eNepal

कथा : सपना र पँलासहरू

अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको थियो । टम्म मिलेको शरीरमा लगाइएका कपडाले कामुकता झल्काइरहेका थिए । भरियाहरुले भारी बिसाए । बाहिर थोत्रो कुर्सी थियो । त्यसैमा खुट्टा राखेर चौरतिर नजर लगाए । पाखो बारी बाँझो र खण्डहर थियो ।बगैचाको नाम निशान थिएन । उनी जाने बेलामा ढकमक्क फूल फुलेका थिए ।

‘सरला ! ए… सरला । … बाबु ! बाबु युगल …. ।’ प्रतिउत्तर आएन । ढोका लगाइएको थियो । ताल्चा थिएन । ढोका उघारे । भित्र पसे । सामानहरु यत्रतत्र छरपस्टिएका थिए । आफूले छोडेका सामग्रीहरु कुनै थिए कुनै थिएनन्  ।भएका पनि थोत्रिएका थिए, थपिएका थिएनन् । घरभरि माकुराले जालो बुनेको थियो । भूँइभरि कसिंगर थियो । भित्तातिर फर्के । युगल, सरला र आफ्नो फोटो मुसुक्क हाँसिरहेको थियो । फोटो उठाए । छोरा र श्रीमतीको गाला मुसारे । माया भरिएर आयो ।

भान्सा कोठामा पसे । भाँडा धेरै जसो रित्ता थिए । थोत्रो ग्याँसले गिज्याइरहेको थियो । ग्याँसमाथि चिया पकाउने भाँडो कलेटी परेर घोप्टिएको थियो । यत्रतत्र जुठाभाँडा भेटिन्थे । उनलाई ग्लानी भयो । घरले उनको अनुपस्थिति प्रष्ट झल्काइरहेको थियो । आँफैलाई धिक्कारे ‘थुक्क म ,कति स्वार्थी भएछु है ? दुःख पाएछन् क्यारे यिनीहरुले !’ तुरुन्तै सम्हालिए । ‘म आइहालें नि, अब सबै कुरा दुरुस्त बनाइहाल्छु ।’

छिमेकीहरु दिउँसै  ढोका खुल्ला देखेर अचम्म परेका थिए । प्रायः बिहान र रातिमा मात्र खुल्ने घरमा आज अनौठो भएको थियो ।

सुमन खिस्स हाँस्दै बोले ‘नमस्ते माइली आमा, सन्चै हुनुहुन्छ ?’ बूढी आमैले चिनिन्छिन् क्यारे खुबै घोरिइन् ।

‘बाबु…. तिमी । ए ! सुमन पो हौ ? बल्ल चिने । कति राम्रा भएछौ । तालुको कपाल झरेछ । ठम्याउन सकिन । नमस्ते बाबु नमस्ते ।’

पाकेको चिया खान माइली आमा सधैं टुप्लुक्क आइपुग्थिन्  । आज घरैबाट बोलिन् ।

आमा सरला कता गइछन् ? कतै देख्दिन ! युगल पनि छैन ! कतै काम परेर जान्छु भनेकी थिइन् कि ?’

धेरै प्रश्न सोधे तर जवाफ ‘खै ?’ भन्ने संकेतमा ओठ फर्काएर मात्र दिइन् र लुरुक्क भित्र पसिन् । वरपरका छिमेकी क्रमशः रमिते बन्ने क्रम जारी थियो ।

सरला घर आउँदै थिइन् । ढोका खुल्ला थियो । छिटो छिटो खुट्टा चलिन् । ‘के भयो मेरो घरमा ? युगल….!’ उनको शंका उपशंका बढ्दै गयो ।आज सोच्नै नसक्ने परिस्थिति भित्रिएको थियो ।

‘ए..! तँपाई आउनु भो ?’ सामान्य भाषामा बोलिन् सरला । बिहान मात्रै छुट्टिए जस्तै गरी । भित्र पसिन् । चियाको भाँडोमा पानी बसालिन् । चिनी थिएन । हतारिँदै पसलतिर लागिन् । एक पाउ चिनी उधारो दिन दुःख मान्ने साहुजीले एक किलो चिनीको थैलो हातमा थमाउँदै भने ‘पैसा पछि दिए पनि हुन्छ ।’

सुमन भान्सामा पसे । भूइँमा थ्याच्च बसेर दाउँरा धकेल्दै थिइन् सरला । पछाडिबाट बिस्तारै हात समाए । रोमाञ्चित बन्दै भने ‘बाबु खै त ?’

