eNepal

टुरिष्ट लोग्ने

भर्‍याङ्ग ओर्लँदै गर्दा ऊ चिप्लिई र डङ्गग्रङ्ग पछारिई । भर्‍याङ्गको अन्तिम खुड्किलोमा ठोकिएर पाखुरामा चोट लाग्यो । घुँडामा निल डाम बस्यो । नराम्ररी दुख्यो जीउ । यो घाउ भन्दा कडा थियो मनको घाउ । आखिर बुझ्नै गाह्रो जिन्दगीका उतारचढाव । उसले धेरै वर्ष सोची । प्रत्येक पल तड्पिएर बस्नु भन्दा हाँसी खुशीले जिन्दगी बिताउनु बेस । अरुको लागि बाँचिदिने हो र ! आफ्नो लागि पो बाँच्ने हो ।

 जिन्दगीका विकल्पहरु थिए । उसले धेरै सोच विचार गरेर अन्तिम निर्णयमा पुगेकी थिई । भर्‍याङ्गको अन्तिम खुड्किलोबाट अब माथि उक्लिनु पर्छ । पहिलाउनु पर्छ नयाँ गन्तब्य । बाँच्नु छ नयाँ जिन्दगी । सुरुवात गर्नु छ एउटा छुट्टै संसार । आरोजसंगको सम्बन्ध अब डिभोर्सको स्थिति सम्म पुगिसकेको थियो । एक दशक जेनतेन सम्बन्ध धानियो । अथवा, जबरजस्ती धानी उसले ।

 आरोजले महिनामा चार हजार पठाउँछ । काठमाडौंको महङ्गिमा पाँच जनाको परिवार तीन–चार हजारमा पालिन्छ ? कस्तो सोचाई ! दिउँसभरी हाड घोटेर काम गरी कमाएको पैसा उसकी बहिनीको डिमाण्ड पुरा गर्न । उसैकी आमाको औषधि उपचार गर्न । उसको भाइको पकेट मनीको लागि । छोरीको स्कुल फी को लागि । उसले पठाएको पैसाले त फ्ल्याटको भाडा तिर्न पनि पुग्दैन । आफ्नो लागि त कुरै छोडौं । बल्ल बल्ल केही पैसा जोगाएर जग्गा किनेको, त्यो पनि देवरको नाममा । उनैका लागि किनिदिएको रे आरोजले । आफ्नो लागि त केही पनि छैन ।

 देवर नन्द भन्छन्, “दाइ विदेशमा बसेर पैसा कमाउँछ भाउजु पैसा कुम्ल्याउँछिन् ।”

     बिहे भएपछिका एक दशक अमिताले यसै गरी बिताई । असन्तुष्टिमय जिन्दगी बाँची । सासु आमैको स्याहार सुसारमा । देवर–नन्दलाई खुशी राख्न । अमिता बेला बेलामा फत्फताउँथी । कसले बुझी दिन्थ्यो र उसका पीडा । आरोज टुरिष्ट झैं बनेर तीन चार वर्षमा बल्ल बल्ल डेराको घरमा झुल्किन्थ्यो ।

 सारा घरका काम भ्याएर पार्लर जान्थी । ब्युटिसियन बनेकी थिई । 

 “यस्तो लाउने खाने उमेरमा पनि तँ कति जोतिएकी । घरको काम सबै भ्याउँछेस् । आफ्नै कमाईले घर धानेकी छस् । बुढालाई पैसा पठाईदिनु भन्नु नि ।”     “आफ्नै परिवार त हो, नजोतिएर पनि के गर्नु ।”, ऊ फिस्स हाँस्थी । साथीहरु माझबाट यस्तै यस्तै प्रश्न आउँथे । ऊ प्रश्न अनुसारका जवाफ फर्काउँथी । वास्तै नगर्ने लोग्ने प्रति कम्ति गुनासो थिएन । तर बुझ्नेले कहिले बुझिदिएन । उसका परिवारले झन् के बुझ्थे ।  

 पार्लरका साथीहरु मुखामुख गर्थे । सेवाग्राही उनीहरुका कुरा सुनेर छक्क पर्थे । यस्ता कुराहरु पीडा लुकाउने बाहाना मात्र थिए । मन कत्ति भरिएको थियो.. कत्ति । 

  (केही दिन पछि ।)

“अमिता भागी ।”

    “कहाँ भागी ?”

