गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक टोलीले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना,गृह मन्त्री राम बहादुर थापा “बादल“, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र कानुन मन्त्री शेर बहादुर तामाङ्ग संग छुट्टा छुट्टै भेट गरी संविधानमा भएको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था लागु गर्नका लागि आवश्यक कानुनहरु यथाशक्य छिटो ल्याउने व्यवस्था मिलाउन अनुरोध गर्यो । भेटघाटका अवसरमा अध्यक्ष भट्टले विश्वभरी छरिएर रहेका नेपालीलाई नेपाल संग जोड्ने र नेपालको समृद्धिका लागि गरिने काममा साझेदार बनाउने पवित्र उद्देश्यका साथ अघि बढेको गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालाई आत्मसाथ गरेको बताउनु भयो । उहाँले नेपालको संविधान संविधानले गरेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी शिघ्र कार्यान्वयनका लागि अनुरोध गर्नु भयो ।
संघका उपाध्यक्ष कुल आचार्यले संविधानको व्यवस्था कार्यान्वयनका लागि ऐन नियमको तर्जुमा आवश्यक भएको र सरकारका सम्बन्धित निकायले ऐनको तर्जुमा गरिरहेको भन्ने बुझिएकोले ऐनमा संविधानको भवाना अनुसार व्यवस्था गरिदिन, प्रकृयाहरु प्रष्ट तोकिदिन र भविष्यमा व्यक्तिपरक व्याख्या हुन सक्ने अवस्था आउन नदिने गरी कानुन बनाईदिन अनुरोध गर्नु भयो । साथै उहाँले त्यस्तो नागरिकता पाउने व्यक्तिले अन्य नेपाली नागरिक सरह आर्थिक सामाजिक एवं साँस्कृतिक अधिकार उपभोग गर्ने र अरु नेपाली नागरिक जस्तै देश विदेशमा समेत नेपाल सरकारले प्रदान गर्ने राहदानी बोकेर हिड्न पाउने व्यवस्था गरिदिन समेत अनुरोध गर्नु भयो । भेटमा संघका सहकोषाध्यक्ष सोम सापकोटाले गैरआवासीय नेपालीहरु बाट मुलुकले फाइदा सक्ने भएकोले सम्बन्ध तोड्ने होइन जोडनका लागि पहल गर्नु पर्ने धारणा राख्नु भयो ।
भेटघाटमा गैरआवासीय नेपाली संघको तर्फबाट संघको आयोजनामा आगामी दिनमा अमेरिकाको सान्फ्रान्सिस्कोमा हुन लागेको क्षेत्रीय विज्ञ सम्मेलन, लग्जेम्वर्गमा हुने युरोपियन क्षेत्री बैठक तथा महिला भेला र काठमाडौंमा हुने विश्वव्यापि विज्ञ सम्मेलन आदिका बारेमा समेत जानकारी गराईएको थियो । भेटमा वैदेशिक रोजगारमा गएकाहरुको समस्या बारे पनि जानकारी गराईएको थियो ।
साभार: नेपाल वेभ