्षौंसम्म ह्युग मिलले भगवान रजनीशको बडीगार्डको रुपमा काम गरे। यो भूमिकामा उनको जिम्मेवारी शिष्यलाई ओशोसँग छुन नदिनु थियो। ह्युग जुन बेला राजनीशाको साथमा रहे त्यो उनको आश्रम विस्तारको समय थियो। त्यतिबेला ह्युग २५ वर्षका थिए। यो सन् १९७३ को कुरा हो। रजनीशका समर्थकहरुको संख्या बढेर त्यतिखेर २० बाट २० हजार पुग्दै थियो।
‘ती केवल पत्रिका किन्ने हैसियतका व्यक्ति थिएनन्। उनीहरु ती व्यक्ति थिए जसले रजनीशका लागि आफ्नो घरपरिवार छोडेका थिए’, ह्युग भन्छन्, ‘ती मान्छेहरु पिँडीमा सुत्थे र हप्तामा कुनै पारिश्रमिक नलिई ६० देखि ८० घन्टा काम गर्थे।’
अनलाइन प्लेटफर्म नेटफ्लिक्सले हालै ओशोमाथि ‘वाइल्ड वाइल्ड काउन्ट्री’ नामको डकुमेन्ट्री श्रृंखला निर्माण गरेको छ। यो डकुमेन्ट्रीले ओशोको भारतदेखि अमेरिकाको ओरगेन सराईसम्मको रोचक कथा भन्छ। श्रृंखलामा रजनीशको आश्रम भारतदेखि अमेरिका सर्दाका भिडियो दृश्य पनि छन्। अमेरिकाको ओरगेन राज्यमा ६४ हजार एकड जमिनमा राजनीशका हजारौं समर्थकले एक आश्रम बसाए। रजनीशआश्रम नामको यो आश्रम सन् १९८० को दशकमा बनाइएको थियो। तर यो आश्रम सुरुदेखि नै अध्यात्मिकभन्दा अरु विवादका कारण चर्चामा रह्यो।
भगवान रजनीश अाफ्ना ९० मध्ये एउटा राेल्स राेय कारका साथ
भगवान रजनीश अाफ्ना ९० मध्ये एउटा राेल्स राेय कारका साथ
स्थानीयसँग तनाव, कानुनी विवाद, हत्या प्रयास, चुनाबी धोखाधडी, हतियार तस्करी, विष खुवाउनेजस्ता विषय आश्रमसँग जोडिए। आश्रमका सन्यासीले विष खुवाएको भनिएको प्रकरण अमेरिकाकै इतिहासमा सबैभन्दा खतरनाक ‘बायो टेरर’ अट्याक मानिन्छ।
ह्यूग अहिले ७० वर्षका भए। उनको जन्म स्कल्यान्डको लानर्कमा भएको हो। सन् १९७३ मा अस्टियोपाथ (मांशपेशी र हड्डीसम्बन्धी मेडिकल साइन्स) को तालिम सकेसँगै उनी भारत यात्राको तयारीमा थिए। खासमा उनी स्वामी शिवमूर्तिको खोजीमा भारत पुगेका थिए। तर रजनीशको प्रवचन अडियो सुनेपछि उनी त्यतै लागे। ‘जब तपाइँ कुनै प्रभावशाली व्यक्तिसँग भेट्नुहुन्छ त्यसको असर तपाइँको अस्तित्वमा गहिरोसँग पर्छ’, उनी भन्छन्।
भगवान् जो असफल भए
‘मलाई लाग्यो कि उनी कति अद्भूत, समझदार, दायलु, प्रेमिल र चिन्तनशील छन्। म उनको पाउ पर्न चाहन्थेँ र सिक्न चाहन्थेँ’, उनले ती दिन सम्झँदै सुनाए। ह्युग तिनै व्यक्ति हुन् जसले भगवान रजनीशबारे ‘द गड द्याट फेल्ड’ शीर्षकको पुस्तक पनि लेखेका छन्। भन्छन्, ‘मैले उनलाई एउटा जागृत व्यक्तिको रुपमा देखेँ जसमा असाधारण ज्ञान तथा बोधको भाव थियो।’
रजनीशको सन् १९९० मा मृत्यु भयो। मर्नुभन्दा केही अगाडि उनले ओशो नाम प्रयोग गर्न थाले। ह्युग मिलका अनुसार ओशो एक अद्भूत व्यक्ति थिए जो मान्छेको आवश्यकताअनुसार आफू स्वयंलाई पेश गर्ने क्षमता राख्थे। ‘आमने—सामनेको कुराकानीमा उनले पूर्ण रुपमा मनको कुरा सुँघ्न सक्थे। अगाडिको कुरा बताइदिन सक्थे’, उनी भन्छन्। आमने—सामनेको यस्तो कुराकानीलाई रजनीश आश्रममा दर्शन भनिन्थ्यो। यतिबेला ह्युगको जीवनको उतारचढाव सुरु भइसकेको थियो। उनी आफ्नो जीवनदेखि वाक्क हुन थाले। आफू हिँडिरहेको बाटोप्रति असन्तुष्ट हुन थालेका थिए। पहिलो १८ महिनामा रजनीश उनकी गर्लफ्रेन्डसँग सुत्न थाले। त्यसपछि ह्युगलाई भारतकै सबैभन्दा गर्मी स्थानमध्येको एउटा ठाउँमा खेतको काम गर्न पठाइदिए।