“भागी नि झिल्केसँग । बुढोलाई छोडेर ।”

“बरै ! कति सोझो थियो लोग्ने चै । महिनै पिच्छे पैसा पठाउँथ्यो रे । 

    पैसा कुम्ल्याएर भागिछे है । 

“त्यही त। ”

 “हैन रोगी सासु स्याहारेकी थिई । काम गरेर देवर नन्द पालेकी थिई । छोरीलाई राम्रै बोर्डिङ्गमा पढाएकी थिई ।”…..“आएपिच्छे झगडा गथ्र्यो रे बुढो चै । कुटा–कुट हुन्थ्यो रे । को बस्छ र त्यसरी कुटपीट गर्न मान्छेसँग ? म भएपनि हिँडिदिन्थेँ।”, अर्कीले अर्कै तर्क राखी ।” बाँकी महिलाले हो मा हो मिलाए ।

 मानिसहरुलाई गफ गर्ने बाहाना मिलेको थियो । अमिताको विषयमा विभिन्न तर्क विर्तक हुन थालेका थिए । कसैले अमिताले ठिक गरी भने । कसैले छोरीको विषयमा चिन्ता ब्यक्त गरे । कसैले छोरीको बिचल्ली पारेर हिँडी भने । कसैले, ‘काम नलाग्ने आईमाई रहिछ’, समेत भने ।    

 एक्कासी पानी पर्न थाल्यो । अमिताको मन छट्पटाई रहेको थियो । एक मनले भन्यो, ‘तैंले गल्ति गरिस् अमिता ।’ अर्को मनले भन्यो, ‘के को गल्ती । जिन्दगी एक पटक आउँछ । खुशीमै जिन्दगी बिताउनु पर्छ ।  इच्छ्याएको जिन्दगी बाँच्नु पर्छ । कति तड्पिएर बस्नु । कति अर्काका लागि बाँच्नु ! ’ 

 उसँगै थियो सन्दिप । अमिताले रोजेको नयाँ बेहुला । घरमा सन्दिपका बाबु आमा थिए । उनीहरु बुहारी भित्राउन आतुर थिए । अमिताका सबै कुरा उनीहरुलाई के थाहा र ? 

(निकै दिन पछि …।)

 सन्दिप, अमिता, आरोज, आरोजका आमा, दिदी र बहिनी पुलिस थानामा थिए । 

 “यस्तो लाउँ–लाउँ, खाउँ–खाउँ उमेरकी श्रीमती छोडेर हिँड्ने हो त !”–प्रहरी कर्मचारी १

 “कहाँ गएको थिएँ र ? विदेश नै त हो । पैसा पठाएकै थिएँ । ”– आरोज ।

“पैसा पठाएको रे । महिनाको तीन–चार हजार । फ्ल्याटको भाडा तिर्न पनि पुग्दैन। यिनका आमा, भाइ, बहिनी कसरी पालेँ हुँला । यिनकी रोगी आमाको औषधि उपचार कसरी गरेँ हुँला ?” अमिताले कालो नीलो अनुहार बनाई । सन्दिपले थपथपायो । आरोजकी आमा ट्वाल्ल परिन् । बहिनी चाहिँ केही बोल्न सकिनन् ।

 आरोजले अमितातिर लक्ष्ति गर्दै भन्यो, “अर्को लोग्ने चाहिएको रछ अनि पो….”

 “तिमी पनि कम थियौ र । श्रीमती भन्दै …अर्की केटीसँग टाउको जोडेर खिचेको फोटो फेसबुकमा हाल्थ्यौ । विदेशमा मस्ति थियो । मैले         केही कुरा भनेँ भने कुरै सुन्दैनथ्यौ । आखिर मेरो पनि त जिन्दगी हो ।” 

 “घर आए पिच्छे कसले लान्छ र तँ जस्तालाई भन्थ्यौ । निहुँ झिकेर झगडा गर्न थाल्थ्यौ । कुट्थ्यौ पिट्थ्यौ । कति यातना सहेँ ।”, अमिताले भनी ।

“आफ्नो गल्ति पनि देख्नु पर्‍यो नि भाइ । त्यस्तो नि गर्छन् ।”, पहिलो प्रहरी कर्मचारीले आरोज तिर हेर्‍यो ।

