जारी इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली ले स्पिनर सन्दिप लामिछानेको टीम दिल्ली डेयर डेभिल्स बाहिरिएको छ । १४ खेलमध्ये ९ मा हार र ५ मा जित निकाल्दै १० अंकसहित तालिकाको पुछारमा छ । तर, सोही टोलीबाट १२ औँ खेलमा आइपीएलमा डेब्यू गरेका सन्दिपले भने चारैतिर हाईहाई कमाएका छन् ।
३ खेलबाट ५ विकेट लिएका सन्दिपले दिल्लीलाई समेत यसअघिका खेल नखेलाएको थकथकी लाग्ने बनाए । पहिलो र दोस्रो खेलमा समान १ विकेट लिएका सन्दिपले तेस्रो खेलमा आफूलाई थप निखारे र मुम्बई इन्डियन्सको ३ विकेट झारे । उनको उत्कृष्ट प्रदर्शनबाट दिल्लीले खेल जित्यो । र, सन्दिपको नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै चर्चा चुलियो । यसले उनको भविष्य सुन्दर देखाएको छ । तर, यससँगै उनीमा अब थप चुनौती भने पक्कै थपिएको छ ।
यसपटक सन्दिपले गरेको प्रदर्शनले आगामी आइपीएलमा पनि उनी अक्सनमा पर्ने पक्का भएको छ । र, उनलाई आफ्नो टोलीमा राख्न पनि धेरैले चासो देखाउने छन् । यस्तोमा सन्दिपको मूल्य कति होला त रु भन्ने चासो पनि पक्कै छ ।
यो सिजन २० लाखमा बिकेका सन्दिपको अर्को सिजन स्वतः डिमानड हाई हुनेछ र त्यससँगै पैसा पनि । जानकारहरुका अनुसार सन्दिपका लागि रु ५० लाखभन्दा माथि रु १ करोडसम्म बोली लाग्न सक्छ । यो सारा नेपाली र नेपाली क्रिकेट टोलीका लागि खुसीको कुरा हो ।
अर्कोतर्फ सन्दिपले नेपालमा आफूजस्तै राम्रो क्रिकेट खेल्ने थुप्रै क्रिकेटर रहेको समेत बताउँदै आएका छन् । उनको यस कदमले अन्य नेपाली क्रिकेटरले पनि आइपीएलमा भाग लिने सम्भावना उत्तिकै बढेको छ ।