खोलामा जलाउँदा पानी दूषित हुने, डाँडामा जलाउँदा वायु प्रदूषित हुने र माटोमुनि गाड्दा पर्यावरणमा असर पुर्याउने मान्यता भएकाले परापूर्वकालदेखि नै शवलाई काटेर गिद्धलाई ख्वाउने चलन छ।
शरीर चिराचिरा पारे पुग्छ, लुछेर गिद्धले खान्छ। तर, टाउको र हाड ढुंगाले किच्याएर फुटाउनु पर्छ, जुन गिद्धले निल्न सकुन्।
यो उपल्लो मुस्ताङ क्षेत्रमा शवको सत्गत गर्दाको अवस्था हो। शवलाई काटेर गिद्धलाई ख्वाउने परम्परागत सांस्कृतिक प्रचलन उपल्लो मुस्ताङमा अझै पनि कायमै छ।
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङको सीमावर्ती क्षेत्र उपल्लो मुस्ताङमा अझै पनि शव चोक्टाचोक्टा पारेर काटेर गिद्धलाई ख्वाइन्छ। अन्य समुदायले यस्तो कुरा सुन्दा आश्चार्य मान्छन्। यहाँ भने सामान्य मानिन्छ। करिब ६० वटा शव काटिसकेका लोमान्थांक गाउँपालिका– ५ का ३६ वर्षीय आङ्गेल गुरुङ प्रफुल्ल मुद्रामा भन्छन्, ‘प्रायः आफन्तजनकै शव काटेर गिद्धलाई ख्वाएँ।’ गुरुङका अनुसार शव काट्न पाउनु उनको समुदायमा धर्मप्राप्ति गर्नु सरह हो।
आम नेपाली समुदायमा मृत्युपश्चात् शव जलाउने, माटोमा गाड्ने चलन छ तर माथिल्लो मुस्ताङ क्षेत्रमा आङ्गेलजस्तै सयौ व्यक्ति शव काटेर गिद्धलाई ख्वाउँछन् र सत्गत गर्छन्। लोवा जातिको विष्ट, गुरुङ र विश्वकर्मा थरका समुदायले यसरी शवको व्यवस्थापन गर्छन्। बुद्ध धर्म मान्ने समुदाय भएकाले लामा धर्मगुरुहरू सांस्कृतिक रूपमा धर्म प्राप्त गर्न शवलाई फरक तरिकाले व्यवस्थापन गर्ने गरेको बताउछन्।
लामासमेत रहेका लोमान्थांक गाउँपालिका– ५ का वडाध्यक्ष रिन्जिङदोर्जे विष्टका अनुसार खोलामा जलाउँदा पानी दूषित हुने, डाँडामा जलाउँदा वायु प्रदूषित हुने र माटोमुनि गाड्दा पर्यावरणमा असर पुर्याउने मान्यता भएकाले परापूर्वकालदेखि नै शवलाई काटेर गिद्धलाई ख्वाउने चलन छ। गिद्धलाई शव दिने चलन वैज्ञानिक र प्रभावकारी भएको उनको तर्क छ।
मृत्युपछि दर्जन बढी लामाले तीन दिनसम्म पूजा गरेर तिव्बतियन पात्रो (दतु) अनुसार साइत हेरेर कुन क्षेत्रमा लाने भनी यकिन गर्छन्। यकिन गरिएको दिशातिर लामबद्ध भएर शव लगिन्छ। एकोहोरो शंख (थुङ) बजाएपछि गिद्धको उपस्थिति हुन्छ। त्यसपछि शव चिराचिरा पारेर गिद्धलाई खान दिइन्छ। आङ्गेलका अनुसार हाड र टाउकोलाई काटेर, फुटाएर गिद्धले खान सक्ने गरी सानो बनाइन्छ।