 

“के काम गर्नुहुन्छ बहिनी ?”, दोश्रो प्रहरी कर्मचारीले अमितालाई सोध्यो । 

 

“पार्लर छ । साथीहरुसँग मिलेर खोलेको । माइतीले गरी खा…भनेर लगानी गरिदिएका ।”…एकछिन रोकिई अनि फेरी भनी, “मेकअप सम्बन्धि कामहरु पनि गर्छु । म्युजिक भिडियोमा पनि खेलेकी (अभिनय) छु । कस्मेटिक सामानहरु पनि विक्री गर्छु ।”, उसले भनी । 

 

“मैले पठाएको पैसा जति हिसाब गरेर ले ।”, आरोज कड्कियो ।

    “तिमीले पठाएको पैसा तिम्रै आफ्नालाई खर्च गर्न पुग्दैनथ्यो । हिसाब किताबको कुरा गर्ने हो भने ….तिमीले मलाई तिर्नु पर्ने हुन्छ ।”, अमिताले रिस देखाइन । बरु नम्र स्वरले बोली । “बरु डिभोर्सको प्रकृया अघि बढाउँ ।”, अमिताले फेरी भनी ।

 

आरोज लुरुक्क प¥यो । आरोजका आमा र बहिनी किंकर्तव्य विमुख थिए । “डिभोर्स चाहिँ नगरे हुन्थ्यो”, आरोजकी बहिनीले आफ्नो राय ब्यक्त गरी । सन्दिपले अमितालाई एकोहोरो हेरिरह्यो ।

    

 

“आफ्नी बुहारी अर्काले लगेको कसरी हेर्नु ? नातिनीले स्कुलबाट फर्केपछि आमा खोजि भने के भन्नु ?”, आरोजकी आमाले भनिन् । “छोरी पनि हामीसंगै लगौंला । उनकी छोरी मेरी पनि छोरी”, सन्दिपले स्पष्ट कुरा ग¥यो । 

 

केही बेर पछि  अमिता अघि लागी । सन्दिप उसैको पछि–पछि लाग्यो । 

         

 

 त्यसपछि के भयो । कथाकारलाई पनि थाहा छैन । राम्रो भयो वा नराम्रो त्यो पनि थाहा छैन । कसैको जिन्दगीको फिल्म सुरु हुँदै थियो । समाज भनौंदा दर्शकहरु चिच्च्याए ‘काष्टिङ्ग नै झुर !”

    

 

समाज पुरुषकै दृष्टिकोणबाट हेर्छ । तर कमैलाई थाहा हुन्छ वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका के कस्ता कमजोरीहरु हुन्छन् । डिभोर्सका पछाडी कारणहरु के के हुन सक्छन् ।

 

 

उनीहरु पाँच छ वर्षमा टुरिष्ट झै बनेर झुल्किन्छन् र आफ्नो गन्तब्य तताउँछन् । समझदार श्रीमान श्रीमती छन् भन् यो सम्बन्ध अझ प्रगाढ बन्दछ । सम्बन्धमा फाटो आउन पाउँदैन । तर समझदारी भत्किनासाथ यो सम्बन्ध डिभोर्समा गए टुङ्गिन्छ । श्रीमतीका इच्छा, चाहाना र आवश्यकताको उनीहरुलाई रत्ति भर पनि ख्याल  हुँदैन ।

 

 

श्रीमतीलाई उनीहरुकै इशारामा चलाउन ल्याइएको मेसिन ठान्छन् । मानवीय मूल्य समेत बुझ्दैनन् । सम्बन्ध टुट्नुमा श्रीमतीहरु मात्र जिम्मेवार हुन्छन् र ! जब अपेक्षाहरु टुट्छन् । जीवन साथी भनौँदोले समेत बुझिँदिँदैन । आफ्नो घर आफ्नो हुँदैन । आत्म सम्मान हुँदैन  । जीवनसाथी जीवनसाथी रहँदैन । आड र भरोसा भत्किन्छ ।  श्रीमतीका आवश्यकता बुझ्दैनन् । तब यस्तै हो ।–

 

“अमिता भागी ?”

    “कहाँ भागी”

“भागी नि झिल्केसँग । बुढोलाई छोडेर ।…….” 

  

प्रतिकृया दिनुहोस

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal