eNepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

पुर्खाहरु भन्थे– यो पृथ्वीमा जतिन्जेलसम्म बसेर आउनु भनेको छ, त्यतिन्जेलसम्म बस्नुपर्छ। सबै कुराहरु लेखिएरै आएको हुन्छ। हुने हारलाई दैवले पनि टार्न सक्दैनन्। उनीहरु भन्थे– मान्छेको जिन्दगी सुखदुखले भरिएको हुन्छ। कहिल्यै पनि, सुखमा मात्तिनु र दुखमा आत्तिनु हुन्न।

पिपलडाँडा, सिन्धुपाल्चोकका हेमबहादुर खत्रीको अनुभव भन्छ– उनले सुनेको सही रहेछ। तीन वर्षअघि, वैशाख १२ गते गएको महाभूकम्पमा हेमबहादुर खत्रीले परिवारका आफ्ना ६ जना सदस्य गुमाए। श्रीमती, बुहारी, १५ महिनाकी नातिनी, माइत आएकी २९ दिनकी सुत्केरी जेठी छोरी र नातीसँगै माइली छोरी एउटै घरमा पुरिए। कोही बाँचेनन्। कान्छी छोरी त्यही घरमा भए पनि माथिल्लो तलामा रहेकाले बाचिन्। हेम र एकमात्र छोरा भने त्यसदिन घरमा थिएनन्। काम विशेषले दुवै ससुराली गएका थिए। दुवै जना बाँचे।

तर, बाबु–छोरा दुवैको परिवार क्षणभरमै तहसनहस भयो। दुई दिन लगाएर लास निकालियो। सिमसिम पानी परिरहेको थियो, ओत लाग्ने ठाउँ थिएन। तीन दिनसम्म सामुन्ने लास रुँगेर बसे। लास बोकेर लैजाने मान्छेसम्म भेटेनन्। लगातारको कम्पनका कारण गाउँका अन्यलाई जीवन जोगाउनै ध्याउन्न थियो। वैशाख १४ गते गाउँकै एक दुई जनाको सहयोगमा नजिकैको खोलामा लगेर सबै लासलाई गाडेर दाहसंस्कार गरियो । दिनदिनै लास दुर्गन्धित बन्दै गएकाले उनीहरु जलाएरै दाह संस्कार गर्ने स्थितिमा थिएनन्।

‘जिन्दगी के रहेछ ? अहँ, केही रहेनछ। तर पनि सर्बस्व सकियो भनेर जिन्दगी त्याग्न नसकिने रहेछ। संसार नै यसरी चल्छ भनेर चित्त बुझाउनुको विकल्प छैन’, हेम नाकका दुवै किनारसम्म आएका आँसु दुवै हातले पुछ्दै केहीबेर निहुरिए। महाविपत्ति देखेका/भोगेकाहरु त्यतिबेला भन्थे– भूकम्पले हामीलाई किन लगेन? यो देख्नु/भोग्नुभन्दा बरु मरेकै भए जाति हुन्थ्यो।

हेमको मुटु हल्लिन्थ्यो, यस्ता कुराले। ‘आफूभन्दा माथिका मृत्यु भए भने वास्ता नहुने रहेछ। बाबु–बाजे बित्दा विस्तारै सम्झना हराउँछ। तर आफूभन्दा तलका बिते भने साह्रै गाह्रो हुने रहेछ। त्यसमा पनि यति ठूलो संख्यामा गुमाउनुको पीडा एकातर्फ छँदै थियो, बाँकी बँचेका दुई सन्तानको चित्त बुझाएर अगाडि बढ्नु उत्तिकै गाह्रो थियो’, हेमले भनेजस्तै उनीसामु दुखका पहाड थिए।

तर, १७ वर्ष नेपाल प्रहरीको जागिर खाएको यो ‘सिपाही’ सेवानिवृत्त जीवनमा जिन्दगीको लडाइँ लड्न फेरि तयार थियो।