शव आफ्नो कुलका सन्तानले काट्न मिल्दैन, कुटुम्ब लाग्ने व्यक्तिले मात्र काट्छ। भान्जा, ज्वाइँलगायतका आफन्तले शव काट्ने जिम्मा लिन्छन्। शव काट्न पाउँदा उनीहरू खुसी नै हुन्छन्। अनुभवी आङ्गेलका अनुसार शवलाई काँक्रोजस्तै गरी चिरा पारेर चोक्ट्याएर गिद्धलाई खान सहज बनाउनुपर्छ। तर धनी व्यक्ति शव काट्ने धेरै हुन्छन्, गरिबको काट्ने कम हुन्छन्। गाउँमा मृत भएका गरिबको शव काट्न कोही नजाँदा उनी आफूले गएर डाँडामा लगेर काटेको अनुभव सुनाए।
धेरै संख्यामा गिद्ध आउने हुँदा एउटा शव गिद्धले १० मिनेटमै हारालुछ गरेर सक्छन्। भोट बर्मेली जातिमा हत्याहिंसा नगर्ने, मरेको सिनो मात्र खाने चलन अझै छ। उनीहरूको चलनमा मृत शरीर २४ घन्टासम्म मृत हुदैन। त्यसैले दिनभर पूजा गरेर अर्को दिन मात्र शव काट्ने गरेको धर्मगुरुहरू बताउँछन्।
केही वर्षअघिसम्म त्यस क्षेत्रको राजपरिवार मानिएको विष्ट परिवारले शवलाई जलाउने गरेका थिए। तर विष्ट परिवार पनि जलाउनुभन्दा काटेर खुवाउनु राम्रो भन्दै गिद्धलाई नै ख्वाउने गरेको स्थानीय सुरेन्द्रकुमार विष्टले बताए। यसरी नै आत्माले सहज शान्ति पाउने हुँदा विष्ट परिवारले पनि जलाउन छाडेको उनको तर्क छ।
बर्खामा खोलामा र हिउँदमा डाँडामा लगेर शव काटिन्छ। मुस्ताङको मुक्तिनाथ, छुसाङ, घिलिङ, चराङ, यारा, धारा, छोसेर, छोनुप, लोमान्थांक, सुखिङ, नेचुङ, चइले, समर भेना, स्याङबोचे, घामी, घिलिङलगायतका उपल्लो मुस्ताङका गाउँमा शव काटेर गिद्धलाई दिइन्छ। पहिले खुल्ला हातले शव काटिन्थ्यो। हालका युवाहरू कपडा र पञ्जा लगाएर शव काट्छन् र त्यो कपडा त्यही फाल्छन्। यसले प्रदूषण बढाएको छ।
सन् १४४० मा मुस्ताङ स्वतन्त्र राज्य स्थापना हुनु अघि देखिको शव काट्ने चलनलाई आजसम्म निरन्तरता दिँदै आएको पाइन्छ। मुस्ताङका प्रथम राजा आनेपालदेखि २४ औं मुस्ताङ राजा जिग्मे पर्वल विष्टसम्म आइपुग्दासम्म यो परम्परालाई सांस्कृतिक रूपमा कायमै राखिएको छ। सरकारले तिब्वतसँग जोडिएको कोरला नाकालाई प्राथमिकता दिएर सडक विस्तार तीव्र बनाएपछि यस क्षेत्रका बासिन्दा आफ्नो परम्परागत संस्कृति गुम्ने चिन्तामा छन्।
लोमान्थांकका ४ नम्बर प्रदेश सदस्य इन्द्रधारा विष्टको विचारमा बदलिँदो परिस्थितिमा पनि यहाँका सांस्कृतिक परम्परालाई बचाउनु प्रमुख कर्तव्य हो। आफ्नो मौलिक परम्परा जोगाउन माथिल्लो मुस्ताङ प्रवेशमा कडाइ थालिने लोमान्थांकका–५ वडाध्यक्ष रिन्जिङदोर्जे विष्ट बताउँछन्।
(अन्नपूर्णपोष्ट दैनिकको फुर्सदबाट साभार)