न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । डा. देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।
उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाले बताए ।
डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको सिइओ वसन्त देवकोटाले जानकारी दिएका छन् । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको छ ।