ह्युग मिल हाल क्यालिफाेर्निया बस्छन्
ह्युग मिल हाल क्यालिफाेर्निया बस्छन्
महिला शिष्यसँग सुत्थे
ह्युगको उमेर त्यतिबेला ४० देखि केही बढी भइसकेको थियो। उनका अनुसार रजनीशले बिहान ४ बजे आफ्ना महिला शिष्यलाई विशेष दर्शन दिने गर्थे। ‘रजनीशलाई केही हदसम्म सेक्स गुरु यस कारण भनिन्छ उनी आफ्ना सार्वजनिक प्रवचनमा अक्सर सेक्स र अग्र्याज्मको जिकिर गर्थे’, उनी भन्छन्, ‘यो सबैलाई थाहा भएकै कुरा थियो उनी आफ्ना महिला शिष्यसँग सुत्थे।’
ह्युग लाई विस्तारै रजनीशदेखि ईश्र्या हुन थालेको थियो। त्यसैले उनलाई आश्रम छोड्नेबारे सोच्न थालेका थिए। तर फेरि उनलाई अर्को मनमा लाग्यो, ‘जे भइरहेको छ राम्रैका लागि भइरहेको छ।’
ह्युग विचलित हुनुका कारण थिए।
रजनीशसँग विशेष दर्शनपछि ह्युगको आफ्नी गर्लफ्रेन्डसँगको सम्बन्ध एउटा नयाँ स्थितिमा पुग्यो। त्यसपछि राजनीशले उनलाई आफ्नी गर्लफ्रेन्डसँग छुटाएर भारतको आश्रमभन्दा ४०० मिल टाढा खेतमा काम गर्न पठाइदिए। जब ह्युग फर्किए उनी रजनीशकी निजी सचिव माँ योग लक्ष्मीका बडीगार्ड भए। दर्शन गर्ने मौका नपाएपछि एक शिष्याले माँ योग लक्ष्मीमाथि हमला गरेकी थिइन्। त्यसपछि उनलाई माँ लक्ष्मीको बडिगार्डको जिम्मेवारी दिइएको थियो। ह्युगको अर्को काम भगवान् रजनीशको दैनिकीमा सहयोग गर्नु र उनलाई हेरचाह गर्नु पनि थियो। ‘मलाई थाहा थियो उनी सेक्स गुरु हुन्। हामी सबैलाई सेक्सको स्वतन्त्रता थियो। त्यहाँ एउटै पार्टनर हुनेहरु कमै थिए। सन् १९७३ मा यो फरक कुरा थियो’, ह्युग भन्छन्।
भनिन्छ रजनीश शिष्यलाई आफूसम्म आउनबाट बञ्चित गर्ने पक्षमा कहिलै थिएनन्। तर जब मान्छे उनको खुट्टा छुन अथवा उनलाई अंकमाल गर्न आतुर हुन्थे तब गुरुले सिधा उँभिनु हुँदैन भन्ने रजनीशको मान्यता थियो। त्यही भएर उनी बडिगार्डको रुपमा धेरै काम गरेनन्। तर त्यसको ७ वर्षसम्म उनी रजनीशकै अघिपछि रहने प्रभावशाली सन्यासीकै रुपमा रहिरहे।
ओशोको किचन क्याबिनेटमा एउटा नाम माँ आनन्द शीलाको थियो। नेटफ्लिक्सको डकुमेन्ट्रीमा आनन्द शीलाको आकर्षणबारे पनि दाबी गरिएको छ। शीला एक भारतीय थिइन् तर उनको पढाईलेखाई अमेरिकाको न्युजर्सीमा भएको थियो। ओशोसँग जोडिनुभन्दा अघि उनले एक अमेरिकीसँग विवाह गरेकी थिइन्।
ह्युजलाइ लाग्छ अाेरगेन अाश्रम अाेशाेकाे गलत निर्णय थियाे
ह्युजलाइ लाग्छ अाेरगेन अाश्रम अाेशाेकाे गलत निर्णय थियाे
ह्युग त्यतिबेला भगवानको सुरक्षाका साथै आश्रमको क्यान्टिन चलाउन शीलालाई सहयोग गरिरहेका थिए। क्यान्टिनको काम बढ्दै गएको थियो। किनभने आश्रममा आउने भक्तको संख्या लगातार बढिरहेको थियो। उनी र शीलाबीच करिब एक महिना गजबको प्रेम सम्बन्ध चल्यो। पछि यो कुरा शीलाका पतिसम्म पुग्यो। र पतिले रजनीशलाई यो सम्बन्ध टुटाउन रजनीशसँग आग्रह गरे। यो पछि शीलाको व्यवहार ह्युगप्रति परिवर्तन भयो। यो उनका लागि निकै अप्ठ्यारो परिस्थिति थियो। आश्रममा शीलाको कद यति छिटो रफ्तारमा बढ्यो कि छिटै उनी लक्ष्मीको स्थानमा रजनीशको निजी सचिव बनिन्।
