eNepal

काठमाडौं त लन्डन र पेरिसभन्दा निकै महँगो शहर रहेछ

नेपाल रहँदा मुस्किलले दुई/तीन पटक कफी खाइयो होला । तर,विदेश छिरेपछि एक–दुई कप भन्दाभन्दै कफी खाने लत लाग्यो । चिसो मौसम, सधैँको काम अनि थाकेको शरीरलाई कफीले केही मात्र भए पनि राहत दिने रहेछ । अहिले त काठमाडौं नै कफी संस्कृतिमा चुर्लुम्मै डुब्न थालिसकेछ । केही महिनाअघि नेपाल जाँदा लाजिम्पाट वरपर घुम्दै थिएँ । एउटा सामान्य कफी पसलमा छिरेर कफी मगाएँ । कडा र स्वादिलो थियो, कफी । तर, बिल भने पत्याउनै नसकिने पो आयो । एक कफ कफीको तीन सय रुपियाँ !

बिलमा केही गल्ती भएको हो कि भन्ने लाग्यो । गल्ती बिलमा होइन, मेरो बुझाइमा रहेछ । देशमा महँगीले आकाश छोइसकेछ । विश्वका सबैभन्दा महँगा भनिने सहरहरू नर्वेको ओस्लो, स्वीट्जरल्यान्डको ज्युरिक, बेलायतको लन्डनमा पनि त्यति पैसामा राम्रै कफी पाइन्छ । यो बेग्लै कुरा हो कि कफी हामी नेपालीका लागि दैनिक उपभोग्य वस्तु नहुन सक्छ । यसकै मापनमा जीवनशैली कति सस्तो र महँगो छ भन्नु उचित पनि नहोला ।

महँगो कफीको स्वाद चाखेपछि साथीहरूलाई भेट्ने कार्यक्रम भएकोले दुई/तीन वटा छोटो कल गरे। पाँच मिनेट इमेल र फेसबुक चलाएको मात्र थिएँ, बिहान भर्खर राखेको मोबाइलको ब्यालेन्स सकिएछ । गएको दस दिनमा मैले सायद यस्ता रिचार्ज कार्ड किनिसकेको रहेछु । बेलायतमा मैले महिनाको १२ पाउन्डमा हजार मिनेट टकटाइम, अनलिमिटेड एसएमएस र १२ जीबीको इन्टरनेट चलाउँछु । हिसाब गर्दा त कफी मात्रै होइन, फोन पनि महँगो पर्न गयो । युरोपतिर आफू बसेको स्थानीय ठाउँमा हिँड्दा पनि गोजीमा २० युरो वा पाउन्ड छ भने ढुक्क भइन्छ । किनकि, त्यो ठूलो पैसा हो । तर, काठमाडौंमा हजार रुपियाँको एउटा नोट साट्ने बित्तिकै कहाँ जान्छ, पत्तै पाइँदैन । आम्दानी र खर्चको तुलनामा काठमाडौं मेरा लागि विश्वकै महँगो शहर हो ।

दैनिक उपभोग्य वस्तुहरू एकदमै महँगा छन् । युरोप र अमेरिकाभन्दा पाँच/छ गुणा महँगा । एक किलो खसीको मासुलाई लन्डनमा आठ पाउन्ड पर्छ भने नेपालमा एकहजार रुपियाँ । जबकि, हाम्रो कमाइ उनीहरूको भन्दा दसौँ गुणा कम छ । यस अर्थमा एउटा बेलायतीले आफ्नो एक घन्टाको कमाइले एक किलो मासु खरिद गर्न सक्छ भने हामीलाई त्यसकै लागि एक दिनको कमाइ खर्च गर्नुपर्छ । पहिले नेपाल आउँदा सस्तो लागेर धेरै लुगा किनिन्थ्यो । तर, नेपालमा ढाका टोपी र गोल्ड स्टार जुत्ताबाहेक सबै विदेशमा भन्दा महँगो लाग्छ । नेपालमा शिक्षा पनि उत्तिकै महँगो छ । युरोपलगायत अरू देशमा मुख्यत: १२ कक्षासम्म पूर्णत: निशुल्क हुन्छ । तर, नेपालमा जन्मिनेबित्तिकै नर्सरी, प्ले ग्रुप, एलकेजी, युकेजी भन्दै नानाथरी उपाय अपनाएर पैसा लुट्न लागिपरेका छन्, शैक्षिक माफियाहरू ।

बंगलादेशको ढाका र चटगाउँमा एक साता बस्दा खानेकुरादेखि दैनिक उपभोग्य वस्तुहरू हामीले अनुमान गरेभन्दा निकै सस्तो पायौँ, सायद आफँैले उत्पादन गर्ने भएकोले होला । भारतको त कुरै नगरौँ, नेपालको भन्दा जे कुरा पनि आधा नै सस्तो छ । सात समुन्द्रपारिका देशहरू मात्र होइन, कमजोर आर्थिक स्थिति भएका छिमेकीहरूको जीवनशैली पनि हाम्रो जस्तो महँगो छैन । वर्षौवर्षसम्म सार्वजनिक सवारीमा कोचिँदा–कोचिँदा दिक्क भएर बल्ल मोटरसाइकल किनेको कथा सुनाउँथ्यो साथीले । छिमेकी भारत र संसारको जुनसुकै ठाउँमा ५०/६० हजार रुपियाँमा पाइने ‘सेकेन्ड ह्यान्ड’ मोटरसाइकललाई उसले एक लाख पचास हजार रुपियाँ हाल्यो ।

त्योभन्दा सस्तो मूल्यमा मैले विश्वकै महँगो देशमा काम चलाउ कार किनेको थिएँ । यहाँनेर फेरि एकपटक तुलना गर्न मन लाग्यो । एउटा औसत नेपालीलाई काम चलाउ कार किन्न वर्षभरिको कमाइ खर्चिनुपर्छ । किनकि, नेपालको कर प्रणाली विश्वमै अचम्मको मानिन्छ । अन्य देशमा दुई महिनाको कमाइले काम चलाउ कार किन्न सहजै सकिन्छ । अब कसरी भन्ने कि नेपाल विश्वका सस्तो देशमध्ये पर्छ भनेर । युरोप–अमेरिका बराबरको कमाइ हुने हो भने त ठीकै होला । तर, काठमाडौंमै बसेर नेपालको औसत कमाइले कुनै पनि हालतमा यो सम्भव छैन । मेरो अनुभवमा काठमाडौं त लन्डन र पेरिसभन्दा निकै महँगो शहर हो ।

विश्वास हमाल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349