उनको हात रुखको जरा जस्तै  चेप्टिएको थियो । हातमा लगाएका चुरा खस्नै लागेका थिए । कपाल जिङरिङ्ग परेर टुक्रिएको थियो । लगाइएका कपडाहरुले परिचय फरक किसिमले दिइरहेका थिए । खुट्टामा तुना फेरिएका चप्पलले सुमनलाई पुनः मर्माहित बनायो । लामो कपाल, गोलो अनुहार, बान्की परेको शरीर र मेकअपले अप्सरा जस्तै देखिने प्यारी र कल्कलाउँदी सरलालाई छोडेर गएका थिए  सुमन । अझै खुशी, सुखी र सुन्दर बनाउने सपना बोकेर झण्डै एक दशक बेपत्ता भएका थिए उनी ।

‘के गर्छ बाबुले ? कस्तो छ ? ठूलो भयो होला ? कतिमा पढ्छ ?’ यावत् प्रश्नहरुको जवाफ ‘अँ र हँ’ मा दिइन् सरलाले ।

‘मलाई हेर न ।’ कोल्टे बसेकी श्रीमतीलाई आफूतर्फ फर्काए ।

‘म नभएर दुःख पायौ है ?’ तर जवाफ आएन ।

जवान श्रीमती र सानो छोरोलाई छोडी सलुसँग कोर्ट म्यारिजको अभिनय गरेर अमेरिका छिरेका थिए सुमन । सुब्बाको  जागिरले सन्तोष थिएन उनलाई । अमेरिका पुग्ने र पैसामा चुर्लुम्म डुब्ने चाहना थियो उनीमा । एक दिन सरलालाई फकाउँदै भनेका कुरा मस्तिष्कमा घुमिरहेका थिए ।

‘सरला, म अमेरिका जाने भए नि !’

‘कसरी ?’

‘सलुलाई डि.भी. परेको छ । उसैसँग मैले कुरा पनि गरिसकें । हुन्छ भनेकी छ ।’

‘हुँदैन । पर्दैन जान । के चाहिएको छ हामीलाई योभन्दा बढी । जागिर छँदैछ । खान पुगेकै छ । बाबुलाई पढाउन सके भैहाल्यो नि ।

‘बाबुलाई म डक्टर बनाउन चाहन्छु । अमेरिका जाने यस्तो अवसर फेरि कहाँ पाइन्छ र ?’

सलुलाई अमेरिकन डि.भी. चिठ्ठा परेको थियो । गरिब घरकी सोझी केटी सलुसँग न त अमेरिका पुग्न सक्ने पैसा नै थियो न त आँट नै । उसलाई चाहिने पैसा लगानी गर्न तयार थिए सुमन ।  अमेरिका जान लोभिएका उनी प्रक्रिया अघि बढाउँदै थिए ।

सलुको विवाहित लोग्ने भएर मात्र सुमन अमेरिका जान पाउने थिए । सरला मान्न तयार थिइनन् । आफ्नो लोग्नेलाई अर्काको जिम्मा लगाउने साहस थिएन उनीसँग । सुमनलाई रोक्ने धेरै कोशिस गरिन उनले ।

वर्षौ भैसकेको थियो सुमनले डि.भी. भर्न थालेको । डि.भी. खुल्नु पूर्वबाट सुरुभएको अमेरिकन चर्चा–परिचर्चा रिजल्टपछि निराशामा टुंगिन्थ्यो । ‘अमेरिकाको डि.भी. खुल्दै छ, खुल्यो, भर्ने म्याद आज सकिदैंछ ’ जस्ता कुरा सुमनले जोडतोडका साथ सुनाउँथे । चिठ्ठा खुलेपछि उनको अनुहार मलिन बन्थ्यो । ‘सुमन सर, यो पाली त हजुरलाई प¥यो होला नि ?’ भन्ने शब्दले मर्माहत बनाउँथ्यो उनलाई ।क्रेज बढ्दै थियो । घर परिवार, समाज, पत्रपत्रिकालगायत सबै क्षेत्रमा डि.भी.को खुलेर प्रशंसा गर्नेमध्ये सुमन अब्बलमा गनिन्थे । टि.भि.मा हेरेको अमेरिकालाई प्रत्यक्ष हेर्ने, महसुस गर्ने, अकुत सम्पत्ति जम्मा गरेर सुखसँग बाँच्ने कल्पना मै बित्थे उनका कैयौं रातहरु । यसपटक यो मौकालाई गुमाउन चाहन्नथे उनी ।