करिब नौ हजारको ज्यान जाने गरी गएको महाभूकम्पको तेस्रो वर्ष पुरा हुनु एक दिनअघि पिपलडाँडामा हेमलाई भेट्न पुग्दा उनी आफ्नै घरको आँगनमा छिमेकी होमबहादुर बस्नेतसँग गफिइरहेका थिए। घरभित्रबाट बच्चा रोएको आवाज सुनिइरहेको थियो।

‘बितिसकेका कुरालाई पनि दोहोर्‍याउनुपर्छ र अहिले ? सम्झेर ल्याउँदा आँसु झरिहाल्छ, पुरानो घाउलाई नकोट्याउँ लाग्छ’, क्यामेरा अगाडि तेर्स्याएर भूकम्पको प्रसंग कोट्याएलगत्तै हेम मलिन देखिए। म अक्क न बक्क भएँ। तर महाविपत्तिपछि उनी कसरी सामान्य जीवनमा फर्किएका छन् भनेर बुझ्नु थियो। मैले मनाउने प्रयास गरेँ, उनी कुरा खोल्न तयार भए। माउलाई स्यालले लगेपछि चल्लाहरुलाई पर्ने आपतको उदाहरण दिएर आफ्ना अनुभवका केस्राहरु कोट्याउन थाले।

करिब डेढ दशकको प्रहरी सेवामा उनी देशका विभिन्न ठाउँमा पुगेका रहेछन्, दुखका चरम रुपहरु देखेका रहेछन्। त्यसबीचमा उनले निकै धेरै लासहरु बोके, विभिन्न घटनामा। मृतकका आफन्तका दुख र वेदनाहरु देखे/सुने। यो अनुभव कुनै दिन आफ्नै परिवारबाट प्राप्त होला भन्ने उनको कल्पनामा पनि थिएन।

बरु सेवानिवृत्त जीवनमा छोराछोरीको विवाह गर्ने, नातिनातिना खेलाउने, परिवारमा रमाउनेमै उनको दिनचर्या बितिरहेको थियो। चरम पारिवारिक सुख महसुस गर्दै थिए। ‘सबै छोराछोरी,नातिनातिना, श्रीमतीलाई वरिपरि राखेर गफ गर्दा, खाना खाँदा कति हो कति आनन्द आउँथ्यो’, उनी भुकम्पअघिको जीवनमा फर्किए। एउटा परिवार बनाउन, हुर्काउन अरुले जस्तै उनले पनि निकै दुख गरेका थिए। आफूलाई बिर्सिएर परिवारकै लागि अनेक सम्झौता गरेको उनीसँग पनि धेरै उदाहरण छन्। ५०/६० वर्षको उमेर एउटा ब्यक्तिका लागि परिवार सुखको अनुभव गर्ने समय पनि हो। तर त्यही उमेरमा हिँडिरहेका हेमको जिन्दगीमा एकाएक आकाश खसेजस्तै भयो।

‘ मान्छेलाई आफ्नो दुख सँधैं ठुलो लाग्छ। मलाई पनि लाग्यो। ती मैले लाश बोकेका मृतकका आफन्तलाई पनि त यस्तै महसुस हुन्थ्यो होला। यत्ति हो, मेरो परिवारमा मानवीय क्षति बढी भयो। तर अब त्यसैलाई सम्झेर, रोएर बसेर पनि त भएन। संसार यसरी नै चल्ने रहेछ भन्यो, चित्त बुझायो’, हेम भावनामा पोखिए।

भूकम्प गएको एक वर्षसम्म एक छोरा र एक छोरीसहित तीन जनाको परिवार टहरामै बस्यो। त्यसपछि भत्किएको घरको छेवैमा घर बनाए। पारिवारिक अवस्था राम्रै भएकाले घर बनाउन सरकारको मुख ताकेनन्।

