eNepal

ननलाईन पत्रकारिता’ र धुर्मुसेको लेटेस्ट हिसाब-किताब…

म धुर्मुसको प्रबक्ता होईन, फाउन्डेसनको कार्यकर्ता पनि हैन तरपनि उ सफल हुँदा मेरो छाती गर्वले ढक्क फुल्छ, असफल हुँदा पिरले अनुहार चाउरिन्छ । किनभने, धुर्मुस मेरो भाइ हो, सहकर्मी हो, सहयोगी हो । २०५६ को गौरादहमा भएको  मेरो कार्यक्रमको स्वयंसेवक ‘सिताराम’देखि हालको कलाकार अभियन्ता ‘धुर्मुस’सम्मलाई म चिन्छु । गिरानचौर निर्माणदेखि वीर अस्पताल सफाईसम्म हामी सँगसँगै छौँ ।

 सिस्नुपानी देउसी

यी अभियानप्रती लाखौं शुभ-चिन्तकहरुको ठूलो सहानुभूति छ । यो समुह एउटा बलियो सामाजिक शक्तिको रुपमा उदाएको छ । धुर्मुस त्यसको एउटा पिलर हुन् । पिलरलाई दह्रो बनाउने बागमती सफाई अभियान, सिस्नुपानी नेपाल, धुर्मुस-सुन्तली फाउन्डेसन, खेम्स क्लिनिङ लगायतका सिमेन्ट, बालुवा र इटाहरु छौँ  । तिनै एक पिलरको सेवाभाव तथा इमानदारितामाथी सवाल उठ्दा जवाफ दिने दायित्व हाम्रो पनि हो ।

१.फाउन्डेसनको हिसाब-किताब त गोलमाल छ रे त ?

– धुर्मुसले भन्दै आएकाछन् , एक पैसा तलमाथी भएको प्रमाण भेटिए मर्न तयार छु । त्यसलाई नियमन गर्ने सरकारी निकायलाई शंका लागे अनुसन्धान थालिहाल्नु पर्छ । कोहीपनी बित्तिय अनुशासनभन्दा माथी हुन सक्दैन । शक्तिशाली पत्रकारिता क्षेत्रले खोजबिन पनि गर्नसक्छ । तर हचुवाका भरमा कसैको इमेजलाई ड्यामेज पार्ने ‘ननलाईन पत्रकारिता’ भने खेदजनक छ ।

 २.  सरकारभन्दा माथी हुन खोज्यो रे नि त ?

– यदि धुर्मुसले मनको कुनै कुनामा त्यस्तो केही सोचेका छन् भने त्यो उनको गम्भीर गल्ती हुनेछ । तर मैले चिनेको धुर्मुसले त्यो स्वैर कल्पना गरेको छ जस्तो लाग्दैन । राज्यले चाह्यो भने ठुल्ठुला आन्दोलन त दबाउँन सक्छ भने एउटा अभियानलाई कमजोर नपार्ने कुरै भएन । तर राज्यलाई हाम्रो सुझाव छ, सामाजिक अभियान एउटा सकात्मक शक्ति हो । यस्लाई कुनैपनी नाममा निरुत्साहित पार्नुहुन्न । नत्र यस्ता अभियानहरु अराजकतातिर गएर राज्यलाई नै अपठ्यारो पार्ने हैसियत राख्दछन् ।

३. समाजसेवा गरे भैहाल्यो नि, धेरै प्रचारमुखी  किन हुनु  ?

