eNepal

अब मदिरा पिउनुअघि तीनपुस्ते खुलाउनुपर्ने

तपाईँ मदिरा पिउनुहुन्छ ?  यदि पिउनुहुन्छ भने अबको केही समयपछि तपाईँले मदिरा पिउनुअघि आफ्नो तीनपुस्ते उल्लेख गर्नुपर्नेछ । यातायात सिन्डिकेटको अन्त्यपछि गृह मन्त्री रामबहादुर थापा ‘वादल’ को निर्देशनमा गृह मन्त्रालयले मदिरा नियन्त्रण कार्ययोजना र लागुऔषध पूर्णरुपमा नियन्त्रण गर्ने प्रस्ताव तयार गरिरहेको छ । 

यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । मदिरा र लागुऔषधका कारण समाज विखण्डनदेखि अपराध बढेको निष्कर्ष निकाल्दै गृह मन्त्री थापाले पुराना ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ योजना तयार पार्न  गृह अधिकारीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । 

मदिरा पिउने निश्चित स्थान तोकिने

गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको प्रवक्ता रामकृष्ण सुवेदीले बताए । 

गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यो अभियानमा जनताको साथ र समर्थन आवश्यक देखिन्छ । 

सुवेदीले भने, “लागु औषध र मदिराका कारण समाजमा कलहदेखि अपराध बढेका छन् । अझ लागुऔषधले त घर–समाज नै सखाफ भएको छ ।”

उनले यसका लागि सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको समेत बताए । 

गृहकै एक अधिकारीका अनुसार मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने योजनासहितको तयारी मन्त्रालयले गरिरहेको छ । एक अधिकारीले भने, “हाम्रो कार्ययोजना लागु भएपछि रक्सी पिउने छुट्टै होटल तोकिन्छ । ती होटलको बोर्डमै यहाँ रक्सी पिउन पाइन्छ भनेर पनि लेखिन्छ ।”

“मदिराजन्य पदार्थ पिउनुअघि आफ्नो परिचयपत्र देखाएर तीनपुस्ते (आफ्नो, बुबाको र बाजे) को नामसम्म उल्लेख गर्नुपर्ने नियम आउन सक्छ,” ती अधिकारीले भने । 

प्रत्येक वडामा एक स्थानमा मात्र मदिरा बिक्री र खाने स्थान तोकिन सक्ने ती अधिकारीको भनाई छ । 

होटलहरुको वर्गीकरण

गृहको नयाँ प्रस्तावमा अब खाजा र रक्सी पिउने होटलको वर्गीकरणको प्रस्ताव पनि गरिएको छ ।

स्थानीय प्रशासनले नै कुन होटलमा रक्सी मात्रै बेच्न पाउने र कहाँ खाजा मात्रै हुने भन्ने अनुमति प्रदान गर्नेछ । यस्तो भएमा निश्चित स्थानमा मात्रै मदिराको बिक्री वितरण हुँदा सुरक्षा संयन्त्रलाई पनि अनुमगन गर्न सहज हुनेछ । हाल नेपालका सबैजसो होटलमा रक्सी पाइने अपराध र गुण्डागर्दी पनि बढेको गृह अधिकारीको निष्कर्ष छ । 

विदेशी रक्सीमा रोक, तारे होटललाई सुविधा

विदेशबाट आउने मदिरा पनि नियन्त्रण गर्ने गृहको योजना छ । यद्यपी तारे होटललाई भने यो सुविधा प्रदान गरिनेछ । तारे होटलमा प्रायः विदेशी पाहुना हुने भएकाले उनीहरुलाई यो छुट हुनेछ । आम नागरिकले सहजरुपमा विदेशबाट आउँदा उपहार भनेर मदिराका बोतल ल्याउन पाउनेछैनन् । ल्याइएको पाइएमा विमानस्थलमै बरामद हुनेछ । 

महिला र विद्यार्थी संगठनसँग छलफल

गृह मन्त्री थापाले पछिल्लो एक सातामा यो अभियानलाई सफल पार्न भन्दै अन्तरपार्टी महिला सञ्जाल र विभिन्न दलका विद्यार्थी संगठनका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा महिला र विद्यार्थी संगठनका नेताहरुले सरकारको यो अभियानलाई सहयोग गर्ने बताएको प्रेस सल्लाहकार किरण भट्टराईले बताए । गृह मन्त्रीसँगको भेटमा विद्यार्थीहरुले अभियानको घोषणाको दिन पुरै ‘रिङ रोड’ घेर्नेगरी एक लाख विद्यार्थी उतार्ने बचन समेत दिएका थिए । 

काठमाडौंमा घोषणा–प्रत्येक वडामा समिति

अभियान काठमाडौंबाटै सुरु गरिनेछ । अभियान घोषणासभामा विद्यार्थी, युवा, महिला, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, व्यवसायी सबैलाई उपस्थितिका लागि सार्वजनिक आह्वान गरिनेछ । झण्डै एक लाख जनताका बीचबाट अभियानको घोषणा गर्ने तयारी गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

मदिरा नियन्त्रण र लागुऔषध निषेधका लागि देशभरका सबै वडाहरुमा स्थानीय जनप्रतिनिधि, सुरक्षा संयन्त्र, नागरिक समाज, महिला समुह लगायत सबैको सहभागितामा नियन्त्रण तथा अनुगमन समिति गठन हुनेछ । त्यही समितिले सबै कुराको अनुगमनसँगै गल्ती गर्नेलाई कारवाहीको सिफारिस पनि गर्नेछ ।

मदिरा नियन्त्रण धर्म–संस्कृतिमाथीको प्रहार होइन : गृह प्रवक्ता

मदिरा र लागुऔषध नियन्त्रण अभियान कुनै पनि धर्म–संस्कृतिमाथीको प्रहार नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सुवेदी भन्छन्, “नेपालमा कयौं जातजातीले पुजाआजा गर्दा रक्सीको प्रयोग गर्छन् । यसप्रति हामी सचेत छौं । हामी धर्म र परम्परा विरोधी होइनौं तर धर्मका नाममा अनावश्यक उत्पादन हुनुभएन ।”

यसबारे गृहमन्त्री थापासँग पनि जनजाती सम्वद्ध विभिन्न संघ–संगठनले छलफल गरिरहेका छन् ।

१८ वर्ष मुनीकाले बेच्न र पिउन पाइँदैन मदिरा !

मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५ मा मदिरा बेच्ने समय लगायतका विषय उल्लेख गरिएपनि कार्यान्वयन हुन सकेका छन् । निर्देशिकामा डिपार्टमेन्टल स्टोर्सले मदिराजन्य पदार्थ बिक्री गर्न छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्न पाइने, १८ वर्ष उमेर नपुगेका व्यक्तिले सेवन र किनबेच समेत गर्न नपाउने उल्लेख छ । 

तर निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

साभारः बार्हखरी

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349