स्याङ्जा पुतलीवजारकी मेयर सीमा क्षेत्री ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा स्थानीय तहको भूमिका’ सम्बन्धी गोष्ठिमा सहभागि हुन कास्कीको पोखरा पुगेकी थिइन् ।
कार्यक्रम सकिएपछि उनी अपरान्ह ४ बजेको समयमा फेवातालको पामे क्षेत्रमा घुम्न निस्किइन् । तालको किनारामा चिप्लेर उनी फेवातालमा खसिन् । उक्त दुर्घटनाका समयमा मेयर सीमाका साथमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्ल र उपमेयर महेश पुरीपनि साथ मै थिए । चिप्लिएर तालमा खसेकी मेयरलाई मल्ल र पुरीसहित नगरपालिकाको गाडीका चालक र विदेशी पर्यटकले उद्धार गरे ।
राति नौ बजेको समयमा एकाएक सीमाले फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेको भन्ने समाचार अनलाइन समाचार माध्यम र सामाजिक सञ्जालमा छायो । यो खवरले सीमाको परिवारमा तनावमा पर्यो ।
के भन्छन् सीमाका पति ?
हाम्रो सम्पर्कमा आएका पति टेकबहादुर भुजेलका अनुसार सीमाले आत्महत्या प्रयास गरेकी थिइनन् ।
शुक्रबार विहान ११ बजे सीमासँग टेलिफोन सम्पर्क गर्दा उनी नगरपालिकाको कार्यपालिका बैठकमा थिइन् । उनको मोबाइल फोन पति टेकबहादुरले उठाए ।
‘सीमा अहिले नगरपालिकाको कार्यपालिका बैठकमा छिन्, मिडियामा आएका समाचारले हामीलाई तनाव दियो’ भुजेलले लोकान्तरसँग भने, ‘फेवा किनारामा हिँडिरहेको समयमा चिप्लेर पानीमा खसेकी रहिछन् । नियतवश नभइ दुर्घटनाबस भएको घटनालाई फरक ढंगले प्रस्तुत गरियो ।
घटना भएको केही घण्टामै सीमा पुतलीवजारस्थित निवासमा पुगेकी थिइन् । नगरपालिकाका कार्यकारी अधिकृत र उपमेयरले उनलाई घरमा छाडेका थिए ।
‘सीमालाई माइग्रेनको समस्या देखिएको हो, बाहिरप्रचार गरिएजस्तो डिप्रेसनको समस्या होइन’ भुजेलले भने, ‘काठमाडौंमा एक महिना बसेर माइग्रेनको उपचार गरेकी थिइन् ।’