eNepal

कथा: मुलाको अचार

मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । उनको सामाजिक संसार उनलाई कसैले सम्झेर बोलाएका स्वस्थानी कथाका सांगेहरु, ग्रहदशा कटाउने पुजाहरु, बिहे, ब्रतबन्ध र यी र यस्तै पुजाआजा हुन् । भर्खरै गाउँकै एउटा सहकारीमा सदस्य भएकी छन् । त्यो उनको बाहिरी संसार हो ।

हो, मेरी आमाले धेरै कुरा जान्दिनन् । पढेकी भए केहि पढेर जान्दिहुन् । पढ्ने जमाना थिएन । टिभीमा समाचार र सिरियल हेरेर आधा उधि बुझ्छिन् र त्यसैले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउछिन् । त्यसमा उनलाई ठुलो गर्व छ किनकि उनको घरमा पनि छिमेकको जस्तै टिभी छ । केवल छ । उनलाई फेसबुक छ भन्ने थाहा छ तर त्यहाँ के कस्ता काम हुन्छन् थाहा छैन । गाउँका ठुला साना केटाकेटी त्यसैको लतमा लागेर बिग्रेका छन् भन्ने सुनेकी छन् ।

मलाई औधि अचम्म लाग्छ त्यति ज्ञानको जगमा कसरि यत्रो दुखको भवसागर छिचोली होलिन् उनले । हामि साना हुँदा स्याहार्न कै सास्ती, ठुला भए पढाउनु, लुगाफाटा, दैनिक खर्च र घर ब्यबहारको चिन्ता । आम्दानि छैन, खर्च चारैतिर छ । खेतीपाती, मेला पर्म, अधिया खेती, छिमेकी र आफ्ना भन्नेकै पधेरे कुरा, आफ्नै घर भित्रको गनगन् । कसरी सकिन ति सबै कुराहरुलाई पार लगाउन ?

मेरी आमा साधारण छन् । यताउता धेरै सोच्दिनन् । मनमा आएको राम्रो नराम्रो भनि दिन्छिन् । त्यो पनि मनमा अति नै भएपछी । मलाई थाहा छ उनको माग सानो छ । “बुढेसकालमा अलिकति सुख पाए हुने । अलिकति सजिलो भए हुने” भन्ने नै उनको सर्वोच्च माग हो । म बुझेर पनि न बुझे झैँ गर्छु । आफ्नो दुनियाँमा म यसरि डुबेको छु कि उनको सानो कुरामा पनि म फ्याट्ट उनलाई मुख फर्काउछु । तर उनि चुप लागेर सुन्छिन् । कहिले कपडा पट्याए झैँ गरि मेरा कुराहरुलाई पन्छाउछिन्, कहिले बा लाई बोलाउने निउमा मेरा कुराहरु टारीदिन्छिन् ।

कसरी सिक्दछिन् त्यस्ता तरिका उनले । मनमा त हुँदो हो भन्नु पर्ने के हो ? हुनु पर्ने के हो ? तर मेरो चित्त नदुखाउन आफ्नो चित्त ठुलो बनाउछिन् र भन्छिन् “पछी छोराछोरीको बिहे भएपछी बुझ्लास, अहिले काँचै छस्” । मेरा आँखा, अनुहार, हिडाई, बोलाइ, बसाइ, हेराइ सबैबाट मेरो हालत पत्ता लगाउछिन् उनि । तर उनको कुरा भने मैले कतैबाट पनि केहि मेसो पाउदिन ।

सानोमा लाग्थ्यो मेरी आमा सबथोक जान्दछिन् । पछी ठुलो भएर जागिर खाएर बिहे गरे पछी थाहा भयो मेरी आमा केहि जान्दैनन् । बरु मेरी बुढी सब जान्दछिन् । मेरी आमा खान, लाउन, बोल्न, अथिति सत्कार, लुगा धुन, पट्याउन केहि जान्दिनन् । हामि बुढाबुढीलाई लाग्छ आमा गाउँले गवार जस्ती छन् । आमाको संगत गरेर मेरा केटाकेटी नै बिग्रेलान् भन्ने पो चिन्ता लाग्छ । त्यसैले लामो बिदा नै किन नहोस, आमाले जतिपटक भने पनि गाउँको उनको घरमा आफ्ना केटाकेटीहरुलाई कहिल्लै पठाउदिन ।

तिनै आमा मेरो घरमा केहि दिनको पाहुना भएर आइन् ।

मेरी आमा आएकोमा म आफै दुबिधामा छु । मनले आफ्नै आमा आए झैँ लाग्छ तर व्यवहारमा एउटा झन्झट आइपरे जस्तो । एउटा मनले उनि बसिदिए हुन्थो जस्तो लाग्छ । अर्को मनले उनि बस्ने बाताबरण बनाउन दिदैन । त्यसैले होला पाहुना बनेर आएकी आमालाई मेरो व्यस्त दैनिकीमा अलिकति छुट्टै समय कहिले निस्केन । उनै गनगन, उनै गुनासा, उनै पुराना कुरा सुन्नका लागि किन चाहियो मेरो यस्तो व्यस्त जीवनको मुल्यवान समय ? म र मेरी बुढीको सल्लाह पनि यसमा ठ्याम्मै मिच्छ ।