सँगै सुतेको छोराको अनुहारमा हेर्थे र पैसासँग दाँज्थे । छोराको सुख र भविष्य पैसाभित्रै देख्थे । श्रीमतीको ऐस आरामको जिन्दगीलाई डलरसँग दाँज्थे । ठूलो घर, सुन्दर श्रीमती र दक्ष छोराको परिकल्पनामा बाँच्न थालेको धेरै भैसकेको थियो उनको । मध्यम वर्गीय परिवार र सम्झौताको जिन्दगी बुद्धि र भाग्य दुवै नहुनेले मात्र जिउनुपर्छ भन्ने सोच्थें । सलुसँगको यसपालीको साथलाई छुटाउन नहुने देखेर नजिकिदैं थिए उनीसँग ।

‘सलु सेकेण्ड लेटर आयो ?’

‘छैन…। किन ? कसरी जाने खै ? पैसा पनि छैन । डि.भी. पर्दैमा अमेरिका जानै पर्छ र ? आ… म त जान्न दाइ । आनन्द छ यहीं । दुःख–सुख ग¥यो खायो । उता गएर कति दुःख पाइने हो ? नचिनेको ठाउँ । आफ्ना कोही हुँदैनन् ।’ यस्तै खोजेका थिए उनले । मौकाको फाइदा उठाउने अवसर थियो यो । सम्झाए सलुलाई । धेरै कुराको लोभ देखाए । घर परिवार समेतलाई प्रभावित बनाई छोडे । अन्ततः सलुको परिवारलाई आफ्नो जिम्मा लगाएर सलुलाई अमेरिका पठाउन तयार बनाएका थिए ।

‘सरला, कुरा बुझन । अमेरिका जाने मेरा लागि मात्र हैन । तिम्रै लागि सोचिरहन्छु म । एकपटक ग्रीनकार्ड हात परेपछि त… ।’

‘हुँदैन । मलाई पैसा हैन माया चाहिन्छ । हजुरको साथ चाहिन्छ । हजुर बिना म अपुरो हुन्छु । जे छ म त्यसैमा सन्तोष छु । छोडिदिनुस् यी सबै कुरा ।’ झनक्क रिसाउँदै धेरैपटक भनेकी थिइन् सरलाले । मनभित्र अमेरिका दौडाएका सुमनलाई जसरी पनि श्रीमती फकाउनु थियो । ‘डिभोर्स’ गर्नु थियो । पुनः सलुसँगको वैवाहिक सम्बन्ध देखाएर मात्र अमेरिका छिर्नु थियो । यस्तो अमूल्य मौका फेरि आउनेवाला थिएन ।

गाउँका धनी भनाउँदाको ठाँट एवं रवाफ धेरै देखेकी थिइन् सरलाले पनि । शरीरभरि ढकमक्क गहना र कपडाले छोपिएर लोग्नेको हात समातेर मस्कदैं गरेका धेरै युवतीप्रति उनको मन लोभिँदै जान थालेको थियो । पैसाको धाक र घुर्की लगाउने छिमेकीको अगाडि दाँजिने सोंच सुस्तरी पलाउन थालेको थियो । उनको सपना रातो चुरापोते, रङ्गी–विरङ्गी पहिरन र महङ्गा गहनामा सजिन थालेको थियो । एकातर्फ सुमनको कल्पना र अर्कोतिर सरलाको अतृप्त सम्पत्तिवाल बन्ने रहर क्रमश मिल्दै जान थालेका थिए ।

अन्ततः सरलाले पठाइन् सुमनलाई । सुमनको जिद्दी सँगसँगै भोलिको रङ्गिन सपना छातीमा सँगालेर अदालतमा छोडपत्र गरिन् सरलाले । आफ्नो सिन्दुर बेचिन्, पैसालाई धरौटीमा राखेर । अमेरिकन सपनाले पूर्व र पश्चिम बनाउँदै थियो उनीहरुलाई । छोराको एक्लो जिम्मेवारी काँधमा बोक्ने पालो उनको थियो । घर सम्पत्ति सबै सरलाको नाममा सारियो । धेरै थोरै जायजेथाको मालिक भइन् उनी । ‘कोर्ट म्यारिज’ भयो सुमन र सलुको । मनको अन्तर कुन्तरको डरलाई अठ्याएर अदालतमा सलु र सुमनको कानुनी विवाहलाई स्वीकारिन् उनले । कागजी विवाह मात्र सम्झेर तीनै जना ढुक्क थिए ।

