आइपिएलको लिग चरणका खेल सकिएपछि प्लेअफको समिकरणको टुंगो लागेको छ । आइतबार भएका खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई र चेन्नई सुपरकिंग्सले किंग्स इलेभेन पन्जावलाई पराजित गरेपछि आइपिएलको प्लेअफ समीकरण टुंगिएको हो ।
आइपिएलको प्लेअफमा सनराइजर्स हैदरवाद, चेन्नई सुपरकिंग्स, कोलकोता नाइटराइडर्स र राजस्थान रोयल्स पुगेका छन् ।
हैदरवादले १४ खेलमा १८ अंक सहित ०.२८४ रनरेटका साथ शिर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको चेन्नईले १४ खेलमा १८ अंक हासिल गरेपनि उसको रनरेट ०.२५३ रहेकाले दोस्रो भएको छ ।
त्यस्तै कोलकोता नाइटराइडर्सको १४ खेलमा १६ अंक सहित -०.०७० रनरेटका साथ प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १४ अंक जोडेको राजस्थान रोयल्स -०.२५० रनरेटसहित प्लेअफमा पुगेको छ ।
यता प्लेअफमा पुग्ने सम्भावना रहेका मुम्बई र पन्जाव दुवैले आ-आफ्ना अन्तिम लिग खेलमा हार बेहोरेपछि आइपिएलबाट बाहिरिएका हुन् ।
पहिलो क्वालिफायर : अब आइपिएलको फर्म्याट अनुसार पहिलो हुने हैदरावाद र दोस्रो हुने चेन्नईका बिच पहिलो क्वालिफायर खेल हुने छ । यस खेलको विजेता टिम सिधै फाइनलमा पुग्छ भने पराजित टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ । आइपिएलको यस फर्म्याटमा दोस्रो दुने टिमलाई फाइदा हुने गर्दछ ।
इलिमिनेटर : त्यस्तै तेस्रो हुने कोलकोता र चौथो हुने राजस्थानबीच इलिमिनेटर खेल हुने छ । इलिमिनेटरको विजेता टिम र पहिलो क्वालिफायरको पराजित टिम दोस्रो क्वालिफायर खेल खेल्ने छन् ।
यसरी पहिलो क्वालिफायरको विजेता र दोस्रो क्वालिफायरका विजेता टिम यस सिजनको आइपिएलको उपाधिका लागि खेल्ने छन् ।
अबको खेल र समय तालिका :
यस आइपिएलका क्वालिफायरदेखिका खेलको समय परिवर्तन गरिएको छ ।
हाल जारी आइपिएलका खेल राति १२ बजेसम्म हुने हुँदा स्टेडियममा अबेर राति सम्म दर्शक नबसेपछि आइपिएल गभर्निंङ काउन्सिलले समयमा फेरबदल गर्दै ८ बजेको सट्टा ७ बजेबाट खेल सुरु हुने भएको छ । परिवर्तित समय भने पहिलो क्वालिफायर, इलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल खेलका लागि लागु हुने आइपिएल गभर्निङ काउन्सिलका प्रमुख राजीव शुक्लाले जानकारी दिएका छन् ।
शुक्लाले दर्शकले नै आइपिएललाई यँहासंम्म पुर्याएकाले उनीहरुको समस्यालाई सम्बोधन गर्दै आइपिएलका क्वालिफायर खेल र फाइनल खेल एक घण्टा अगाडी नै सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
आइपिएलको पहिलो क्वालिफायर खेल अब हैदरावाद र चेन्नईका बीच मे २२ मा मुम्बईमा हुने छ भने इलिमिनेटर खेल कोलकोता र राजस्थानका बीच मे २३ मा र दोस्रो क्वालिफायर खेल मे २५ मा कोलकोताको इडेनगार्डेन मैदानमा हुने छ ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल मे २७ मा मुम्बईमा हुने छ ।