eNepal

दलितलाइ मानिसको दर्जा दिन कहिले सिक्छ हाम्रो समाजले??

बाहिर झिमझिम पानी परिरहेको थियो । पसलको बरण्डामा ८-१० जना गाउँलेको समूह आगोमा झुम्मिएर चियाको चुस्की लगाउदै राजनीतिक गफ चुटिरहेका छन् । अलिपर भुइँमा एकजना ५० वर्षजतिका तर हेर्दा ७० का देखिने दाही फुलेर सेतै भएका व्यक्ति पनि छन् । शरीर धूलोले ढाकेको छ, झुत्रो फाटेको पुरानो कोटले जाडो छल्ने कोशिस गर्दैछ । ती व्यक्ति पनि गफ सुन्दै चिया पिउँदै छन् । तर फिक्का चियामा स्वाद आउँदैन । पसलेले उनलाई दिएको चिया भिन्नै छ । उनलाई दूध हालेको चिया दिन वर्जित छ । चिया पिइसकेपछि पसलेले चिया पिउने जति सबैका गिलास धुन थालिहाले । तर ती वृद्ध सधैं झै गिलास धोएर नजिकैको ढुङ्गामा घोप्ट्याउन थाले।

५० वर्ष आपनो जीवनमा नन्दे दमाइलाई यो व्यवहार सामान्य बनिसकेको छ । उनी भन्छन्- “गाउँमा बस्नु छ,हामीलाइ पनि गैरदलित सरहको व्यवहार गर भन्यो भने गैरदलितसँगको सम्बन्ध बिग्रिने भएकाले हामी जे भए पनि आजसम्म सहेर बसेका छौ ।” सञ्चार र अन्य सबै क्षेत्रमा आएको अद्भुत परिवर्तनले मानिसले कल्पना नगरेका कुराहरू पनि पूरा भइसकेका छन् । तर नन्दे दमाइजस्तालाई ‘डुम’ भन्दै कथित माथिल्ला जातिका मानिसहरूबाट आत्मसम्मानमा चोट लगाइने क्रम अहिले पनि जारी छ ।

डडेल्धुराका सार्वजनिक ठाउँमा दलित माथि छुवाछुतको भेदभाव गरिनु नयाँ कुरा होइन । नरपति चुनाराले गत वर्षसमैजी गाविस-१ बैलडाडामा आफ्नै गाउँको पसलमा चिया माग्दा डुम भनेर उल्टै गाली सहनुपर्‍यो । उनले यो भेदभावलाई सहन नसकी जिल्ला प्रशासन डडेल्धुरामा निवेदन दिए । प्रशासनले टालटुल गरी आइन्दा चिया दिने भनेर मिलायो । तर गैरदलितहरूले दलितहरूलाई चिया दिनुभन्दा हामी चिया नै बेच्दैनौ भनेपछि त्यहाँका ४-५ पसल नै बन्द भए ।

दलितलाई गाई भैसीको दूध दिनुहुँदैन, दियो भने गाइभैसी बिग्रिन्छन् भन्ने यहाँका गाँउमा अहिले पनि विश्वास कायम रहेको छ । रुपाल गाविस-४ का पसले दानबहादुर ठकुराठी भन्छन्- “दलितलाई सँगै बसालेर चिया दियो भने गाउँका पसलमा कसैले पनि चिया नपिइदिने भएपछि घाटा लाग्छ ।” दूध हालेको चिया दियो भने गाइभैसी बिग्रिन्छ भनेर किसानले दूध ल्याउने छोडिदिने गरेकाले आफूहरूले बाध्य भई दलितलाइ दुध नदिने गरेको उनी बताउँछन् ।

यसरी नै, गैरदलित महिलासँग विवाह गर्छुभनेकै कारण गैरदलितहरूले आलिताल गाविस-३ का रामबहादुर सार्कीलाइ अपमान गर्दै यातना र मोसो दलेको वर्षदन पनि बितेको छैन । त्यसै गरी गत वर्षमात्रै कोटेली गाविसको सुनकोटका १ सय २० परिवार दलितको मूललाइनको पाइप गैरदलितहरूले काटिदिएका कारण लामो समयसम्म यहाँका दलितहरूले उल्टै गैरदलितको धम्की र दुर्व्यवहार सहनुपरेको थियो ।