जति जति अमेरिका जाने दिन नजिकिँदै थियो उतिउति डराउँदै थिइन् सरला । सुमनको कौतुहलता बढ्दै गएको थियो । ‘ग्रीनकार्ड’ पाए लगत्तै लिन आउने बाचा गरी सलुसँग अमेरिका उडेका थिए सुमन ।

‘यी खाजा लिनुस्’ सरलाको ठाडो बोलीले झस्किए उनी । अतीत सम्झिरहेका थिए । चाउचाउको कचौरा समातेर सरला अगाडि उभिएकी थिइन् ।

‘बाबु खै अझै आएन !’

‘अहँ’

‘कहाँ जान्छ युगल …?’

‘खै बिहान त घरै थियो ।’

‘के गर्छ उसले … ?’

‘……’

निरुत्तर भइन् सरला । सधैं लाडिएर उत्तर दिने सरला कम बोलिरहेकी थिइन् । आँखा र अनुहारबाटै प्यार देखाउन सक्ने उनको मुखाकृतिले अरु केही भनिरहेको थियो । पहिले प्रश्नै नसोधी धेरै उत्तर पाउने सुमन अहिले श्रीमतीको स्वभावमा आएको परिवर्तनप्रति सोचमग्न थिए ।

श्रीमतीको नजिकै सरे । सधँै चलायमान भैरहने र नजिक पर्नासाथ जिस्कने सरलाले आज कुनै शारीरिक प्रतिक्रिया देखाइनन् । सुमनको नजरमा कामुक देखिने सरलामा रङ्गहिनता थियो । नैराश्यता थियो । ‘सन्चो बिसन्चो पनि सोधिनौ त ?’ भन्ने प्रश्नको जवाफ ङिच्च दाँत देखाएर मात्र दिइन् उनले ।  ओठ हाँस्नका लागि खुल्न मानिरहेका थिएनन् । सुमन गएदेखि उनका सपनाहरु खण्डहर बनेका थिए । पुग नपुग एक वर्षमै सुमनसँग सम्पर्क टुटेको थियो । अर्काको जिम्मा लगाएर पठाएको लोग्नेको आश गर्नु भनेको आफैलाई धोका दिनु जस्तै थियो । ‘तँलाई तेरो लोग्ने चाहिएकै थिएन ।’ भन्ने छिमेकी र आफन्तका प्रश्नहरु निरुत्तर बनेका थिए उनका अगाडि । समाजले एक्ली आइमाइलाई हेर्ने नजर र पैसा बिनाको घरपरिवार उनको लागि चानेचुने कुरा थिएनन् । श्रीमान्को अभावमा आफ्नो जवानीलाई धेरैपटक थिचेकी थिइन् उनले । घर खर्च, सुमनको पढाइ र अन्य अप्ठेरा काम सित्तैमा हुनेवाला थिएनन् । ऋण लिएर तिर्ने उपाय पनि थिएन । सानो काम गर्दा पनि फाइदा खोज्नेहरुले कामको बदलामा जवानीको आस गर्न थाले । घर खर्च चलाउनको लागि के गरिनन् सरलाले । सुमनको अभाव खट्किरहेको थियो । बिछोडको पीडा सहन हम्मे हम्मे परिरहेको थियो उनलाई । मर्नुभन्दा बहुलाउनु वेस भनेझै छुट्टिनुको पीडा बिर्सन चुरोटको बट्टाहरुसँग रात बिताउन थालेकी थिइन् उनले । ‘इण्डियन सिरियल’ हुँदै अन्तत भट्टीसम्म उनको जिन्दगी जोडिँदैे थियो भने छोरा र आफन्तसँगको सम्बन्ध पातलिदै । खानाको अभावमा भोकै सुतेका रातहरु उनको मनभरि खेलिरहेका थिए ।

‘बाबु आएन ?’ झस्किन् सरला । निधारको चिटचिट पसिना पुछ्दै सम्हालिइन् उनी । छोराको अनुपस्थितिमा आत्तिएका थिए सुमन । झन्डै एक दशक पछिको युगलसँगको भेटका लागि वेचैन थिए उनी । छोराको रुपरङ्ग, जिउडाल हेर्ने हतार भएको थियो उनलाई ।

