सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।
यो त सामान्य बुझाई भयो, अब ज्योतिषशास्त्रको परिभाषा तर्फ लागौं। ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ति पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ। अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।
यसरी सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा बर्ष मिलान गर्न अधिकमास र क्षयमासको चलन ठाँउ अनुसार फरक फरक हुन सक्दछ तथापी अधिकमास भने अधिक ३३ दिनलाई हरेक ३ बर्षमा समायोजन गर्ने चलन हो ।
सौर्यमास जस्तो चन्द्रमासको मापन ठोस हुँदैन, तिथीमा आधारित हुने भएकाले यो चन्द्रमास गतिमा निश्चित हुँदैन् । यहि नियम अनुसार अधिकमास या महिना बृद्धि हुने गर्दछ, अधिकमास खासै यहि महिना हुन्छ भन्ने हुँदैन् ।
अधिकमासलाई पुरुषोक्तम मास पनि भनिन्छ, यस मासको अधिपत्य भगवान सूर्यले ग्रहण नगरेको तसर्थ भगवान पुरुषोत्तम स्वयमले अधिपत्य स्वीकार गरेको किवंदन्ती छ । यस मासमा भगवान नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरु सामान्यतया चलेपनि बिवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने पुरुषेत्तम मासमा गरिने गरिन्न । मलमासमा पतिपत्नी बिवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारीक समबन्ध पीरोल्ने भनी मुर्हुतमार्तण्डीका र मुर्हुतचिन्तामणी लगायतका पुस्तकमा पाइएता पनि परम्परागत वैदिक परम्पराका प्राचिन ग्रन्थहरुमा भने यस्ता कुराहरु पाँइदैन् । अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभुक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ ।
बिसं २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन् ।
साभारः हाम्रो पात्रोका लागि सुयोग ढकाल