म र मेरो परिवारको बेवास्ता र व्यस्ततालाई पनि उनले सजिलै ब्यबस्थापन गर्छिन् । कहिले खालि हात बस्दिनन् । कहिले के कहिले के गरेर आफुलाई व्यस्त बनाइ राख्छिन् । सधै व्यस्त हुने भएको बानीले होला उनि खालि बस्नै सक्दिनन् । गाउँको मानसिक र शारीरिक थकानपूर्ण जीवनलाई केहि दिनको सुबिस्तामा बस्न पनि उनलाई मनले दिदैन होला ।

एकसाता बस्दा मलाई मेरी आमाको भन्दा मेरी बुढीको ज्यादा चिन्ता लाग्दथ्यो । मेरा केटाकेटी ज्यादा माया लाग्दथ्यो । कहिलेकाँही त आमाको गनगन सुन्नु पर्छ भनेर कामबाट ढिला पनि आए । कहिले झर्केर बोले । उनि चुप लागेर बसिन् । यो अनौठो शक्ति कताबाट आउँदो हो उनमा, मलाई डाहा पनि लाग्छ ।

एक सातापछी आमा फर्किने बेलामा भनिन्, “छोरा तिमीलाई मुलाको अचार मन पर्छ । त्यसैले दुई बोतल बनाएर राखीदिएको छु । तीन चार दिनपछी खाने हुन्छ” । म भावशुन्य भएर सुने । मेरा केटाकेटी र बुढीले केहि बुझे, केहि बुझेर पनि बुझेनन् । हो, मलाई आमाले बनाएको मुलाको अचार, काँक्राको अचार र आलुको चुकौनी असाध्यै मन पर्छ । केटाकेटी उमेर अझै भनौं बिहे नहुँदासम्म म मेरी आमाका पकवानहरुको बारेमा साथीभाई माझमा प्रशंसाको पहाड नै बनाइ दिन्थे । अहिले चाहेर पनि सत्य बोल्ने आँट आउदैन ।

आमा गईन् ।

मेरो सफा सुग्घर र सजिलो घरमा बस भन्दा नि आफ्नै पुरानो, अँध्यारो घर नछाड्ने आमाको ढिपी मैले कहिले बुझ्न सकिन ।

उनि बसुन्जेल बडो झन्झटिलो लाग्थ्यो उनि र उनको व्यवहार अनि गाउँले लवजको बोलीचाली । तर जब गईन् अनि त हरेक दिन जब भान्सामा उनले बनाएको मुलाको अचारका बोतलहरु देख्छु, लाग्छ उनि यतै वरिपरि नै छन् । अचार त मेरी बुढीले पनि बनाउछिन्, बजारमा पनि थरिथरिका अचार किन्न पाइन्छन् तर ति अचारमा आमाको गन्ध कहाँ हुन्छ ? आमाको गाली मिसिएको माया कहाँ हुन्छ ? माया मिसिएको स्वाद कहाँ हुन्छ ?

आमा हिडे पछी ।

अलिकति परेपछी, अलिकति अरुको देखे पछी बल्ल थाहा भयो आमा त सब जान्दिरहिछन् । जानेर पनि नजाने झैँ गरेर, सुनेर पनि नसुने झैँ गरेर, बोल्न रोकेर, आफ्नो मनमै आफ्ना कुरा बोकेर पनि केहि नजान्ने झैँ भएकी रहिछन् ।

त्यसपछि फेरी आमालाई बोलाउने केहि कोशिस गर्छु तर पनि उनि गाउँको अँध्यारो घर छाडेर मेरो सुकिलो घरमा आउन मान्दिनन् । मैले उनलाई फर्काउन सक्दिन । मलाई थाहा छ उनका मागहरु । ति स-साना मागहरु मेरा स्वार्थले मान्न दिदैंन । आफ्नो अनुभव र आफैले पटक पटक भोगेको घटनाहरुका कारण उनका पाइला अगाडी बढ्दैनन् । म सबै बुझेर र जानेर पनि लाचार नौटंकी गरिरहेको छु । उनि नबोल्दै सबै कुरा बोल्छिन् । म उनका हावभाव र संकेत बुझेर पनि अबुझ बनेर बुझ पचाउँछु ।

आमाले अचार खाँदेर छाडेका ति दुई बोतलहरु भान्सामा देख्दा आमा आफ्नै वरीपरी भए झैँ लाग्छ । बोतलमा आमाको बास्ना अझै उस्तै छ जस्तो लाग्छ । अचारमा मेरी आमाका दुई चारवटा कपालका लामा रौंहरु समेत भेटिन्छन् । म बालककालमा पुग्छु, अनि मलाई त्यो अचार झनै मन पर्छ । हरेक दिन बेलुकी म तिनै बोतलहरुलाई खुसुक्क हेर्छु र ढुक्क हुन्छु कि आज पनि ति त्यहि छन्, मेरी आमा घरमै छन् ।

अलिकति समयको अन्तरालमा मलाई उनको जवाफ थाहा हुँदाहुदै पनि म फेरी आमालाई पाहुना हुन बोलाउछु । उनि पनि मेरो आशय बुझेर पनि फेरी उही उत्तर फर्काउछिन् । म उनको लागि बदलिन नसक्ने अबस्थामा छु, उनि मलाई उही आफ्नो पुरानो छोराको रुपमा हेर्न चाहान्छिन् । हामि सानो कुरामा ठुलो कुरा गुमाईरहेका छौं समयसंगै ।

लेखक: लेखनाथ काफ्ले

–ताइपेइ, ताइवान

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349