सरलासँग निस्किए सुमन छोराको खोजीमा । गाँउ घर डुले । गाउँलेहरु अचम्म मानेर यो जोडीलाई हेरिरहेका थिए । युगलको पत्तो थिएन । धेरै ठाँउ सोधे पनि । कसैले पनि जवाफ दिएनन् । सरला चुपचाप सुमनको पछाडि हिडिरहेकी थिइन् । युगल प्रायः खहरेको किनारमा जाने र बस्ने गरेको सरलालाई थाहा थियो तर भन्न चाहिनन् उनी । निकै बेरपछि दुवै जना खोला किनारतर्फ लागे ।

ढुंगामाथि बसेर एकोहोरो खोला हेरिरहेको थियो युगल । चुरोटका बट्टा र सुर्तीका पोकाहरु यत्रतत्र छरिएका थिए । ठिङरिङ्ग परेको केशराशी आकाशतर्फ सोझिएको थियो । शरीरका कपडाहरुले अङ्ग प्रत्यङ्ग चिहाइरहेका थिए । पैतालामा फाटेका चप्पलहरुले गिज्याइरहेका थिए । सूर्ती र चुरोटबाट खिइएका र कलेटी परेका ओठहरु चरचरी फुटेकाथिए । बालापन देखिनुपर्ने हत्केलाहरुमा सायद भाग्य रेखाहरु नै हराइसकेका थिए । नजिकैबाट एक कालो आकृति खुट्टै समात्ला जस्तै गरी बगेर गयो । तर्सियो ऊ । खुट्टामाथि तान्यो । ओठ कपाउँदै बोल्यो ‘अभागी मोरो, दुःख लुकाएछ ।’

ऊ विक्षिप्त थियो । बाबुआमा भएर पनि टुहुरो जस्तो थियो । हाँस्दा रुँदा दुवै अवस्थामा साथी बनेको थियो खहरे । बेस्सरी कपाल समात्यो । मुख बिगा¥यो । मन अमिलो पा¥यो । पकेट छाम्यो र चुरोट निकाल्यो । सलाई नभेटेपछि ‘हरि कंगाल तँ’ भन्दै गाली ग¥यो आफैलाई । चुरोट कच्याककुचुक पारी पानीमा फाल्यो । सूर्तीको पोको निकाल्यो । ओठमा च्याप्यो थोरै झिकेर ।

दुवै खुट्टा पानीमा क्रमशः चोबिए । भाँसिएको अतीत र भाग्यको भग्नावशेषलाई बेस्सरी सम्झने कोशिस ग¥यो । ‘साला जिन्दगी’ भुन्भुनायो भित्र भित्रै । पछाडि फर्कियो । आमालाई देख्यो साथमा लोग्ने मानिस पनि । चिन्न खोज्यो तर ठम्याएन । उसलाई ठम्याउनु पनि थिएन । नदीका किनारमा यस्ता अपरिचित धेरै मानिसहरुलाई आमासँगै देखेको थियो उसले धेरैपटक । केही छिन अनुहारमा हेर्न मन लाग्यो तर फनक्क फर्कियो आफ्नै दुनियाँमा ।

‘बाबु युगल, मेरो छोरो ।’ सुमनले हात समातेर उठाए । अकंमाल गरे । आफूजत्रै भएकोमा हर्ष माने ।

‘युगल बाबालाई चिनेनौं ?’ निरुतर भयो युगल ।

‘बाबु दुःख पाइस् ।’ यत्ति बोले उनी । श्रीमतीतिर फर्के । पहाड जस्तै अटल बनेर उभिएकी थिइन् सरला । कुनै प्रतिक्रिया थिएन उनको । सुमनलाई अब सोच्नु र सम्झनु पर्ने केही थिएन । सबै छर्लङ्गै थियो ।

युगललाई कसैले माया नगरेको धेरै भएको थियो । आमाले आफूलाई माया गरेको सम्झन पनि वर्षौअघि फर्कनु पथ्र्याे उसलाई । समाजबाट अपहेलित, साथीबाट तिरस्कृत र स्कुलबाट निष्कासित युगललाई आफैमाथि विश्वास थिएन ।