जोगबुडा गाविस-४ सादनीस्थित चुनारा जातिका चार परिवारका लागि त्यहाँका गाउँलेले अलग्गै धारा दिएको छ । त्यो उनिहरूलाई प्राथमिकता दिएर होइन, सँगै मिलेर पानी खान गैर दलितहरूले नचाहेका कारण यसो भएको बताउँछन् स्थानीय समाजसेवी मान सिह धानुक ।

यहाँका मन्दिर र धारापँधेरा र सार्वजनिक ठाँउमा दलितलाई अपमान गरेर छोडो हाल्ने चलन कायमै रहेको स्विकार्छन् नेकपा एमाले जिल्ला कमिटीका सचिव पठान सिंह बोहरा । उनी भन्छन्- “गाउँमा जताततै यो भेदभाव कायमै छ । यसको वास्तविक अन्त्यका लागि सामाजिक चेतनामा अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन र नीति निर्णय गर्ने तहमा दलितको पहुँच हुन जरुरी भएको छ ।” यसैगरी डडेल्धुराको दलित आन्दोलनको नेतृत्व गरिरहेकी दलित नेतृ निरा जैरु गाउँमा जाँदा स्वयं आफैले पनि यो व्यबहार खेप्नु परेको अनुभव सुनाउँछिन् । कैयौ पटक गाउँ जाँदा दलित भएकै नाताले बास पाउन समेत मुस्किल भएको बताउँछिन् ।

जोगबुढा गाविसकी पार्वती दमाईलाई कामधन्दा सकी विद्यालय जान सधैं हतार हुन्छ । विद्यालय जान उनलाई निकै नै रमाइलो लाग्छ तर साथीहरूका व्यवहारले खिन्न बनाउँछ । ढोलेनी भन्दै उनीहरूले जिस्क्याउँदा अनि चर्को घाममा पनि पानी खान उनीहरूलाई पर्खनुपर्दा विद्यालय नै नआऊ कि झैं लाग्छ । डूमलाई छोइएला भन्दै तर्केर हिड्ने गैरदलित गाउँलेले आफ्ना बालबच्चालाई दलित बालबालिकासँग खेल्न रोक लगाएको उनी बताउँछिन् ।

डडेल्धुरामा मात्रै होइन सुदूर पश्चिमका गाउँ र कतिपय बजारमा पनि यो भेदभाव कायमै रहेको छ । यसले गर्दा दलितहरूको आर्थिक, सामाजिक स्तर अझै माथि आउन नसकेको तथ्यमा दलित अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरू एकमत छन् । अहिले पनि लुगा सिउने र भाडाकुँडा बनाएबापत दलित जातिलाई माथिल्लो जातिले चाहे अनुसार खलो दिने चलन हट्न सकेको छैन । जुन कामको तुलनामा न्युन हुन्छ । हलियाका रुपमा दलितलाई नै माथिल्लो जातिले प्रयोग गर्छन् । प्राय दलितलाई नै गैरदलितले हलिया राख्ने गरेका छन् । उनीहरूलाई काम गराउन पनि सजिलो हुने हुनाले यसो हुने गरेको २० वर्षेखि हलिया राख्दै गरेका डडेल्धुरा जिल्लाका एक जना जग्गा मालिक भन्छन् ।

अझ बिद्यमान कानुनमा जातिछुवाछुत गर्ने ब्यक्तिलाई १ वर्षकैद वा ३ हजार जरिवाना या दुवै सजाय हुन सक्ने भने पनि कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा छुवाछुत उन्मुलन हुन नसकेको विचार राख्छन् मुक्ति समाज डडेल्धुराका अध्यक्ष अनिल विक । जातीय हिसाबले डडेल्धुरामा मात्रै ०५८ सालको जनगणना अनुसार २२.१४ प्रतिशत जनसंख्या रहेकोमा करिब १३ प्रतिशत मात्रै दलित साक्षर छन् । यसमध्ये पनि उच्च शिक्षा अध्ययन गर्ने दलितको संख्या धेरै कम छ । विद्यमान गरीबी कारण शिक्षा क्षेत्रमा यो वर्गलाई पछाडि पारिएकाले पनि हजारौ वर्षेखि जकडिएर रहेको छुवाछुत प्रथाको उन्मुलन हुन नसकेको दलित नेताहरूको भनाइ छ । सरकार र विभिन्न सामाजिक संघसंस्थाले जातीय छुवाछुतको अन्त्यका लागि विभिन्न चेतनामूलक कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । तर पनि खास गरी डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुलालगायत समग्र सुदूरपश्चिमका सबै जिल्लाहरूमा यो भेदभाव कायमै छ ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal