eNepal

बेखबर धरोहर

प्रकट पगेनी ‘शिव’

पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका बुवा। विजयचाहिँ समरबहादुरका तीन छोरामध्येका माहिला।

विक्रमाब्द २०३३ सालमा म क्याम्पस पढ्न देउराली उकाली कास्कीबाट पोखरा झरेँ। पृथ्वीनारायण क्याम्पसअगाडि राजु बड्गामीको घरमा डेरा थियो। एक दिन राजुले आफ्ना मित्र साहित्यकार तीर्थ श्रेष्ठसँग परिचय गराउनुभयो। पोखरा झरेपछि पहिलो साहित्यिक व्यक्तित्वसँगको भेट उनैसँग भएको थियो। केही दिनपछि नै तीर्थले मलाई मोहरिया टोल लगे र वरिष्ठ कलाकार दुर्गा बराल र विजय बजिमयसँग भेट गराइदिए। संयोगले विजयको घर वारि थियो भने दुर्गा बरालको ‘इगल आई आर्ट स्टुडियो’ ठिक बाटोपारि।

कोठाभित्र र्यावकमा किताबै किताब। छरपष्ट छरिएका गोरखापत्र, राष्ट्रपुकार, समीक्षा, नयाँसन्देश, आस्थाजस्ता दैनिक एवं साप्ताहिक पत्रिका। मधुपर्क, रूपरेखा, भानु, सञ्चय, अभिव्यक्ति, रचना, यति, श्रीनगर, पाहुरजस्ता शृंखलाबद्ध साहित्यिक पत्रिका। नवनीत, सरिता, कादम्बिनी, धर्मयुग, दिनमान, फिल्मफेयर, स्टारडस्टजस्ता हिन्दी पत्रिका आदि। पक्का साहित्यकारको कोठाजस्तो। पुस्तकालयजस्तो थियो विजयको कोठा। विजयले त्यसलाई ‘हाम्रो पुस्तकालय’ नाम दिएका थिए। साहित्यिक पुस्तक–पत्रिका पढ्ने रुचि भएकाले त्यसपछि म विजयको कोठामा जान थालेँ। छानीछानी पढ्न पाइन्थ्यो। त्यति बेला विजयसँग सवारी साधन थिएन। शारीरिक अशक्तताका कारण उनी प्रायः घरमै हुन्थे। पछि नाटकको सिलसिलामा सरुभक्त, उषा भट्टचन (पछि शेरचन) र विक्रम गुरुङसँग भेटघाट र परिचय भयो। यी सबैको परिचय, भेटघाट र उठबसले नै मलाई लेखनमा प्रेरणा दिलायो र उत्साह जगायो।

विजयको घर हाम्रा लागि भेटघाटको उचित माध्यम बन्यो। सरुभक्त, तीर्थ, उषा दिदी, नवराज कार्की र म प्रायः विजय निवासमा भेटिन्थ्यौं। आफूले लेखेका नयाँ रचना त्यहीँ सुनाउँथ्यौं। कार्यक्रमको तर्जुमा गथ्यर्ौं। त्यति बेला पोखरेली युवा सांस्कृतिक परिवार र साहित्य प्रेमी परिवार दुई संस्था थिए। सांस्कृतिक परिवारमा सरुभक्त, विक्रम गुरुङ, सरोजगोपाल र नवराज कार्कीहरू आबद्ध थिए भने साहित्यप्रेमीमा विजय, दुर्गालाल, तीर्थ, उषा दिदी र म। स्थापनाकालको एक–दुई वर्षभित्रै साहित्यप्रेमी परिवार सांस्कृतिक परिवारमै विलय भएपछि हामी एउटै संस्थाका सदस्य भयौं।

शनिबार साँझ विजयको घरमा भेट्ने र नयाँ रचना सुनाउने नियम बसालेका थियौं हामीले। यसले हाम्रो लेखनमा जागरुक बनायो। जे जति रचना सिर्जिए पनि तिनको प्रत्यक्ष–अप्रत्यक्ष श्रेय विजयसँगको अन्तरंगलाई दिनुपर्छ। उनले त्यो माहोल उपलब्ध नगराएको भए हाम्रा कतिपय रचनाको जन्म हुने थिएन। पोखराको साहित्यिक विकासक्रम विकसित भएर यहाँसम्म आउनु र समग्र नेपाली साहित्यको श्रीवृद्धि हुनुमा विजयको साधना, समर्पण, सोच र हार्दिकतलाई आँखा चिम्लिन मिल्दैन। यी कुराको उत्खनन् गर्ने हो भने यथेष्ट प्रमाण भेटिन्छन्।