सुमनको मनमा अनेक तर्कना खेले । अतीत चलचित्रको पर्दा झैं सरिरहेको थियो । अमेरिका पुग्ने सपनाबाहेक अन्य सपनाहरु सपनामै परिणत भएका थिए । सलुसँग अमेरिकासम्म पुग्ने सर्तमा विवाहको नाटक रचिएको थियो । दोस्रो विवाह गर्ने रहर न सुमनलाई थियो न त बूढो लोग्ने स्याहार्ने इच्छा सलुलाई । नयाँ ठाउँ थियो । नयाँ परिवेश । कहाँ जाने र के गर्ने दुवै अनभिज्ञ । एक्ला एक्लै हिड्नु झनै कठिन थियो उनीहरुलाई ।

अप्सराहरुका अगाडि ऋषि तपस्वीहरुको तपस्या भङ्ग भएझैं सुडौल शरीर, यौवनले भर्भराउँदी सलुले सुमनको तपस्या भङ्ग गर्दै थिइन् । सँगैको बस उठले श्रीमान् श्रीमती जस्तै लाग्थ्यो अरुहरुलाई पनि । सुमनलाई श्रीमान्का रुपमा स्वीकार्न कुनै कठिन भएन सलुलाई । सुमन सलुलाई साँच्चैकी श्रीमती स्वीकार्न चाहदैनथे । शरीर अमेरिका भए पनि मनमस्तिष्क नेपालमै थियो । युगल र सरलासँग रमाउन चाहन्थे । सपनाको भरिया भएर अमेरिका छिरेका थिए उनी ।

‘फुले जस्तो फल्ने र सोचेजस्तो हुने’ भए को नै दुःखी हुन्थ्यो र ? पेटको लागि संघर्ष गर्नुप¥यो दुवैलाई । किराना पसल, होटल, कुल्ली हुँदै झिनामसिना काममा झण्डै दुई वर्ष बिताउनुप¥यो उनीहरुले । सीप र अनुभवको आधारमा दुई चार पैसा जम्मा हुन थालेपछि सलु अमेरिकन संस्कृतिमा जम्न थालिसकेकी थिइन् ।

सुमनलाई श्रीमान् स्वीकारेकी सलुले उनको कमाइमा दावा गर्नु नाजायज थिएन । अमेरिकन जस्तो गर्छन् त्यस्तै गर्न सकेमा नै आफ्नो इज्जत रहने सोच्थिन् उनी । युगलको भविष्यका लागि एक सन्तान मात्र जन्माउने निर्णय गरेका सुमनले सरलाको छोरी जन्माउने जिद्दीलाई लत्याएर परिवार नियोजन गरेका थिए । यो कुरा धेरै पछि थाहा पाएकी थिइन् सलुले । मोजमस्तीमा रम्नु, फरक फरक ‘ब्वाय फ्रेण्ड’ बनाउनु पश्चिमी संस्कृतिको परिचय नै हो क्यारे । यही परिचयको हिस्सेदार भइसकेकी सलुले चारैतिर सम्बन्ध बढाउँदै थिइन् ।

सलुले सुमनलाई घरको नोकर सम्झन थालेकी थिइन् । आफ्नै कारण अमेरिका छिर्न पाएको कुरा दोहो¥याउथिन् । छोरा युगल र श्रीमती सरलाका लागि अमेरिका पुगेका सुमन फगत सलुका दास बन्दै गएका थिए ।

अमेरिका छिरेको पनि पाँचौ वर्ष हुँदै थियो । दुई वर्षमै पैसासहित घर फर्कने कबुल गरेका थिए सुमनले । यतिका दिनसम्म न त पैसा पठाए न त खबर नै । छोरा युगल र सरलाको सम्झनाले सताउन थाल्यो । आफूले जिम्मेवारी पूरा गर्न नसकेकोमा पछुतो हुँदै थियो । नेपाल फर्किने चाहना दिन दिनै बढ््न थाल्यो । पैसा बोकेर फर्कने सम्भावनालाई सलुले तुहाइदिएकी थिइन् । सुमनको कमाइमा रम्न पल्केकी सलुले सुमनलाई नेपाल फर्काउन चाहन्नथिन् । पासपोर्ट र अन्य कागजात पहिले नै लुकाइदिएकी थिइन् ।

सहनुको पनि सीमा हुन्छ । स्वाभिमानले बाँच्ने अभिलासा लिएका सुमनलाई सलुको बढ्दो अभिमानले अपमान बनाउँदै थियो । सलुसँगै बसेमा घर न घाटको हुने कुरा निश्चित प्रायः थियो । उनीबाट अलगिनुबाहेक कुनै विकल्पहरु बाँकी थिएन उनीसँग । अन्तमा सलुलाई त्याग्नु नै श्रेयश्कर ठाने उनले ।