– हो । सेवा आत्म-सन्तुष्टिका लागि हुनुपर्छ,  आत्म-प्रचारका लागि हैन । चुपचाप चारआना, हल्ला गरे बाह्रआना भन्छन् । तर, धुर्मुसको अभियान जनताको सहयोगबाट चलेको हुनाले प्रचार एक हदसम्म जरुरी थियो तर अब कम गर्नुपर्छ । समता शिक्षा अभियानका उत्तम सन्जेललाई हेरौं । उनले ७५ हजारभन्दा बढीलाई जम्मा एकसय रुपैयाँमा पढाइ रहेकाछन्, त्यो पनि नर्सरीदेखी नर्ससम्म ! न उनी समाचारका हेड लाईन बन्छन्  नत न्युज मेकर हुन्छन् । उत्तम सन्जेल चुपचाप सिङ्गै सार्क राष्ट्रमा शिक्षाको क्रान्ती गर्दैछन् । यसरी काम गर्नुपर्छ ।

 ४. कलाकारले त कलाकारिता पो गर्ने त, दायाँ बायाँ किन ?

– किनकी कलाकार राष्ट्रको सर्वाङ्ग हो । उसलाई राजनितीदेखी समाजसेवा, उत्प्रेरणादेखी आन्दोलन, सबै कुराको जानकारी हुन्छ । जहाँ आवस्यकता पर्छ, कलाकारले आफुलाई सोही अनुसार ढाल्न सक्छ । कला जनताको खुशिको लागि हो भने समाजसेवा जनताको सुख र आफ्नो खुशिका लागि हो ।  सेवाबाट प्राप्त हुने आनन्द ‘उध्योग-धन्दा’बाट प्राप्त हुने नाफाभन्दा मीठो हुन्छ । एउटा कुराचाहि सत्य हो, समाजसेवालाई ‘दोकान’ बनाउनु भएन ।  हामी सबैले जोगिनु पर्ने ठाउँ यही हाे ।

५. अनि किन प्रश्न उठ्यो त धुर्मुसमाथी ?

– प्रश्न उठ्नु पर्छ त्यसैले उठ्यो । जनताले हरेकलाई प्रश्न गर्नुपर्छ । जनता चुपचाप बस्यो भने राज्य तानाशाही र ब्यक्ती भ्रष्ट हुन्छ । तर अहिले उठेका प्रश्नहरु सुधार्ने भन्दापनी उधार्ने किसिमले आएका देखिन्छन् । धुर्मुसले पनि एउटा कुरो बुझ्नुपर्छ, अग्लो मान्छे झुक्न छोड्नु हुन्न । बाँकी, कोहि कसैको लोकप्रियताबाट जलेर, चर्चाबाट अतालिएर, सफलताबाट लोभिएर प्रश्न उठाउनेहरुलाई चाहिँ यतिमात्र भन्न सकिन्छ, सबैले आ -आफ्नो कर्मको फल पाउने हो । अर्काको लोकप्रियतालाई आफ्नै सफलता ठान्दा मनमा आनन्द आउँछ, जल्न थाल्दा रोग लाग्छ ।

६. धुर्मुसेले अब के गर्छ,  कलाकारिता कि समाजसेवा ?

– दुबै गर्नु पर्छ । दुईचार ओटा आलोचना, आठ दशवटा बिरोध, बाह्र चौधवटा प्रश्नहरुले शक्तिशाली स्रस्टाको आत्मबिश्वास हल्लिनु हुँदैन । सत्य रुँन खोज्दा सम्हाल्ने हजारौं साथहरु छन् । इमानदारिता ढल्न खोज्दा उठाउने लाखाैं हातहरु हुन्छन् 

 

गिरान्चौर नमुना बस्ती

समाजसेवाको क्षेत्रमा उसले  आफ्नो स्थान उँचाे बनाएको छ तर धुर्मुस पहिला कलाकार अनि मात्र समाजसेवी हो । अब समाजसेवाको क्षेत्रबाट हात लागेको प्रतिष्ठालाई संरक्षण गर्दै समाज उपयोगी कलारितालाई नै काँधमा बोक्नु पर्छ । लाखौं जनता हाम्रो हाँसाे कुरि रहेकाछन् , दुईचार वटा नकारात्मक मान्छेका कुरामा किन चित्त दुखाउनु  हौ जेठा ! हैन त माईला ?

साभारः गजुरियल डटकम

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349