सम्माननीय राष्ट्रपतिज्यू,
खै कहाँबाट सुरु गरौँ, यो देशको भद्रगोल अवस्थाबारे लेख्न । हुन त यसबारे मभन्दा तपाईं नै बढी जानकार हुनुहुन्छ जस्तो लाग्छ । महामहिमज्यू, कुरा ११औँ गणतन्त्र दिवसको हो । तपाईं गणतन्त्र दिवस मनाउन राजसी शैलीमा शीतलनिवासबाट टुँडिखेलतर्फ जाँदा आमजनताले कति सास्ती खेप्नुप-यो भन्ने एकचोटि ख्याल गर्नुभयो त ?
मलाई लाग्छ, तपाईंले पक्कै ख्याल गर्नुभएन होला । किनकि, तपाईं आफूलाई विगतका महाराजाभन्दा कम सोच्नुहुन्न । महामहिमज्यू, तपाईं साँच्चै जनताका राष्ट्रपति हुनुहुन्छ भने एकचोटि गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ । राष्ट्रपति पद तपाईंलाई न कसैले उपहार दिएको हो, न जन्मसिद्ध अधिकारमै तपाईंले पाउनुभएको हो ।
जनताको बलिदान, त्याग र सहयोगबाट जन्मेको गणतान्त्रिक नेपालका राष्ट्रपतिले निरंकुशता लाद्दै राजसी शैलीमा तिनैलाई अनावश्यक दुःख दिनु कति जायज होला ? महामहिमज्यू, हुन त तपाईंलाई मैले अनावश्यक कुण्ठा पोखेको लाग्ला, तर यो मेरो व्यक्तिगत कुण्ठा होइन, आमजनताले भोगेको वास्तविकता हो ।
गणतन्त्र दिवसका दिन बिहान १२ बजेसम्मको ड्युटी सकेर डेरातिर जान १२ः३० मा जमल पुग्दा सडक जताततै अस्तव्यस्त थियो । सवारीसाधनको निकै लामो जाम थियो । नेपाल चेम्बर अफ कमर्सको छेउबाट मैले २३ नम्बर रुटको नेपालटार जाने बस समाएँ ।
करिब ५० मिटर गुडेपछि बस घ्याच्च रोकियो । यताउति हेर्दा जताततै अस्तव्यस्त सवारीसाधन थिए । लामै समयसम्म बस नगुडेपछि सहचालकलाई सोधेँ– केको जाम हो भाइ ? उनले जवाफ दिए– आज राष्ट्रपतिको सवारी । जामका कारण गाडी नगुडेपछि गाडीभित्र यात्रुको चाप खचाखच थियो । गर्मीले असिनपसिन हुँदै पसिना पुछ्दै थिए, उभिएका यात्रु ।
कोही दिक्क मानेर सरकारलाई गाली गर्दै थिए । ३–४ वर्षका एक बालक चिच्याइरहेका थिए, पानी–पानी भन्दै । न त्यहाँ पानी किन्न सक्ने अवस्था थियो, न त गाडीमा अरू कोहीसँग पानी नै थियो । निकैबेर चिच्याएपछि ती बालक थाकेर आमाको काखमा निदाए । मेरो व्यथा भने बेग्लै थियो । बिहान ५ बजे कोठामा छाडेको ६ महिने दुधे छोरो आमा खोज्दै घरमा रोइरहेको थियो ।
घरबाट तारन्तार बाबु रोयो भनेर फोन आइरहेको थियो । यता आफू भने गाडी चढेको ४५ मिनेटमा बल्ल जमलबाट केशरमहलसम्म पुगेको थिएँ । फोनमा छोराको रुवाइ सुनिरहेको थिएँ । मन भक्कानु पार्दै जाम खुल्ने आशमा तड्पिँदै थिएँ ।
जमलबाट डेरासम्मको आधा घन्टा लामो बाटोमा एक घन्टासम्म लैनचौरमै हुनुपर्दा त्योभन्दा ठूलो विडम्बना के होला ? तपाईंको सवारीमा मेरो दुधे सन्तानको के दोष थियो महामहिमज्यू ? आमा आउँछिन् र अघाउन्जेल दूध खाउँला भनेर रोइरहेको मेरो निरीह छोरो तपाईंको राजसी सवारीको सिकार हुनु गणतन्त्र नेपालकै दुर्भाग्य होइन ?
महामहिमज्यू, देशमा गणतन्त्र ल्याउन मेरो बा सरकारी जागिर तिलाञ्जली दिई ज्यानको बाजी थापेर लडाइँमा लामबद्ध भएका थिए । त्यही लडाइँमा लामबद्ध भएका मेरा काका र फुपू शरीरमा गोलीको छर्रा बोकेर बाँचिरहेका छन् ।
हामी जतिवेला पीडामा तड्पिँदै थियौँ, तपाईं सायद गणतन्त्र असफल बनाउने गृहकार्यमा हुनुहुन्थ्यो होला । तर, समय तपाईंको पोल्टामा पोखियो । र, तपाईंले गणतन्त्र नेपालका पहिलो महिला राष्ट्रपति बन्ने मौका पाउनुभयो ।
गणतन्त्र ल्याउन देशमा जनयुद्ध चल्दै गर्दा लाग्थ्यो, गणतन्त्रपछि सबैले सुख पाउँछन् । स्वतन्त्र हिँड्न र बोल्न पाउँछन् । जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री भएपछि हुकुमी शासन अन्त्य हुन्छ । तर, मेरो बुझाइ गलत रहेछ महामहिमज्यू ।
महामहिम राष्ट्रपतिज्यू, कृपया घन्टौँ सडक बन्द गराएर, जनतालाई सकसमा पारेर रित्तो सडकमा सानले हुइँकिने रहर नगर्नुहोस्
आजभोलि तपाईंको हरेक क्रियाकलाप हेर्दा पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रभन्दा फरक अनुभूति पक्कै जनताले गर्न पाएका छैनन् । हो, देशका विशिष्ट व्यक्तिको सुरक्षामा राज्यले ध्यान दिनुपर्छ ।
तर, घन्टौँ सडक खाली गराएर जनतालाई किन दुःख दिइरहनुभएको छ, महामहिम राष्ट्रपतिज्यू ! गणतन्त्र ल्याउन सर्वस्व गुमाएर लागेका जनता गणतन्त्र दिवसकै दिन तपाईंको राजसी सवारीको सिकार भइरहेका थिए । राष्ट्रपतिज्यू, मेरो विनम्र आग्रह, तपाईं राज्यबाट पर्याप्त सुरक्षा लिनुहोस् । कति प्रहरी खटाउनुपर्छ खटाउनुहोस् ।
तर, कृपया घन्टौँ सडक बन्द गराएर, जनतालाई सकसमा पारेर रित्तो सडकमा सानले हुइँकिने रहर नगर्नुहोस् । आफू जहाँ जानुपर्ने हो, त्यहाँसम्म शीतल निवासबाट सीधै हेलिकोप्टरमा जाने व्यवस्था मिलाउनुहोस् न । यत्ति त गर्न सक्नुहुन्छ नि ?
उही तपाईंकी शुभचिन्तक
संगीता पनेरू