eNepal

बा भन्दै हुनुहुन्थ्यो-“छोरा छोरी दुई ढुङ्गा बिचको तरुल जसरी बस्न बाध्य छन् अस्ट्रेलीयामा”

गएको हप्ता एक बिशेष कामले एकजना दाईलाई भेट्न भनेर यसो मेल्बोर्नको उत्तरको पाखो हानिएर गएँ। दिन छोटा हुने भएकोले रात झमक्कै परि सकेको थियो। दाईको घरमा एकाएक एकजना बुबासँग जम्काभेट भयो। नेपाल एउटै ठाउँ अनि पहिलादेखी चिनाजानी भएकोले यसो भेटौ नेपाल फर्किने बेलामा भनेर आउनु भएको रहेछ। उहाको साथमा आमा पनि हुनुहुन्थ्यो। 

करिब एकघण्टाको बसाईमा बुबाको कुराले मलाई पनि गम्भिर भएर सोच्न बाध्य बनायो। छोरा छोरी बिदेश जान्छन् पढ्छन् यसो फोन गर्छन् राम्रो छ त भन्छन् तर आँखाले नदेखे पछि मन कहाँ चित्त बुझ्थ्यो र। पापी मनले कुरा नि के के खेलाउने। भोक भोकैपो छन् कि, गार्हो सार्हो पो पर्यो कि, काम नपाएर तनाबमा बसेका छन् कि। भन्न त भन्छन् नि राम्रो छ पिर मान्न पर्दैन तर कतै हामीलाई पिर मान्छन् कि भनेर बहाना पो बनाएका हुन् कि। आमाको मन पोली राख्ने। आएर हेरे पछि ढुक्क भईयो। राम्रै तरिकाले बसेका रहेछन्। बाबा भन्दै थिए कति राम्रो देश सबैलाई आउन दिने सबै कत्ति मज्जाे अटाएका। छोरा छोरीको ग्रेजुएसन, नाती नातीना जन्मदा, न्वारण, पास्नी, जन्मदिन मनाउन बोलाउँछु भन्दा सजिलै भिषा दिने। काम पनि मज्जाले दिने अनि कमाएको पैसा यहि खर्च गर भनेर खर्च गर्ने बाटाहरु पनि प्रसस्तै बनाई दिने। सुबिधा पनि त्यस्तै राम्रो दिने। कसैलाई कसैको मतलब पनि नभएको। आआफ्नो काम गरेका छन् आनन्दले बसेका छन्। के खाउँ भनेर सोच्नै नपर्ने। खान मनभए गुन्द्रुक देखी मस्यौरा, रायोको साग देखि कुभीन्डो, छाला भएको खसीको मासु देखी बफ मोमो सबै पाउने कति गजबको शहर रहेछ।

छोरा छोरीले मायाँ गरेर बा आमालाई बोलाउँछन्। तर बाहरु चाँही खासै बस्न नसक्ने रहेछन्। नेपालमा आफुले खटन गरेर रजगज गरेका बसेका बाहरु यता आएपछि छोरा छोरीको खटनमा बस्नु पर्ने। दिन भरि घरमा बस्न पनि बाहरुलाई गार्हो। टिभी कत्ति हेर्ने। आमाहरु त भुलिन्छन् नाती नातीना छन् भने उनिहरुसँगै बोल्ने खेल्ने हिड्ने गरेर। फेरी घुम्न जाउँ एक्लै जाने कुरो हुँदैन। नेपालमा गाडी कुदाको भरमा यहाँ कुदाउन सकिन्न। आँट पनि नआउँदो रहेछ।

हुन पनि प्राय एक बर्षको भिषामा आएका बा आमा मध्य बाहरु धेरैमा तिन महिना बस्न रुचाउँछन्। कारण आफ्नो हैकम नहुने। हैकम गर्नलाई रोकटोक हुँदैन तर केमा गर्ने हैकम। आफुले खटाएर पैसा दिएका छोरा छोरीको आशमा बस्न पनि नसकिदो रहेछ। बा आमा भरे कामबाट आएपछि घुम्न जाउँला है भन्छन्। लौ त नि भन्यो भित्ताको घडी हेर्यो। यसो नजिकैको पार्क गयो। समय जबरजस्ती कटायो। घुम्न जाने भनेर कस्सिएर गएका छोरा छोरी फर्किदा ओईलाएको साग जसरी आउँछन् कता घुम्न जाउँ भन्नु। भो छोड्देउ पछि जाउँला भन्यो।

ह्या यस्तो दुख कति गर्छौ हौ भो छोड्देउ बोरु मिठो मसिनो खाएर बस्न सक्ने सम्पती नेपालमै छ भनेर भन्यो। के गर्नु मुखमा बिर्कोनै लाग्छ। हुन पनि हो। अब त बानी बिग्री सक्यो। गएर बस्न नसक्ने होईन तर बानीले गर्दा बस्न सकस हुन्छ। दुध लिनलाई खुर्रर गाडी चडेर जाने बानी, काममा जाँदा गाडीमा घरबाट ट्रेन स्टेसनमा राखेर जाने बानी, खान मन मात्र लाग्न पर्यो गएर ट्याप्प टिपेर ल्याएर खाएको बानी। सबै भन्दा मुख्य त छोरा छोरीको रहनसहन सबै यतैको भयो। भाषा देखि सँस्कृती यतैको जानी सकेका छोरा छोरी कसरी नेपाल गएर बस्न सक्छन्। 

अर्को कुरा सार्है चित्त बुझेको। उ बेला बेलैमा सन्तान जन्माईयो। बेलैमा हुर्किए। सबैलाई पढाईयो। पढे जान्ने बुझ्ने भए लाखापाखा लागे। आफ्नो भविस्य बनाए कोही देशमा रहे पखेटा हुनेहरु उडे बिदेशीए । अनि त्यहि कुरा छोरा छोरीलाई भन्यो। बेलैमा सन्तान बनाओ भन्यो। बेला भा छैन भन्छन्। पिआर आएपछि घर किने पछि भनेर अड्को थाप्छन्। सन्तान भन्ने कुरा तिथी मिती साईत जुराएर हुने होईन यो त भगवानको कृपा हो। फलानोले पिआर नि लिए, घर पनि किने। सन्तान चाहा भएर हरतरह कोशीस गरेका छन् तर सन्तान भएको छैन। उमेरले पनि ढिला भयो। अब अहिले आत्तिएर के गर्ने। बेलैमा बच्चा बच्ची जन्मायो भने जसरी पनि हुर्किन्छन् भन्यो मानेनन् अहिले बच्चा बच्ची नभएर तनाबमा छन्।

के गर्ने यता परदेशिएका छोरा छोरीलाई पनि सार्है तनाब छ। फुत्त छोडेर जाउँ यत्रो बर्षको लगानी मेहिनेत सबै खेर जाने। छोरा छोरी पनि हुर्किए अव लैजाउँ उनीहरुलाई सकसनै होला।बा आमालाई यतै आउनु होस् आएर यता बस्न नसक्ने। अस्ट्रेलीया आएका छोरा छोरी दुई ढुङ्गा बिचका तरुल जसरी बस्न बाध्य छन्।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349