प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले दोस्रो सातामा पनि सफलतापूर्वक कारोबार गरिरहको छ ।
सिनेमाले तेस्रो साताको यात्रा पनि तय गरिसकेको छ । दोस्रो सातासम्म लगातार हाउसफूल रहेको यो सिनेमा यति छिट्टै र सहजै हलबाट बाहिरिने संकेत देखिँदैन । पहिलो सातामा ६ करोडको कारोबार गरेको यो सिनेमाको दोस्रो साताको कारोबार पनि उत्साहजनक छ । स्पष्ट भन्ने हो भने सिनेमाले यतिबेला नाफाको कारोबार गरिरहेको छ ।
‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला,शिवहरि पौडेल, रमेश रन्जन झा, बसुन्धरा भुषाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।
‘शत्रु गते’ नाफामा गएको यहि प्रसंगमा आज हामीले वर्ष २०७४ मा नाफा कमाएका सिनेमाका बारेमा एक सामग्री तयार पारेका छौँ ।
छक्का पञ्जा २
असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ यो वर्षको सर्वाधिक व्यापार गर्ने सिनेमा हो । दीपाश्री निरौलाको दोस्रो निर्देशन रहेको यस सिनेमाले प्रदर्शनमा आएको ११ दिनमा १० करोड भन्दा माथिको कारोबार गरेको थियो ।
५१ दिन मनाएको ‘छक्का पञ्जा २’को पूरा कारोबार भने १४ करोडभन्दा माथि पुग्यो । सुरुवाति कारोबार देख्दा यसले आफ्नो प्रिक्वेलको रेकर्ड तोड्ने सम्भावना देखिएको थियो तर त्यसो भएन । गत वर्षको ‘छक्का पञ्जा’ले १७ करोडभन्दा माथिको कारोबार गरेको थियो । वैदेशिक रोजगारीको कथा समावेश भएको यस सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, आयुष्मान देशराज जोशी, सन्ध्या केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
प्रेम गीत २
रामशरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत २’ले निर्मातालाई आर्थिक नाफा गर्यो भने अभिनेता प्रदीप खड्कालाई करिअरमा फड्को मार्न सघायो । झण्डै दुई करोडको लगानीमा बनेको यो सिनेमाले ८ करोडभन्दा माथिको कारोबार गरेको थियो । यसै वर्षको साउन १३ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमामा प्रदीप खड्का, अश्लेषा ठकुरी, श्रद्धा प्रसाईँ, कविता रेग्मी, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका छ ।
ए मेरो हजुर २
अभिनेत्री झरना थापाको पहिलो निर्देशन रहेको सिनेमा ‘ए मेरो हजुर २’ पनि कारोबारमा सफल रह्यो । साम्राज्ञी राज्यक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाको लगानी एक करोड २५ लाख हो । यसै वर्षको भदौ १६ गतेदेखि प्रदर्शनमा आएकोसिनेमाले प्रदर्शनमा आएको पहिलो दिन नै ७८ लाख भन्दा माथिको कारोबार गरेको थियो । दोस्रो दिन सिनेमाको कारोबार बढेर १ करोड ६२ लाख पुगेको थियो । सिनेमाले पहिलो सातामा ५ करोड २ लाखभन्दा माथिको कारोबार गरेको थियो ।
पहिलो साताको कारोबारबाटै लगानी सुरक्षित गरेको यो सिनेमाको दोस्रो सातादेखिको कारोबार नाफाको कारोबार बन्यो । यसका अलावा विदेश प्रदर्शनबाट पनि निर्माताले नाफा कमाए ।
ऐश्वर्य