भारतबाटै विवाद सुरु
ओशो आश्रमलाई भारतबाट अमेरिका सार्नुपर्छ भन्ने फैसलामा जो जो व्यक्तिहरुको भूमिका थियो ती मध्ये एक मुख्य थिइन् शीला। भारतमा रजनीशका गतिविधिलाई लिएर विवाद बढ्न थालेको थियो। र उनी आश्रम कुनै एकान्त ठाउँमा नयाँ शिष्यका साथ नयाँ समुदाय बसाउन चाहन्थिन्। शीलाले १९८१ मा अमेरिकाको ओरगेन राज्यमा जमिन खरिद गरिन्। उनी चाहन्थिन् कि सन्यासी यहाँ आएर काम गरुन् र राजनीशको मान्यताअनुसार एउटा सहर बसाउन्।
रजनीशलाइ न्युजर्सीबाट अाेरगेनका लागि विदाइ गर्दै सन्यासी
रजनीशलाइ न्युजर्सीबाट अाेरगेनका लागि विदाइ गर्दै सन्यासी
ह्युग भन्छन्, ‘ओशाे ओरेगेन जाने निर्णय एउटा ठूलो गल्ती थियो। त्यो एउटा गलत बाटोतर्फको यात्रा थियो।’
अमेरिका बसाइँ सराइपछि शीला र उनका निकटस्थहरुले जे गरे त्यो निकै खतरनाक थियो। ‘ती कामहरु उनीहरुको योजनाअनुसारै भएको थियो’, उनी भन्छन्, ‘यसमा स्थानीय मान्छेलाई हैरानी दिनेदेखि उकास्नेसम्मका गल्ती भए। यहाँसम्म कि सरकारी अधिकारी हत्या गर्नेसम्मका षड्यन्त्र आश्रमबाट भए।’
एउटा स्थानीय रेष्टुराँमा सन्यासीहरुले खानामा विष मिसाउने कोसिस गरे जसमा ७५० व्यक्ति बिरामी भए। यसको उद्देश्य चुनाब प्रभावित गर्नु थियो। रजनीशका शिष्यहरुको अर्को भनाइ पनि छ। स्थानीय अधिकारीले रजनीश सन्यासीलाई हैरान पारे। उनीहरु रुढिवादी प्रशासनको सिकार बनाइए। तर ह्युग भन्छन्, ‘आश्रमका मान्छेले यो हैरानी आफैँ सिर्जना गरेका हुन्। शीलालाई स्थानीय कानुनको कमै जानकारी थियो जसले गर्दा धेरै समस्या उत्पन्न भए।’
सन् १९८२ पुग्दा नपुग्दै ह्युगलाई आश्रमका गतिविधि देखेर छक्क लाग्न थालेको थियो। अस्टियोप्याथको रुपमा काम गरिरहँदा उनलाई लाग्न थालेको थियो, ‘आश्रममा प्रेम, करुणा र ध्यानका लागि कुनै स्थान छैन।’ जो सन्यासीले आश्रम स्थापनाका लागि हप्तामा ८० देखि १०० घन्टा काम गरेका थिए उनीहरु बिरामी पर्न थालेका थिए। ‘बिरामी सन्यासीका लागि शीलाले उपचारका लागि जुन निर्देशन दिएकी थिइन् त्यो अमानवीय थियो’, उनी भन्छन्, ‘उनीहरुलाई एउटा इन्जेक्सन दिएर काममा खटाउन उनले निर्देशन दिएकी थिइन्।’
राेल्स राेय गाडीका साथ भगवान रजनीश र शीला
राेल्स राेय गाडीका साथ भगवान रजनीश र शीला
त्यतिबेला ह्युगका एक मित्र डुंगा दुर्घटनामा घाइते भए। उनी घाइते साथी भेट्न जान चाहन्थे। तर दिइएन। ‘मलाई लाग्यो हामी राक्षसमा बद्लिँदै गएका छौं। मैले आफैँसँग सोधेँ म यहाँ किन बसिरहेको हुँला?’ ह्युगले सन् १९८२ मा आश्रम छोडे।
आश्रम छोडेपछि पनि उनको जीवन सहज भएन। नयाँ जीवन सुरु गर्नुभन्दा अगाडि उनी ६ हप्ता अस्पताल भर्ना भए। मनोवैज्ञानिक परामर्श लिए।
सन् १९८५ देखि ह्युग क्यालिफोर्नियामा बस्दै आएका छन्। वाइल्ड वाइल्ड काउन्ट्रीमा जे देखाइएको छ त्यो उनले ओरगेन छोडिसके पछिको कथा हो। उनलाइ शीलाका गतिविधिबारे सबै जानकारी छैन। तर शीलाले जे गरिरहेकी थिइन् त्यो सब ओशोलाई थाहा थियो त ?
‘मलाई कुनै शंका छैन… ओशालाई सब थाहा थियो’, बीबीसीसँग उनले भने।