अप्ठ्यारा दिनहरु सकिएका थिएनन् । कागजात एवं पासपोर्ट विना काम गर्नु पटक्कै सजिलो थिएन । आफ्नो ज्यान धरापमा राखेर काम सुरु गरे । घरमा खबर आदान प्रदान नभएको पनि वषौंं बितेको थियो । जसरी पनि पैसा कमाउने उद्देश्य बोकेर अमेरिका छिरेका सुमनले छोटो समयमा धेरै पैसा कमाए ।

सलुसँग छुट्टिएको केही वर्षमै सुमनले लाखौं कमाए । कागजात विना पनि उनी कहिल्यै पक्राउ खाएनन् । सलुले साथ नदिए पनि भाग्यले साथ दियो । पैसा कमाउने धोका पुरा भयो । पैसा पठाउने बन्दोबस्त मिलाई नेपाली दुतवासमार्फत अन्तत फिर्ता भए उनी ।

अनगिन्ती गहना र कपडाले भरिएको झोला सरलाको अगाडि थियो । बजारबाट फर्कदा बाटैमा झोला खोतल्ने र एउटा रुमाल ल्याउँदा पनि हात्ती नै ल्याइदिएझंै खुशी हुने सरलालाई ती महँङ्गा गहनाले लोभ्याउन सकेका थिएनन् । कुनै उत्सुकता थिएन उनीमा ।बाबुसँगै बस्न, सुत्न, खान र डुल्न मनपराउने युगल आज बाबुको नजिकसम्म परेको थिएन । युगललाई डाक्टर बनाउने धोको पुरा हुने संकेत नै थिएन । लागु पदार्थको दुव्र्यसनबाट छुटाउन सुधार गृहका लागि डाक्टरसँग सल्लाह गर्नुपर्ने बाध्यता देखिन्थ्यो सुमनलाई । गाउँ समाजमा इज्जतले बसेका उनीसँग गाउँलेहरु औपचारिकता मात्र निभाइरहेका थिए । अफिसबाट घर फर्कदा सधँैजसो एक आधा घण्टा भलाकुसारी गर्न घरमै आउँथे छिमेकीहरु । यत्तिका वर्षपछि घर फर्कदा समेत उनीहरु निकै हतारो भएजस्तो गरिरहेका थिए । सुख दुखका कुरा गर्न समेत खोजिरहेका थिएनन् । पैसा भएपछि सबै नजिक हुन्छन् भन्ने लागेको थियो सुमनलाई । नीतिशास्त्रमा लेखिएको यो श्लोकबाट निकै प्रभावित थिए उनी ।

टका धर्मः टका कर्मः टकैव परमं् सुखम् ।

यस्य गृहे टका नास्ति हाःटकेटकटकाएते ।

अर्थात् पैसाले नै धर्म हुन्छ । पैसाले नै कर्म हुन्छ । पैसाले नै श्रेष्ठ सुख पाइन्छ । जसको घरमा पैसा छैन, उसको घर सबै कुराले टकटकिन्छ वा रितिन्छ भन्ने नीति शास्त्रको भाव आज उनलाई झुट्टा लाग्दै थियो ।

उनीसँग प्रशस्त धन थियो तर सम्मान थिएन । आफूसँग भएको पैसाले  श्रीमतीको न सुन्दर जीउडाल फिर्ता आउँथ्यो न आचरण । छोरामा न कुनै उत्साहआउँथ्यो न अनुशासन । एक कमाएर हजारौं गुमाएको महसुस हुँदै थियो उनलाई  । आफ्नै घर आफ्नो लागिरहेको थिएन । आफ्नो छोरो र श्रीमती आफ्नै जस्ता लागिरहेका थिएनन् । छरछिमेक र आफन्तहरु नजिक थिएनन् । उनीसँग भौतिक सुख थियो शान्ति थिएन । सुन्दर ओछ्यान थियो निद्रा थिएन । मिठो भोजन थियो भोक थिएन । सबै सबै थियो तर केही थिएन । विजय भएर पनि पराजय खेपिरहेका थिए उनी ।

सुमित्रा न्यौपाने

(स्रोत : समाचार दैनिक डट कम)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349