दीवाकर भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘ऐश्वर्य’पनि यो वर्ष नाफामा जाने सिनेमा हो । यो सिनेमाले मेकिङका हिसाबले पनि खुबै तारिफ बटुल्यो । तीन दिनमा दुई करोडको हाराहारीमा कारोबार गर्यो ।
१ करोड ५० लाखमा बनेको यो सिनेमाले नेपालबाटै लगानी उठाएको निर्माण पक्षको दावी रहेको छ । यसका अलावा सिनेमाको विदेश प्रदर्शनबाट उठेको सबै रकम नाफामा गयो । यस सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार,केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
म यस्तो गीत गाउँछु
यो सिनेमाले पहिलो साता पाँच करोडको कारोबार गरेको थियो । सिनेमाकोदोस्रो साताको कारोबार सबै नाफाको कारोबार बन्यो । पूजा शर्मा र सुदर्शन थापाको संयुक्त निर्माण रहेको यस सिनेमामा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ ।
सिनेमा निर्माण र प्रचार प्रसार सहित‘म यस्तो गाउँछु’को कुल लगानी १ करोड २५ लाख हो । सिनेमा नाफामा गएपछि अभिनेत्री तथा सिनेमाकी निर्मात्री पूजा शर्माले यसको सिक्वेलमा पनि पलसँगै जोडी बाँध्ने घोषणा गरिसकेकी छिन् ।
कान्छी
माघ ४ गतेदेखि प्रदर्शनमा आयो अभिनेत्री स्वेता खड्काको सिनेमा कान्छी । श्रीकृष्णको निधनपछि स्वेताले यसै सिनेमामार्फत अभिनय र निर्माणमा कमब्याक गरिन् उनलाई कमब्याक फाप्यो ।‘कान्छी’ले स्वेतालाई नाफामा पार्यो ।सिनेमाको प्रचार समेत गरेर लगानी दुई करोड पुगेको थियो जुन सिनेमाले सहजै उठायो ।
स्वेताले सिनेमाले गरेको आर्थिक कारोबार भन्दा पनि दर्शकको मायाका कारण आफू खुशी भएको बताएकी थिईन् । त्यसो त स्वेताले रिलिज अगावै सिनेमाको लगानी सुरक्षित गरिसेकी थिईन् । अझ प्रदर्शन भएपछि पनि सिनेमाको कारोबार राम्रो भयो जसले गर्दा उनलाई फेरि पनि सिनेमामा निरन्तरता दिने उर्जा दिएको छ ।
आकाश अधिकारी निर्देशन रहेको यो सिनेमामा स्वेता खड्का, दयाहाङ राई, विनोद न्यौपाने, आशान्त शर्मा, भूमिका श्रेष्ठ, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कान्छी मेकिङका हिसाबले पनि प्रशंसा बटुलेको सिनेमा हो ।
दुई रुपैयाँ
नाम ‘दुई रुपैयाँ’ भए पनि यो सिनेमाले करोडौँको कारोबार गर्यो । असिम साहको निर्देशन, निश्चल बस्नेत, अशिफ साह, मेनुका प्रधान, बुद्धि तामाङ, राजन ईशान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाले ४ करोड भन्दा माथिको कारोबार गरेको थियो । यो कारोबारले निर्माता नाफामा गए ।
यहि सिनेमाको सफलताका कारण ‘दुई रुपैयाँ’को टिमले सिनेमा ‘डामाडोल’को घोषणा गरिसकेको छ । यतिबेला यो सिनेमाको स्क्रिप्टमा काम भईरहेको छ । ‘दुई रुपैयाँ’लाई ब्ल्याक हर्ष र जी ट्वेन्टी वान पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
मिस्टर झोले
यसै वर्षको पुस २८ मा रिलिज भएको सिनेमा ‘मिस्टर झोले’ले पनि राम्रो कारोबार गर्यो । रामबाबु गुरुङको निर्देशन रहेको यो सिनेमाको लगानी साढे एक करोड हो । सिनेमाले ६ दिनमा दुई करोड ४८ लाखको कारोबार गरेको थियो । त्यसपछि पनि सिनेमाले हलमा स्थान पाएका कारण सिनेमा नाफामा गएको थियो ।