सिर्जनाको पनि मूल्य हुन्छ भन्ने उद्घोषका साथ ‘टिकटमा मुक्तक कार्यक्रम’ गर्नु त्यस बेलाको सर्वथा नौलो र चुनौतीपूर्ण साहित्यिक अभियान थियो। पोखरेली युवा सांस्कृतिक परिवारको आयोजना रहे पनि कार्यक्रमको जिम्मेवारी विजयले सम्हालेका थिए। उनकै निवासमा तीर्थ श्रेष्ठको परिकल्पनामा ‘खुल्ला आकाश खुल्ला अभिव्यक्ति’ कार्यक्रममको जन्म भएको थियो, जुन पछि ‘समता काव्य सन्ध्या’मा परिणत भयो। तीर्थसँग योजना हुन्थ्यो, सरुभक्त र उषासँग जाँगर हुन्थ्यो र विजयसँग कार्यदक्षता। धेरै काम विजयकै घरमा सम्पादन हुन्थे।

विजयले ‘आँखीझ्याल’, ‘मुक्तक गोजी पत्रिका’, ‘फेवाताल’, ‘सामयिक संकलन’, ‘वातावरण’, ‘नौलो डाँको’ साप्ताहिक पत्रिकाको सम्पादन र प्रकाशन गरे। मुक्तक, कथा, कविता, गजल, लेख आदि थुप्रै विधामा कमल चलाए। उनको ‘अन्तगोतत्वा’ कथा संग्रह  र कविता कृति ‘समय भनेको समय हो’ प्रकाशित छ।

काठमाडौं र अन्य ठाउँबाट विभिन्न काम वा साहित्यिक कार्यक्रम लिएर पोखरा पुग्ने प्रायः साहित्यकार विजयकै घरमा पुग्थे। मैले हरिभक्त कटुवाल, केशवराज पिँडाली, मदनमणि दीक्षित, भवानी घिमिरे, राष्ट्रकवि माधव घिमिरे, मोहन कोइराला, क्षेत्रप्रताप अधिकारी, धुस्वाँ सायमी, कृष्णचन्द्र सिंह प्रधान, विजय मल्ल, चेतन कार्की, वाशु शशि, परशु प्रधान, तुलसी दिवस, नगेन्द्रराज शर्मा, हेम हमाल, जैनेन्द्र जीवन, शैलेन्द्र साकार, रामकुमार पाँडे र मञ्जुलजस्ता अग्रज साहित्यकार र अशेष मल्ल, किशोर पहाडी, विधान आचार्य, प्रमोद प्रधान, अमृतलाल श्रेष्ठ, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, शुभ श्रेष्ठ, वनमाली निराकार, विवश पोखरेल, नारायण तिवारी, ध्रुव मधिकर्मी, लव गाउँले, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ, रमण घिमिरे, विष्णुविभु घिमिरे, इन्दिरा प्रसार्इं, सीता पाण्डे, दिनेश सत्याल, दिनेश अधिकारी, मीनबहादुर विष्ट, कर्णाद महर्षि, रमेश तुफान, महेश प्रसाईं, गगन विरही, कविताराम, विनय रावल, जीवन आचार्य, कृष्णभूषण बल, सनत रोग्मी र पवन आलोकजस्ता समकालीन साहित्यकारलाई विजयकै निवासमा भेटेको थिएँ।

विजयले आफूलाई अतिथि सत्कारको सांस्कारिकपन दिएका हुन्थे। त्यो परिवार नै संस्कारमय थियो। विजयलाई भेट्न आउनेहरूलाई आमा, भाउजू र बहिनीहरूले चिया, खाजा वा खाना खुवाएरमात्रै पठाउँथे।

हरेक दिन दर्जनौंको संख्यामा आउने आगन्तुकलाई त्यसरी निःस्वार्थ सेवा दिनु सामान्य कुरा थिएन। आज त्यो घरका आमाबुवा बितिसक्नुभएको छ। बहिनीहरूको विवाह भयो। भाइबुहारी विदेश छन्। दाजुभाउजू बस्छन् घरमा। वस्त्रालय छैन, किराना दुकान छ तर ‘हाम्रो पुस्तकालय’ छैन।

विजय काठमाडौं आएपछि यतै रमाए, यहीँ हराए। यसमा उनको रुचि, अवस्था र निजी समस्या पनि हुन सक्छ। यतिमात्र भन्नुछ— उनले पोखरा छाडेपछि पोखरेली साहित्यमात्र होइन नेपाली साहित्यलाई पनि आघात परेको छ। अहिलेको नयाँ पुस्ता विजय बजिमय र उनको घरले नेपाली साहित्यलाई पुर्‍याएको योगदानप्रति बेखबर छ।

हिजोआज उक्त घरबाट अरू बेखबर रहे पनि पारिवारिक सम्बन्धले कवि तीर्थ त्यहाँ पुगेका बेला सोच्दा हुन्— यो घर कुनै बेला नेपाली साहित्यको धरोहर थियो!

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal