eNepal

हिजो हजार रुपयाँ देउ न परिक्षाको फर्म भर्न पर्यो भन्दा मुख बङ्गाउनेहरु आज आईफोन ढुकेर बसेका छन्

ए काकी हेर्नु न परिक्षा दिन पर्यो भनेको कतै नाम पो निस्की हाल्छ कि। नाम निस्की दिए त यसो आयश्रोतको बाटो नि हुन्थ्यो। घरमा पनि कति पैसा माग्नु लाजै लागि सक्यो। पढाईमा त अब्बलनै थिए। घरकाले नि तेरा सर्टीफिकेट बोरु माला भिरेर हिड। न त जागीरनै खाईस् न त घर खर्चमै सहयोग गरिस् भनेर हैरान पारी सके। पाँच चोटी त आमासँग पैसा माग्दै नदिएको होईन परिक्षा। साला भनसुन र टेबुलमुनीको मोटो रकमको हालीमुहाली चलेको मेरो देशमा म जस्ता पढेकाले कहाँ चान्स पाउँछन् र। जसोतसो उत्रीणा हुँदै गयो अन्तिममा मौखीकमा गएर फालिन्छ। देशले म जस्ता होनाहार युवालाई फेरी देश बनाउने अधिकारबाट बन्चित बनायो भन्यो चुप बस्यो।

खै काकी घरकासँग माग्न मुखै लागेन। अब एकचोटी अन्तिम पटक मन्त्र हान्न पर्यो , लागि पो हाल्छ कि भन्दै आएँ है म त गोडा चारएक हजार माग्न। काकी भन्न लिगिन् बाबु दिनु त हुन्थ्यो नि। आखिरी तँपनि हाम्रै छोरो सरह त होस् नि। हिजै मात्र ज्यामिरे माईतीबाट भदा आएको थियो दुबईको भिषा लाग्यो रे भन्दै। यसो बाटोखर्च अनि सपिङको लागी पैसा भन्यो। अलिकती थियो नभएको होईन। मैले त दिई पठायो त केटा।

ए हो र काकी मैले त तपाई माथि ठुलै आश राखेर आएको थिए। ठिकै छ मेरो भाग्यनै त्यस्तै रहेछ। देशको जागिर खान जुरेको रहेन रहेछ अब। बोरु मुग्लाननै पस्न पर्छ होला।

कस्तो दिन आउन लागे पढ्छु पैसा देउन भन्यो भने मुन्टो बटार्छन। बिदेश जान पर्यो ब्याजमा पैसो देउ न भन्यो भने नाकको फुली समेत निकालेर दिन्छन्। ब्याज र डबल खान बानी परेकाले भबिस्य बनाउँछु आफ्नै देशमा केही ईलम गर्छु भन्दा मुख बङ्गाउदा रहेछन् भनेर हल्का घुमाएर ब्यङगात्मक शैलीमा काकीको मुखमा बुजो हाल्दिए र त्यहाँबाट बिदा भएर घर तिर लागे।

घरमा पनि जेहेन्दार बेरोजगारी आयो भनेर ब्यङग्य गर्थे। अरुको उधाहरण र उपमा दिन्थे। फलानो दुबई गएर कत्रो प्रगती गरी सक्यो। दुई ठाउँ घडेर जोडी सक्यो। ढलानवाला घर बनाउन तयार गर्दैछन्। यहि दशैमा बिदा मनाउन आउँदैछ रे।मिल्यो भने बिहे गरेर बुहारीलाई नि उतै लैजान्छु भन्दैछ। त्यो बजारको हर्केको छोरो अस्ती मात्र गएको होईन अस्ट्रेलीया। सानो फुटानी छैन त यहाँ हर्केका जोई पोईको। हैन के रहेछ त्यहाँ त पैसो फल्छ कि क्या हो। यत्ति लाख र उत्ति लाख पठायो भनेर धमास दिन्छन् त। हुन त ठुलै घरानाका हुन् त्यो डलरको किन पो आश राख्थे र । उ बेला लाहुर ताकाको पैसा के चाँही पो गरे होलान् र छोरोको आश राख्नलाई। आमाको त्यो कुरा सुने पछि झनक्क रिस् उठ्यो।

हैट गफको पछि नदौडिनु न हो आमा पनि। एकहप्ता मात्रै भयो हौ हर्के बाले छोरोलाई पैसा हाल्देको।मेरा नि साथीभाई छन् नि हौ। उता अस्ट्रेलीयामा काम नपाएको महिनौ दिन भयो रे। नेपालबाट लिएर गएको सबै पैसा भ्याएर उल्टै साथीसँग उधारो चलाको थियो रे। कलेजको फी तिर्ने बेला भयो पैसा फेरी माग्न लाग्या छ रे। कहाँ सबैले पैसा कमाउँछन् हो बिदेश भन्दैमा।

अब म पनि थाके। बोरू लाग्न पर्छ होला सबै अस्ट्रेलीया होमीएका छन्। मै पनि त्यतै सुईकुच्चा ठोक्नु पर्छ होला। आमा भन्न लागिन मैले त पहिलै भनेको हुँनी नेपालको जागीरले केही तातोभुत्लो हुँदैन।जा बोरु गए केही प्रगती गर्थिस् कि भनेर।

जाने टुङ्गो भयो। कागज पत्र बनाउन खासै समय लागेन। लाग्यो त केबल पैसो जोहो गर्न। बिदेश जाने भईस् भने हेरौला भन्नेका गए यसो अलिकती सहयोग गरि हाल्छन् कि भन्दै। तर कसैले पत्ताएनन्। सबैले भर्खर खेत किने, भर्खर मात्र ट्याक्टर किने, भर्खर भदालाई पैसा हाल्दिए। बैंकमा निकाल्न नमिल्ने गरि राखेको छु भनेर मिठा बहाना गरे टारे। अन्त्यमा आफ्नै जेथोमा परेको जग्गा बेचेर आमा र बाका भएका गरगहना राखेर अस्ट्रेलीया छिरे।

दिन भनेको सबैको आउँछ भन्या जस्तो काम त आएको हप्तादिनमै एक जना दाईको माध्यमबाट किचेन हैण्ड पाए। क्यासमा घण्टाको सोर्ह डलर दिन्थ्यो। न्वारनदेखीको बल लगाएर काम गर्देको साहु मख्ख पर्यो। साहुले पुरानाको सिफ्ट घटाएर मलाई दिन थाल्यो। एकजना दिदीले भन्दीएर बेलुकाको क्लिनीङ पनि पाई हाले। दुई दिनको कलेज मिलाएर मस्तसँग काम हान्न थाले। घरमा खर्च बिस्तारै पठाउन शुरु गरे। सबै कुरो एकनासले चलि रहेको थियो।

केही महिना पछि अपरिचीत नेपालको नम्बरबाट फोन आयो। उठाँउ कि नउठाउँ भयो।नेपालबाट फोन आमा देखी बाहेकका फोन उठायो भने शुरुमै कस्तो छ कमाई। कति कमाउछौ महिनाको भनेर सोध्छन्। त्यो काठमाण्डौको एयरपोर्टबाट ठुलो हवाईजहाज चडेर उडे पछि पैसो मात्र कमाउन गयो भन्ने सोज्छन्। यता पैसोनै फल्ने जस्तो फलानो नेपाल आउँदै रहेछ भन्ने थाहा पाए भने ओई फलानो आउँदै रहेछ फलानो कुरो पठान। यस्तै कुरा मनमा खेलाउँदै धर्मर हुँदै फोन उठाएँ॥ फोन तिनै काकीको रहेछ। हेर्न हौ केटा उवेला गोडा चारै हजारनि दिन सकिएन सार्है प्रश्चाताप लागेको छ।

कमाई त राम्रै हुन्छ रे अस्ट्रेलीयामा। कमाएको होलास्। त्यहाँको आईफोन खुबै राम्रो हुन्छ भन्छन्। यसो मिल्छ भने पठाई देन एउटा गतिलो आईफोन। मनमनै सोचे जाबो चार हजार माग्दा नानाभाती कुरा बुनेर पत्ताईनन् अहिले तिमीलाई आईफोन चाहीयो। हाँस्दै काकी यो बर्षको आईफोन त अब पुरानो भई सक्यो अब अर्को साल आईफोन एघार कि बार्ह निस्कन्छ। त्यो चाँही पठाई दिउँला है फुपु भनेर फोन राख्दिए र बिगतका दुखहरुलाई पुनः एकचोटी सम्झिए। कति खेर निदाएछु पत्तै पाईन। एक्कै चोटी फोनको अलार्मले झस्काई दियो। हतार हतार काम जान तयार भए अनि स्टेसन तर्फ पाईला अगाडी बढाए।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349