छोरा र छोरी दुवैको बिहे गरिदिए। अहिले छोरा–बुहारी र नातिनीसँग बसेर दिनचर्या बिताईरहेका छन्, हेम। श्रीमती र छोरी गुमाएका हेमका छोराको वैवाहिक जिन्दगी पनि सुरु भएको छ। उनी गैरसरकारी संस्थामा काम गर्छन्। ‘पहिलाको नातिनीजस्तै नातिनी जन्मेकी छे’, हेमले यसो भनिरहँदा भित्र रहेकी नातिनीले रुन छाडिसकेकी थिइन्। त्यहीबीचमा हेमका छोरा आँगनमा टुप्लुक्क देखिए। सायद, भूकम्पकै विषयमा कुरा गरिरहेको लागेर हुन सक्छ, उनी घरभित्र छिरिहाले।

भूकम्पको चोटले हेमलाई हरेक दिनजसो सताइरहन्छ। नचाहँदानचाहँदै पनि भूकम्पमा ज्यान गुमाएका श्रीमती, छोरी, नातिनी सबै यादमा आइरहन्छन्। आफूलाई देख्ने बित्तिकै ‘बाबा..बाबा’ भन्दै आमाको काख छाडेर आफूतर्फ आउन खोज्ने नातिनी र पारिवारिक काममा आफूलाई बलियो साथ दिएकी माइली छोरीलाई उनी असाध्यै सम्झिन्छन्। ‘आफूभन्दा सानाको माया निकै लाग्दो रहेछ। त्यति धेरैको अभिभावक थिएँ। अहिले दुई तीन जनामात्र घरमा हुँदा हरेक दिन के नपुगेको के नपुगेका जस्तो त लागिहाल्छ नि’, हेम भन्छन्।

छेवैमा बसेका होमबहादुर बस्नेत अघिदेखि केही बोल्न खोजिरहेका देखिन्थे। नाताले भान्जा पर्ने हेमको कुरा सुनेर उनी पनि कहिले भावुक त कहिले खुसी देखिन्थे।

‘मेरो परिवारमा कसैलाई केही नभएर पनि हुन सक्छ, यत्रो हुँदा पनि यी भान्जा सधैं कसरी हाँसेर बस्न सकेका छन् जस्तो लाग्छ। हामी उहाँलाई देखेर छक्क पर्छौै, कति बलियो मुटु भएको मान्छे होला भनेँर। हामीलाई कहिले पनि लाग्दैन कि उहाँको जिन्दगीमा त्यस्तो घटना भएको थियो भनेर’, हेमतर्फ हेर्दै उनी बोले, ‘जिन्दगी त फिल्मजस्तो रहेछ। मान्छेले सबै सहनुपर्ने।’

प्राय: आर्मी र पुलिसका परिवारको बस्ती रहेको पिपलडाँडा गाउँमा मात्र भुकम्पमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको थियो। हरेक घर जसोले आफन्त गुमाएका थिए। यस गाउँमा अहिले पनि धेरै परिवार टहरामै छन्, घर भत्किएकै ठाउँमा जस्ताले बेरेर बसेका छन्। केहीले घर बनाउँदै छन्। आर्थिक अभावमा केही घर निर्माण हुनेक्रममा अलपत्र देखिन्छन्। निकै थोरैले मात्र फेरि घर बनाएर बसेका छन्। यसबीचमा हेमले घर बनाएको करिब दुई वर्ष भईसकेको छ, परिवारलाई पनि ठड्याउँदैछन्।

‘मान्छेलाई बस्ने ठाउँ भन्ने चिज ठूलो कुरा रहेछ। भूकम्पको बेला एउटा टेन्ट पाउँदा पनि दरबार पाएजस्तो भएको थियो। टेन्टमा आइसकेपछि मान्छेले अलिक दुख बिर्सियो। त्यसपछि घर बनाएर सरेपछि अझ भूकम्पलाई बिर्सियो । अब ध्यान वर्तमानमै केन्द्रित हुन थाल्यो’, हेम बोले।

फेरि भूकम्प आउँछ आउँदैन कसैलाई थाहा छैन। तर, हेम जिन्दगीका सम्भावित सबै दुख र चुनौतीसँग लड्न तयार छन्।

लेखक: लोकेन्द्र प्रसाई

साभार: देश सन्चार

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349