पहिलो साताको कारोबार पछि सिनेमाका निर्माता टेकेन खड्का र निर्देशक रामबाबु गुरुङले पत्रकार सम्मेलन गरेर सिनेमा नाफामा गएको आधिकारिक घोषणा गरेका थिए ।‘मिस्टर झोले’ दयाहाङ राई, वर्षा राउत, दिया पुन, विजय बराल बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
फाटेको जुत्ता
यो वर्ष नाफामा जाने अर्को सिनेमा हो ‘फाटेको जुत्ता’ । यही वर्षको कार्तिक १७ गतेदेखि प्रदर्शनमा आएको सिनेमा फाटेको जुत्ताले प्रदर्शनमा आएको चार दिनमै दुई करोडभन्दा माथिको कारोबार गरेको थियो ।
यो सिनेमामा सौगात मल्ल, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
मंगलम
अभिनेत्री शिल्पा पोखरेललाई निर्माण फाप्यो । उनको पहिलोनिर्माण रहेको सिनेमा ‘मंगलम’ यहि वर्षको फागुन २५ गते प्रदर्शनमा आयो । सिनेमालाई दर्शकले रुचाए । आफ्नो पहिलो निर्माण नै सफल भएपछि निर्मात्री तथा अभिनेत्री शिल्पा पोखरेलले सिनेमाका मुख्य अभिनेता पुष्प खड्कालाई गाडीसमेत उपहार दिने भएकी छिन् ।
यो सिनेमाको मेरुदण्ड भनेकै अभिनेता पुष्प खड्का हुन् । नवल नेपालको निर्देशन रहेको यो सिनेमा हेरिसकेपछि दर्शकले पनि पुष्पको अभिनयको खुबै तारिफ गरेका थिए ।
यसका अलावा यो वर्ष केही सिनेमाहरुले सोचेजस्तो कारोबार गर्न सकेनन् । अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘कृ’ले आक्रामक कारोबार गर्ने आशा राखिएको थियो । तर यो सिनेमाले मेकिङका हिसाबले तारिफ बटुल्यो ।
अनमोलले पनि पहिलेको तुलनामा खारिएर आएको भन्दै प्रशंसा पाए । तर सिनेमाले निर्मातालाई फाइदामा पारेन । ‘कृ’ले पहिलो सातामा ५ करोड भन्दा माथिको कारोकार गरेको थियो । तर सिनेमाले दोस्रो सातामा राम्रो कारोबार गरेन ।साढे दुई करोडको लगानीमा बनेको यो सिनेमाबाट निर्माताले मुनाफा पाएनन् ।
यो वर्ष गीतका कारण चर्चामा आएको सिनेमा ‘पर्व’ले पनि सोचेजस्तो कारोबार गरेन । यो सिनेमा कारोबारमा औषत रह्यो । यो सिनेमामा नम्रता श्रेष्ठ र कोशिष क्षेत्रीको जोडी प्रस्तुत भएको थियो ।
त्यस्तै यो वर्षको शुरुवातमा प्रदर्शनमा आएका सिनेमा घामपानी र राधेले पनि मुनाफा कमाउन सकेनन् । अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको सिनेमा ‘डायरी’मा रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएका कारण कारोबार राम्रो हुने आशा थियो । तर त्यो भएन ।
त्यस्तै रेखा थापा र आर्यन सिग्देल ८ वर्षपछि एउटै पर्दामा देखिएको सिनेमा रुद्रप्रियाले आशा गरे अनुसार कमाइ गर्न सकेन । त्यस्तैगरी खगेन्द्र लामिछानेको कथा र दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा ‘धनपति’ पनि आशा गरिएको तर राम्रो व्यापार र दर्शकको मन जित्न नसकेको सिनेमा हो ।
साभार:उज्यालो र गफगाफ डट कम
–