eNepal

नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि, गर्वले शिर उच्च भएको दिन

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले एक दिवसीय स्ट्याटस पाउने भएको छ । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटअन्तर्गतको प्लेअफ खेलमा पपुवा न्यु गिनी (पीएनजी) माथि ६ विकेटको जित र नेदरल्यान्डले हङकङमाथि ४४ रनको जित निकालेसँगै नेपालले यस्तो ऐतिहासिक सफलता हात पारेको हो ।

जिम्बावेमा जारी छनोट खेल सकिएपछि औपचारिक रूपमा नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने देशमा समावेश हुनेछ । त्यसपछि नेपालले सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाउनेछ ।

यसअघि नेपालले टी–२० क्रिकेटमा मान्यता पाएको थियो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप टी–२० खेलेको नेपालको सो अन्तर्राष्ट्रिय टी–२० मान्यता सन् २०१५ मा गुमाएको थियो । सन् १९९६ मा नेपालले आईसीसीको एसोसिएट स्ट्याटस पाएको थियो ।

नेपाली टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले जिम्बावे प्रस्थान गर्नुअघि नै नेपाली टिमको लक्ष्य शीर्षभित्र पर्दै एक दिवसीय मान्यता लिने रहेको बताएका थिए । तर, शीर्ष ६ भित्र पर्न नसके पनि नेपाल प्लेअफमा पीएनजी र हङकङलाई पछि पार्दै एक दिवसीय मान्यताको हकदार बनेको हो । यूएई र स्कटल्यान्ड शीर्ष ६ भित्र परेसँगै नेपाल, हङकङ र पपुवा न्यु गिनीमध्ये एक टिमले एक दिवसीय मान्यता पाउने थियो । जसमा नेपाल ‘लक्की’ साबित भयो ।

ऐतिहासिक उपलब्धि हात पारेसँगै एकदिवसीय मान्यता पाउने राष्ट्रले आईसीसीको वरीयतामा रहनुका साथै ठूला प्रतियोगिता खेल्ने मौका पाउनेछ । यस्तै, आईसीसीबाट आउने आर्थिक सहायतामा वृद्धि हुनेछ । विश्वकप छनोटको समूह चरणमा भने नेपालको प्रदर्शन फितलो बनेको थियो । समूह चरणका सुरुवाती तीन खेल गुमाएको नेपालले हङकङमाथि ५ विकेटको जित निकालेसँगै नेपालको झिनो आशा पलाएको थियो ।

जिम्बावे वल्र्ड हरारियन्स स्पोर्ट्स क्लबमा बिहीबार भएको प्लेअफ खेलमा पीएनजीलाई ६ विकेटले पराजित ग¥यो । अर्काे खेलमा हङकङ नेदरल्यान्डसँग ४४ रनले पराजित भयो । पीएनजीले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्र ५० रनमा नटआउट रहे । २३औं ओभरको अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरेर नेपाललाई जित मात्र दिलाएनन्, आफ्नो खातामा पनि ५० रन पूरा गरे । दीपेन्द्रलाई आरिफ शेखले २६ रन बनाएर साथ दिए ।

कप्तान पारस खड्काले २० रन बनाए । ओपनर ब्याट्सम्यानले पीएनजीविरुद्धको खेलमा पनि राम्रो सुरुवात गर्न सकेन । ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अनिलकुमार शाह ९ रनमा पेभिलियन फर्किए । रोहितकुमार पौडेल ३ रनमा नटआउट रहे । पीएनजीका नोरमान भुनवाले २ तथा अली नाओ र जोन रेभाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले २७ दशमलव २ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पीएनजीका कुनै पनि खेलाडीले नेपालको कसिलो बलिङसामु राम्रो खेल्न सकेनन् । कार्लस अमिनी १९ र जासन किलाले १५ रन जोडे । किप्लिन डोरिगा र सेसी बाउले समान ११ तथा कप्तान असद भाला र चड सोपरले समान १० रन बनाए ।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४ दशमलव २ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए । सुपर सिक्सका शीर्ष दुई टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउनेछन् । प्लेअफमा पुगेका चारमध्ये दुई टोली शीर्ष डिभिजनमा यथावत रहनेछ । पुछारका दुई टोली भने रेलिगेसन हुँदै डिभिजन–२ मा झर्नेछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349