संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ ।चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक ढकालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनी साथीहरुसँग नियमित रुपमा तालमा जाने गर्थे । उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए ।चारवर्ष अगाडि अमेरिका आएका विवेक यसैवर्ष घर जाने तरखरमा थिए तर कसैले पनि नचिताएको कुरा भयो ।उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए । तर, अहिले उनको शव कसरी नेपाल लैजाने भन्ने चिन्ता रहेको साथीहरुले बताएका छन् ।
टेक्सासस्थित नेपाली समाजका प्रयास बास्तोलाका अनुसार विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।समाजले विवेकका आठजना साथीहरुसँग मिलेर उनको शव नेपाल लैजाने व्यवस्था गर्न पैसा उठाउन लागेको जनाएको छ । त्यसको लागि क्राउड फण्डिङमार्फत रकम संकलन गर्न गो फण्ड मीमा अभियान सुरु गरिएको छ ।