eNepal

सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने

सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि १५ सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो । 

प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला र युवा तथा खेलकूद मन्त्रालय, भूमि सुधार मन्त्रालय, शहरी विकास मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिबीच पटक-पटक भएको छलफल एवम् जग्गा अनुमगनपछि सरकारले रंगशाला निर्माण क्षेत्रको पहिचान गरी कार्य अगाडि बढाएको हो । 

सूर्यविनायक नगरपालिका-१० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका-९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त तथा जग्गा पहिचान, अध्ययन तथा छनौट कार्यदलका सहसंयोजक नवराज प्याकुरेलले बताए । 

जेठ मसान्तभित्रमा कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउने बताउँदै प्याकुरेलले सूर्यविनायक र चाँगुनारायणका पाँचवटा वडालाई नयाँ नगर योजना (इशान) कार्यक्रम अन्तर्गत विकास गर्ने गरी सार्वजनिक जग्गाको पहिचान गरिएको बताए । 

उनका अनुसार रंगशाखा निर्माण गरिने जग्गा अधिकरण गरिने र अधिकरण गरिएको जग्गाका जग्गाधनीलाई नयाँ नगरयोजना अन्तर्गत व्यवस्थित आवास र जग्गामा स्थानान्तरण गरिने छ । 

रंगशाला निर्माणका लागि नयाँ नगर योजना अन्तर्गत चाँगुनारायणको वडा नं ८ र ९ तथा सूर्यविनायक नगरपालिका-८, ९ र १० लाई छनौट गरिएको छ । त्यही क्षेत्रमा रहेका सार्वजनिक जग्गालाई व्यवस्थित जग्गा र आवासको रुपमा विकास गरी अधिकरण गरिएका जग्गाका जग्गाधनीलाई हस्तान्तरण गरिने योजना छ । 

प्रतिनिधिसभा सदस्य बस्नेतले रंगशाला निर्माणका लागि पहिचान भइसकेको जग्गा व्यवस्थित गरी ल्याण्ड पुलिङमार्फत त्यसको उचित मुआब्जा दिने र विस्थापित हुने अवस्थामा पुगेका बासिन्दाको हकमा घर बनाइदिएर बसोवास सहितको स्थानान्तरण गर्ने योजना रहेको बताए । रंगशाला बन्ने क्षेत्रमा रहेको घर र इँटाभट्टा हटाइने भएको छ । 

सरकारले रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजनमा भूमिसुधार मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराई सदस्य सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेल सहसंयोजक, शहरी विकास मन्त्रालयका उपसचिव, राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनियर, दुवै नगरपालिकाका प्रमुख र सम्बन्धित वडाका अध्यक्ष रहने गरी १५ सदस्यीय जग्गा पहिचान तथा छनोट समिति गठन गरी काम अगाडि बढाएको छ । 

युवा तथा खेलकूद मन्त्रालयले सो समितिलाई जेठ मसान्तभित्रमा जग्गा छनोट गर्न, जग्गामा विवाद भए टुंग्याउन, कूल क्षेत्रको नक्सांकन गर्न, सार्वजनिक एवं पर्ति जग्गालाई छुट्याउन, घर कति छ, सबै अध्ययन अनुगमन गरेर त्यसको रिपोर्ट बुझाउन निर्देशन दिएको छ । 

अन्तराष्ट्रियस्तरको रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने गरी काम अगाडि बढाइने भएको छ । त्यो रंगशालामा तीनवटा खेल मैदानमध्ये एउटामा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन हुनेछन् भने अन्य दुईमा राष्ट्रिय खेल सञ्चालन हुनेछन् । 

पचास हजार दर्शक क्षमता रहने यो रंगशालामा २५ हजार मोटरसाइकल, १० हजार चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ भने अन्य विभिन्न भौतिक पूर्वाधार समेत निर्माण गरिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । 

खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको जानकारी दिए । उनले जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै जग्गा पाउनासाथ निर्माणका लागि बोलपत्र आह्वान शुरु गरिने बताए । सरकारले आर्थिक वर्ष २०७५/७६ मा खेलकूदका लागि मात्र तीन अर्ब ७५ करोड विनियोजन गरेको छ । रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349